बागलुङ, १८ पुस – पाँचौ बागलुङ महोत्सवको अवसरमा आइतबार राती डिजे नृत्यसहितको अंग्रेजी नयाँ बर्ष मनाउने कार्यक्रम थियो । त्यो कार्यक्रमका लागि आयोजक बागलुङ उद्योग बाणिज्य संघले २ सय रुपैयाँको टिकट काट्ने व्यवस्था मिलाएको थियो । तर उद्योग बाणिज्य संघका पदाधिकारी र उनीहरुको परिवार, आफन्तजनलाई दिएको पासले टिकट काटेर जानेभन्दा धेरै निशुल्क जानेहरु थिए । टिकट कै बिषयलाई लिएर झगडा र कुटपिटका घटना पनि भएका छन् । शुक्रबारदेखि शुरु भएको पाँचौ बागलुङ महोत्सवमा दैनिक ५ देखि ८ हजार दर्शक पुग्नु नौलो कुरा होइन । दैनिक प्रवेशका लागि ६० रुपैयाँको टिकट काट्ने व्यवस्था भएपनि भित्र जाने अधिकांस भने पास लिएर जान्छन् । त्यहाँ पनि संघका पदाधिकारीका आफन्त, बजारका प्रतिष्ठीत सबै व्यवसायीलाई पास जारी गरिएको छ । तर सर्वसाधारण जनताहरु मात्र टिकट काटेर भित्र पस्छन् ।
धवलागिरी बहुमुखी क्याम्पसको प्राङगडमा गरिएकोले त्यहाँ अध्ययनरत विद्यार्थीलाई पनि पासको व्यवस्था मिलाइएको छ । झण्डै २ हजार विद्यार्थी अध्ययन गर्ने यो क्याम्पसका नियमित ७ सय मात्र विद्यार्थी छन् । तर महोत्सव कै लागि भनेर उनीहरुको पास बनाइएको छ । पास बनाएका नियमित विद्यार्थी भन्दा विभिन्न बाहनामा क्याम्पस नजिक भएका, विद्यार्थी संगठनको नजिक भएका र उद्योग बाणिज्य संघका पदाधिकारी नजिक भएकहरुलाई पास दिएको भेटिएको हो । उता संघका अध्यक्ष जयराम भारीले यो पटक पास कसैलाई नदिएको दाबी गरेका छन् । तर अधिकांस मानिस पास बोकेर भित्र–बाहिर गरिरहेका छन् । विद्यार्थीलाई ७ सयको हाराहारीमा मात्र पास दिएको भारीले बताएपछि स्ववियु पदाधिकारी कै अनुसार १ हजार ७ सय विद्यार्थीको पास बनाएको बताउँछन् । उता १ सय ८२ स्टलका लागि प्रति स्टल ४ देखि ८ वटासम्म पास बनेका छन् । बजारका व्यवसायीले उद्योग बाणिज्य संघका नविकरण गर्दा तिरेको रकमबाट पास बनाएका छन् । त्यस्तै खेलाडी, रमाईलो मेलाका कामदार र कलाकारको नाउबाट पनि सयौंले पासकै भरमा भित्र बाहिर गरिरहेको भेटिन्छ । संघले भने टिकट काट्ने जिम्मा नेपाल पत्रकार महासंघलाई दिएको छ । महासंघले निर्माण गर्न लागेको भवनका लागि प्रतिटिकट ३ रुपैयाँ दिने भन्दै टिकटको जिम्मा दिइएको हो । तर उक्त टिकटका लागि बजारका व्यपारीहरु भने कोही गएका छैनन् । बागलुङ नगरपालिका जस्तो गरिमामय संस्थामा मात्र संघले ६५ वटा पास पठाएको थियो । उक्त पासले पुगेन भन्दै नगरपालिकाका कार्यालय सहयोगी तहका कर्मचारीहरुले दिनहुँ संघका पदाधिकारीलाई पास थपिदिन दबाव दिइरहेका छन् ।
जिल्लाका सबै सरकारी कार्यालय, सुरक्षा निकाय, होटल व्यवसायी समेतलाई आफ्नो र पाहुनाहरुका लागि पासको व्यवस्था गरिएपछि पत्रकार महासंघलाई सहयोग पुग्ने गरी टिकट बिक्री कसरी होला भनेर प्रश्न उब्जेको छ । व्यवसायीलाई २ सय रुपैयाँ लिएर पासको व्यवस्था मिलाइएको भएपनि दैनिक टिकट काट्न नआएपछि उनीहरुले तिरेको रकम संघमा मात्र गएको छ । ‘उनीहरुका गर्लफ्रेण्ड, भाई भतिजा, भाञ्जाभाञ्जी समेतलाई पास छ अनि कसले टिकट काटेर हेर्छ’ एक बैंकका कर्मचारीले भने, ‘महोत्सवका लागि चन्दा र सहयोग जुटाएको पैसाले मदिरा र भोजमा सकिएको छ ।’ अधिकांस पदाधिकारीहरु दिनहुँ भोज र रक्सीमा रमाउने गरेकोले महोत्सवबाट फाइदा नहुने उनको टिप्पणी छ । फाइदा नदेखिएपछि सामाजिक काम गर्नु नपर्ने उनले टिप्पणी गरे । महोत्सवमा कला, संस्कृतिको संरक्षण गर्ने भनिएपनि सिखारु कलाकार ल्याएर गीत गाउन लगाउने, स्थापितलाई कम डाक्ने तथा गाउँगाउँबाट आएका मौलिक संस्कृतिलाई मंच नदिएको गुनासो पनि बढेको छ । घाँटु जस्तो संस्कृतिलाई २० मिनेट समय दिएको भन्दै आलोचना भएको छ ।
जबकी घाँटु नृत्य सामाजिक संस्कार अनुसार ३ दिनसम्म नाचिन्छ । नृत्य प्रदर्शनका लागि आएका कलाकारले कम्तिमा पनि १ घण्टा समय नभएसम्म घाँटुको वास्तविकता झल्काउन नसकिने गुनासो गरे । यस अघिका मेला र महोत्सवमा ल्याइएका सिस्नो खोस्ने मेला लगायतका संस्कृतिको प्रदर्शनीमा पनि समय अभाव भएको र प्रकृया पु¥याउन नपाइने भन्दै गुनासो बढेको थियो । यो पटक उक्त नृत्य सहभागि नै भएन । बढी खर्च हुने, धेरै मानिस सहभागि गर्नुपर्ने र लामो समयसम्म प्रदर्शनी नगरे प्रकृया पनि नपुग्ने भएपछि त्यस्ता लोक संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको गुनासो बढेको छ । उद्योग बाणिज्य संघले भने कला र संस्कृतिलाई जगेर्ना गर्न कै लागि महोत्सव गरेको दाबी गरेको छ । निर्वतमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले सबै कला, भाषाभाषी, संस्कृति र व्यवसायको प्रवद्र्धनका लागि महोत्सव गरिएको बताए । केही कमजोरी भएका भएपनि अझै समावेश गरेर महोत्सवलाई सफल बनाउने योजना बनाएको उनले दावी गरे ।
Previous Articleभत्केको भवन कहिले बन्छ ?
Next Article १८ माघ २०७४, धौलागिरी स्टार साप्ताहिक