स्थानिय तहको चुनावमा जिल्लाको जैमिनी नगरपालिका वडा नं. २ मा राप्रपाका लक्ष्मीप्रसाद सापकोटालाई २ सय ६८ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका लक्ष्मीप्रसाद सापकोटा निकै सक्रिय वडाअध्यक्षको रुपमा चिनिन्छन् । कांग्रेसको तर्फवाट वडाअध्यक्ष बनेका उनी क्रियाशिल रुपमा आफ्नो वडाको बिकास लागि लागेको स्थानीय बताउँछन् । सापकोटासँग सहकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
–मलाई वडाअध्यक्ष भएर काम गर्न कुनै समस्या छैन् किनकी मैले लामो समयदेखी राजनीति गर्दै आएँ । राजनीति गर्न कै लागि खाईपाई आएको शिक्षक पेशा छोडेको मान्छे हुँ । खासमा असहजता के छभने नेपाल सरकारले हालसम्म पनि कर्मचारीको ब्यवस्थापन गर्न सकेको छैन् । अहिले पनि एकजना सचिवले दुई तिन वटा वडामा काम गर्दै आएका छन् । यसले गर्दा काममा असहजता पैदा भएको छ । सबै प्रशासनिक काम आँफैले गर्नु पर्दा थोरै असहज हुँदो रहेछ त्यती नै हो । यदि सचिव नियमित आउने हो भने काम गर्न असहज छैन् । मज्जाले जनताका काम गर्न सकिन्छ ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–हामीले सडकको स्तरोन्नतीलाई प्राथमिकतामा राखेर काम गरेका छौं । हाम्रो वडामा भएका कच्ची सडक मोटर चल्न योग्य छैनन् । त्यसलाई सुधार गर्न लागिपरेको छु । यहाँका सबै दल जनसमुदायलाई राखेर सल्लाह गरेर यो काम अघि ल्याएर आएका हौं । अर्को कुरा तपाई देख्न पनि सक्नुहुन्छ । हामीले वडाबासीलाई उत्पादनमुखी बनाउन ‘एक घर एक मौरी घार’ कार्यक्रम लागु गरेर वडाका सबै घरहरुमा मौरीको घार बितरण गरेका छौं । जंगल क्षेत्र र खेतीयोग्य जमिनको नजिक भएकाले मह उत्पादनमा आत्मनिर्भर बनाउनका लागि यसो गरिएको हो । काम त धेरै भएका छन् र हुँदै पनि छन् तर अहिले देखीने काम भनेका यिनै हुन् ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–यो एकदमै गलत कुरा हो । सचिव दुई तीन वटा वडा हेर्नु पर्ने भएकाले कार्यालयमा नियमित नहोलान् अलग कुरा हो तर हामीले कार्यालय बन्द हुन दिएका छैनौं । नियमित कार्यालय खोलेर जनताका काम गरेका छौं । सचिव नभएपनि कृषि, पशुसेवा लगायतका बिषयगत कार्यालयका कर्मचारीहरु हाम्रो कार्यालयमा हुन्छन् । हामीले बिदाको दिन नभनी जनताको काम गरेका छौं । पहिले–पहिलेको जस्तो समस्या छैन् । अर्को कुरा नागरिकता, पासपोर्ट लगायतका कामका लागि जिल्ला सदरमुकाम जानै पर्ने भएकाले सदरमुकाममा सम्पर्क कार्यालय राखेर समेत सेवा दिईरहेका छौं ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के के गर्नु भयो त ?
–खासमा यो बर्ष हामीले सडकको स्तरोन्नती, कृषिमा अनुदान तथा तालिमको ब्यबस्था, वडामा रहेका बिद्युतका पोलहरु फेर्नको लागि योजना लगायतका कार्यक्रमहरु नगरपरिषदमा लिएर गयौं । वडामा सडक गतिलो नहुँदा भएको सास्ती हटाउन, काठका पोल फेर्न, आधुनिक तरिकाले तरकारी लगायत कृषिजन्य बस्तुहरुको उत्पादन गर्न हामीले बनाएको योजनामा नगरपालिकाले बिनियोजन गरेको बजेटको आधारमा काम भैरहेका छन् ।
तपाईको वडाका सडक कच्ची छन्, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–पहिलो कुरा त हाम्रो वडामा भएका सडकहरु कच्ची मात्रै हैन मोटरेवल नै छैनन् । यसलाई सुधार गर्न लागिरहेका छौं । सडकलाई सबै पक्की बनाउन हामीले मात्रै गरेर हुँदैन नगरपालिका र प्रदेशसभाबाट समेत नेपाल सरकारले योजना पार्न जरुरी छ । त्यसका लागि हामी पहल थाल्छौं । कच्ची सडकलाई ग्राभेल गरेर बाह्रै महिना नगरबस चल्न सक्ने गरी बाटोको स्तरोन्नती गर्ने नगरपालिकाको योजना छ । सोहीअनुसार वडामा हामीले काम गछौं । पक्कीको लागि सरकारको योजना हेरेर काम गछौं भने सडकलाई चल्न सक्ने बनाउनका लागि काम सुरु भैसकेको छ ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–पहिलो कुरा त वडालाई रिङरोड बनाएर सहज रुपमा वडाबासी नगरपालिका जान सक्ने वातावरणको सिर्जना गर्छौं । शिक्षामा सुधार गर्न आवस्यक छ । नियमित बिद्यालय नजाने बालबालिकाहरुको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने योजना छ । स्वास्थ्यमा सरकारले उपलव्ध गराएको सुबिधा सर्वसुलभ बनाउन निगरानी गछौं । कृषिमा लगानी बढाएर उत्पादन बढाउने खालका कार्यक्रम ल्याउने गरी योजना बनाएका छौं । वडामा भएको पानीको सदुपयोग गरेर बिजुली निकालेर आत्मनिर्भर हुने योजना पनि छ ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–हाम्रो वडामा गर्नै पर्ने धेरै कामहरु छन् । जनतासँग मिलेर हामीले काम गर्ने हो । हामीले हाम्रा लागि आँफै गर्नुपर्छ । यसका लागि सबै राजनीतिक दल वडाबासीलाई सहयोग गर्न आग्रह गर्दछु । एक्लैले केही गर्न सकिन्न । सबै मिले आँटेका काम बन्छन् । अन्तमा तपाईं लगायत तपाईको पत्रिकालाई यो अवसरका लागि धन्यवाद ।