बागलुङ, १६ पुस – अंग्रेजी नयाँ वर्ष २०१७ आइतबार सकिंदैछ । सोमबारदेखि सन् २०१८ सुरु हुन्छ । नयाँ वर्षको स्वागत गर्दा पुरानो वर्षको पनि सम्झना गरिन्छ । सन् २०१७ मा विश्वका अरु घटनाजस्तै देशभित्रका केही घटना पनि सम्झनलायक छन् ।
चुनाव सबैभन्दा ठूलो उपलब्धि
राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा अङग्रेजी वर्ष २०१७ नेपाल र नेपालीका लागि विभिन्न कारणले गर्दा विशेष रह्यो । नयाँ संविधानले व्यबस्था गरे अनुसार नेपालमा तीन तहको चुनाव हुनु यो वर्षको सबैभन्दा ठूलो उपलब्धि हो ।
अंग्रेजी वर्षको फेबु्रअरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा ऐतिहासिक स्थानीय तह चुनावको मिछि घोषणा गर्नुभयो । संविधान घोषणादेखि नै असन्तुष्टी जनाउँदै आएका मधेसी दलले चुनाव बहिष्कार गर्ने घोषणा गरे । उनीहरुको बहिष्कारका बाबजुद पहिलो चरणमा स्थानीय तह चुनाव वैशाख ३१ गते सम्पन्न भयो ।
पहिलो चरण चुनाव सकिएपछि ०७४ जेठ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । नेपाली कांग्रेससँग सरकारको आलोपालो नेतृत्व गर्ने सहमति कार्यान्वयनको लागि उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
०७४ जेठ २३ गते व्यवस्थापिका–संसदको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई नेपालको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित गर्योे । उहाँ चौथो पटक नेपालको प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री बन्ने दौडमा देउवा एक्ला उम्मेदवार हुनुहुन्थ्यो । देउवाको पक्षमा ३ सय ८८ सांसदले मतदान गरेका थिए ।
देउवा नेतृत्वको सरकारले जेठ ३१ को लागि तोकेको दोस्रो चरण स्थानीय चुनावमा मधेशी दललाई पनि सहभागी गराउने भन्दै असार १४ को लागि नयाँ मिति घोषणा गर्यो । यो चुनावमा मधेश केन्द्रित दल संघीय समाजवादी पार्टीले भाग लियो । राजपा नेपालले भने यो चरणको चुनाव पनि बहिष्कार नै गर्यो । दोस्रो चरणमा सरकारले २ नम्बर प्रदेशमा स्थानीय तह चुनाव गरेन । २ नम्बर प्रदेशमा असोज २ का लागि तेस्रो चरण चुनावको मिति तोकियो ।
यो चुनावमा भने राजपा नेपालले पनि सहभागी हुने निर्णय गर्यो । शान्तिपूर्वक रुपमा तीन चरणमा नेपालमा ऐतिहासिक स्थानीय तहको चुनाव सम्पन्न भयो । ०७४ साल माघभित्र नेपालमा तीन चरणका चुनावमार्फत नेपाललाई संघीय संरचनाको सरकारले चलाउने गरी संवैधानिक व्यबस्था रहेको थियो । सोही व्यबस्था अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई चरणमा गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव एकैपटक सम्पन्न गर्यो । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा चुनावबाट नेकपा एमाले देशको ठूलो दलको रुपमा उदाएको छ ।
चुनावको समयमा दुई मुख्य कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले गरेको चुनावी तालमेलले पनि नेपालमा राम्रै चर्चा पायो । दुई कम्युनिष्ट पार्टी एकता गर्ने निर्णयसहित चुनावमागएपछि यसले नेपालको राजनीतिक वृत्तमा हलचल नै मच्चायो । चुनाव लगत्तै सन् २०१७ को अन्त्यतिर एमाले र माओवादीले मिलेर सरकार चलाउने चर्चा भएपनि यसले मूर्त रुप पाउन अझै केही हप्ता लाग्ने देखिन्छ ।
निर्वाचन क्षेत्र परिवर्तन गरेर आफ्नो गृहजिल्ला चितवनबाट पहिलोपटक प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू गृहजिल्लाको उम्मेदवार भैरहँदा जति क्रियाशील हुनुभएको थियो, चुनावी प्रचारका लागि उहाँका पुत्र प्रकाश दाहाल त्योभन्दा धेरै क्रियाशील रुपमा लाग्नुभएको थियो । चितवनबाट चुनावी कार्यक्रमको तयारीका लागि काठमाडौं आएका प्रकाश दाहालको ०७४ मंसिर ३ गते हृदयघातका कारण निधनभयो । प्रकाशको निधनले सबैलाई भावबिह्वल बनायो ।
महाअभियोग र कारवाही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कार्वाहीको बिषय होस् वा महालेखा परीक्षकका प्रमुख चुडामणी शर्मा र नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले गरेका अनियमितताका बिषय हुन, यी विषयले पनि नेपालमा वर्ष २०१७ भरी नै चर्चा पाइरहे ।
नेकपा एमालेसँग सरकारको सहकार्य तोडेर आफ्नो नेतृत्वमा सरकार बनाएको माओवादी कांग्रेसको संयुक्त सरकारले प्रधानन्याधीशमाथि महाअभियोगको प्रस्ताव संसदमा लगेर होस् वा प्रहरी प्रमुख नियुक्तिको विवादमा होस्, यी घटनाले यो वर्षभरी नै चर्चा पाइरहे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई एमाले, माओवादीका सांसदले संसदमा दर्ता गराएको महाअभियोगको प्रस्तावले पनि यो वर्ष नेपालमा ठूलो चर्चा पायो । कार्कीलाई अख्तियारबाट हटाउनका लागि दल तथा अदालतलाई हम्मेहम्मे नै पर्यो । प्रधानन्यायाधीश सुशिला कार्कीलाई कांग्रेस माओवादी नेतृत्वको सरकारले दर्ता गराएको महाअभियोग प्रस्तावले पनि यो वर्ष ठूलो चर्चा पायो । संसदबाट पारित हुन नसकेको यो प्रस्तावको ठूलो विवाद भएको थियो ।
प्रहरी प्रमुख नियुक्तिको विषयले पनि यो बर्ष नेपालमा चर्चा पायो । सरकारले प्रहरी प्रमुखमा आफूभन्दा कनिष्टलाई प्रहरी प्रमुख बनाएको भन्दै सरकारले सिफारिस गरेका जयबहादुर चन्दका विरुद्ध अर्का डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा मुद्धा हालेपछि यो विवादले ठूलो रुप लिएको थियो । आफू प्रहरी प्रमुख हुन पाउनुपर्ने दाबी सहित अदालतमा गएका सिलवालको सट्टा प्रकाश अर्याल प्रहरीको प्रमुख भएपछि सिलवालले सेवाबाट नै राजिनामा दिएका थिए । अझै रोचक कुरा त प्रहरी प्रमुख हुन नपाएका सिलवाललाई नेकपा एमालेले ललितपुरबाट प्रतिनिधिसभा चुनाव सदस्यमा उठायो र उनले जितेका पनि छन् ।
भुकम्पका कहरबीच आर्थिक बृद्धि
भूकम्प गएको २ वर्ष बितिसक्दा पनि भूकम्प पीडितले अझैसम्म पनि सास्ति पाइरहे । यो वर्ष पनि तराईमा बाढी र पहाडमा पहिरोले ठूलो क्षति पुर्यायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अहिलेसम्मकै उच्च आर्थिक वृद्धिद्धर हासिल गर्यो ।
०७४ साउन २७ गते रातीदेखि परेको अविरल वर्षाका कारण तराईमा बाढी आयो । बाढीमा परी १ सय २३ जनाको ज्यान गयो भने ३९ जना घाइते र ३५ जना बेपत्ता भए । करोडौ रुपैंयाको क्षति पुगेको छ । पहिरोमा परेर १४ जनाको ज्यान गयो ।
नेपालको अर्थतन्त्रमा पनि यो वर्ष निकै राम्रो देखियो । प्रचण्ड नेतृत्वको सरकारको समयमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २३ वर्ष यताकै उच्च बिन्दुमा पुगेको बताएको छ । नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा साढे ७ प्रतिशतले बढेको विश्व बैंकले जनाएको हो ।
विश्व बैंकको नेपाल विकास सूचना अनुसार पछिल्ला वर्षमा सक्रिय मनसुन, विद्युत उपलब्धता, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको गति लगायत कारणले आर्थिक वृद्धिदर साढे ७ प्रतिशत पुगेको जनाएको हो ।
यद्यपि आर्थिक वृद्धिमा अझै धेरै चुनौती रहेको विश्व बैंकले जनाएको छ । सन् २०१५ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन ३ दशमलब ३ प्रतिशतमा झरेको थियो भने त्यसको एक वर्षपछि सन् २०१६ मा १४ वर्ष यताकै सबैभन्दा कम बिन्दू अर्थात शून्य दशमलब ४ प्रतिशतमा झरेको थियो । अहिले नेपालको पर्यटन क्षेत्रमा सुधार आएको, थोक तथा खुद्रा व्यापार सामान्य हुँदै गएको, यातायात क्षेत्रमा समेत उल्लेख्य सुधार आएको, भूकम्पका कारण रोकिएका १ सय मेगावाट भन्दा बढि जलविद्युत आयोजना समेत संचालनमा आउन थालेको विश्व बैंकले जनाएको छ । आर्थिक वृद्धिदर बढेपनि नेपालमा निर्यात भन्दा आयात उच्च रहेको विश्व बैंकको भनाई छ ।
नेपालमा अंग्रेजी वर्ष ०१७ शेयर बजारको लागि सामान्य रह्यो । वर्षको सुरुमा १ हजार ४ सय ६५ दशमलब ७२ अंकमा रहेको शेयर बजार नेप्से वर्षको अप्रिल महिनामा सबैभन्दा उच्च १ हजार ७ सय ३ दशमलब ७ अंकमा पुगेको थियो । तर वर्षको अन्तिम दिनमा शेयर बजारमा भारी गिरावट आएको छ ।
अन्तराष्ट्रिय
विशेष गरी यो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनको जुहारी धेरै नै चल्यो । उत्तर कोरियाले गरेको आणविक बम परिक्षण र त्यसको विरोध गरेको अमेरिकाबिचको जुहारी यो वर्ष भरी नै चलिनै रह्यो । सन् २०१७ मा विश्वमा भएका मुख्य गतिविधि ।
अमेरिकी सत्ता परिवर्तन
सन् २०१७ को सुरुमा नै अमेरिकाको सत्ता परिवर्तन भयो । २०१७ जनवरी २० मा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिएर ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प निर्वाचित भए । राष्ट्रपतिको सपथ लिएर ह्वाइट हाउस प्रवेश गरेका ट्रम्पले केही विवादास्पद निर्णय गरेर चर्चामा रहे ।
सन् २०१६ को नोभेम्बर ८ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावमा रुसी हस्तक्षेप भएको । त्यो हस्तक्षेपले डोनाल्ड ट्रम्पलाई जिताउन र हिलारी क्लिन्टनलाई हराउन भूमिका खेलेको विषयले २०१७ भरि चर्चा पायो । त्यस्तै २०१७ नोभेम्बर २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज हुनुपर्ने भाषण गरे, जुन विश्वभर चर्चित रह्यो ।
जिम्बावेमा ३७ वर्ष लामो शासनको अन्त्य
२०१७ नोभेम्बर १७ मा जिम्बावेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबेको ३७ वर्ष लामो सत्ता हातमा लियो । मुगाबेले सन् १९८० मा जिम्बाबे स्वतन्त्र भएदेखि देशको नेतृत्व गर्दै आएका थिए । जिम्बाबेको स्वतन्त्रता संघर्षमा महत्वपूर्ण भुमिका निर्वाह गरेका उपराष्ट्रपति इमर्सन मानागाग्वालाई हटाएर मुगाबेले श्रीमतीलाई उत्तराधिकारी बनाउने तयारी गरेपछि सेनाले सत्तामाथि हस्तक्षेप गरेको थियो ।
म्यानमारमा रोहिंग्या संकट
२०१७ को धेरै चर्चामा रहेको विषयमध्ये म्यानमारको राखिने राज्यमा रहेका रोहिंग्या माथिको अत्याचार पनि एक हो । सन् २०१७ भरि नै रोहिंग्या संकटबारे धेरै बहस र विवाद उत्पन्न भए । तर, अगस्टको अन्तिम साता त्यहाँको लडाकु समूहले प्रहरी चौकीमा आक्रमण गरी १२ जना प्रहरीको हत्या गरेपछि रोहिंग्या विरुद्ध सेनाले भीषण कारबाही चलाएको थियो ।
अगष्टदेखि सुरु गरीएको सैनिक कारबाहीमा हजारौं मारिए भने लाखौंको संख्यामा विस्थापित भए । म्यानमारबाट विस्थापित भएर सीमा पारी गएका ६ लाख भन्दा बढी रोहिंग्या शरणार्थीका रुपमा बंगलादेशमा शिविरमा बस्दै आएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन
यस वर्ष अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन पनि २०१७ को प्रमुख घटनाका रुपमा रह्यो । यस महाधिवेशनले पाँच वर्षका लागि राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाएर संस्थापक माओ सेतुङ सरहको हैसियत प्रदान गरेको छ ।
सी जिनपिङ विचाधारालाई चीनियाँ कम्युनिष्ट पार्टीले संविधानमा राख्ने निर्णय गर्दै उनलाई माओ र देङ सियाओ पिङपछिका सबैभन्दा शक्तिशाली स्थानमा राखेको छ । यससँगै यसलाई चीनमा कम्युनिष्ट पार्टीले शासन सुरु गरेपछिको तेस्रो युगका रुपमा हेरिएको छ ।
डोकलाम विवाद
चीन, भुटान र भारतबीचको सीमा क्षेत्र डोकलाम विवाद पनि सन् २०१७ मा चर्चाको विषय बन्यो । खासगरी डोकलामको विषय चीन र भुटानबीचको सीमा विवाद नटुंगिएको भएर पनि भारतसँग चीनको विवाद बढेको थियो । चीनले डोकलाम क्षेत्रमा सडक निर्माण गरेपछि त्यो क्षेत्रमा भारतले सेना पठाएको थियो । जसका कारण दुई देशबीच तनाव सिर्जना भएको थियो । डोकलाम भुटान, चीन र भारतबीचको सीमा क्षेत्रमा पर्छ ।
जुन महिनामा चीनियाँ जनमुक्ति सेनाले डोकलाममा निर्माण गरेको सडकमा भारतीय सेनाले अवरोध गरेको थियो । चीनले त्यसको कडा विरोध गर्नुका साथै भारतलाई आफ्ना सेना फिर्ता गर्न चेतावनी दिँदै आफ्नो सैनिक संख्या पनि थपेको थियो । अन्ततः भारतले आफ्ना सेना हटाएपछि तनाव कम भएको थियो ।
खाडी राष्ट्रमा उत्पन्न विवाद
सन् २०१७ जुन ५ मा साउदी अरबसहित, यूएई, बहराइन, इजिप्टलगायतले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी लगाएका थिए । आतंकवादलाई प्रायोजन गरेको आरोपमा यी देशहरुले कतारमाथि व्यापार तथा यात्रामा समेत प्रतिबन्ध लगाएको थियो । जसका कारण कतारमा महँगी बढ्नुका साथै साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।
गोर्खाल्यान्ड आन्दोलन
भारतको गोर्खाल्यान्ड आन्दोलन पनि २०१७ को चर्चित घटना मध्येको एक हो । भारतको दार्जिलिङ, कालेबुङलगायत पश्चिम बंगालको पहाडी क्षेत्रमा रहेका नेपाली भाषीमाथि बंगाल सरकारले बंगाली भाषा अनिवार्य बनाएपछि नेपाली भाषीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा प्रहरीले व्यापक दमन गरेपछि आन्दोलन गोर्खाल्याण्डको मागतर्फ मोडिएको थियो । यो आन्दोलन निष्कर्ष विहीन साम्य भए पनि यसले भारतमा ठुलो हलचल ल्याएको थियो ।
किम जोङ उन
सन् २०१७ मा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन पनि निकै चर्चामा रहे । उनी बारम्बार शक्तिशाली आणविक क्षेप्यास्त्र परिक्षण गर्दै चर्चामा आएका थिए । उत्तर कोरियाले अमेरीका, रुसलगायतका राष्ट्रहरुले नाकाबन्दी लगाउँदासमेत क्षेप्यास्त्र परिक्षणलाई निरन्तरता दिएका छन् । एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परिक्षण गर्दै आएको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको तेस्रो परिक्षण गर्दै सिङ्गो अमेरिका आफ्नो पहुँचभित्र रहेको बताएको थियो ।
विज्ञान तथा प्रविधि
अंग्रेजी क्यालेण्डरको वर्ष २०१७ मा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै काम भए, जसले मानव जीवनका असजिलोलाई सजिलो बनाएका छन् । प्रविधिले हाम्रो दैनिक जीवनलाई सहज बनाउँदै लगेको छ । वर्ष २०१७ मा पनि विज्ञान प्रविधिको क्षेत्रमा धेरै नयाँ कुरा भए । यसमा स्पाइनलकर्डमा लागेको चोटका कारण भएको प्यारलाइसिसको उपचारमा देखिएको सकारात्मक संकेतदेखि ३६० डिग्रीको सेल्फी क्यामरासम्म रहेका छन् । हामीले यहाँ वर्ष २०१७ मा विज्ञान तथा प्रविधिका ८ ब्रेक–थ्रु समेटेका छौँ ।
१० प्यारालाइसिसको उपचार
वैज्ञानिकले मस्तिष्क प्रत्यारोपण गरेर स्पाइनल कर्डमा लागेको चोटका कारण हुने प्यारालाइसिसको उपचारमा सफलता पाउने संकेत भेट्टाए । अहिले पनि यस विषयमा अनुसन्धान भइरहेको छ । फ्रान्समा न्युरो वैज्ञानिकले गरेको अनुसन्धानमा मस्तिष्क प्रत्यारोपणको प्रविधि प्रयोग गरेर स्पाइनल कर्डमा लागेको चोटका कारण भएको प्यारालाइसिसको उपचार गर्न सकिने सम्भावना देखिएको हो । बाँदरमा गरिएको अनुसन्धानमा यस्तो सम्भावना देखिएको हो । यो औषधि अबको १० देखि १५ वर्षभित्र उपलब्ध हुने वैज्ञानिकले बताएका छन् ।
२० सेल्फ–ड्राइभिङ ट्रक
अबको केही वर्ष भित्र ड्राइभर बिनाका ट्रक राजमार्गमा गुड्ने सम्भावना वर्ष २०१७ ले दिएको छ । सेल्फ ड्राइभिङ कारको कुरा केही वर्ष अघिदेखि नै हुँदै गएको छ । तर देशको अर्थव्यवस्थासँग प्रत्यक्ष रुपमा जोडिएको ट्रक नै सेल्फ ड्राइभिङ आउने सम्भावना भएको हो । अबको ५ देखि १० वर्ष भित्रमा सेल्फ ड्राइभिङ ट्रक प्रयोगमा ल्याउन सकिने अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिक तथा प्रविधि कम्पनीले बताएका छन् ।
३० फेस–डिटेक्टिङ
फेस–डिटेक्टिङ सिस्टमले चीनमा आधिकारिक मान्यता पाएको छ । यसबाट भुक्तानी तथा सेवा सुविधामा पहुँचसहित अपराधी पत्ता लगाउन पनि सहयोग गरेको छ । चीनमा कम्प्युटरको सहायताले मानिसको अनुहार डिटेक्ट गरेर अपराधी पत्ता लगाउने सहितका काम हुँदै गएको छ । यस्तै यसको सहयोगले बैंक, सपिङ स्टोर तथा यातायात सेवाका अधिकारीसँग सम्पर्कमा रहन पनि सकिन्छ । चीनसहित अरु देशमा पनि यसको प्रयोग गर्न सकिने सम्भावना छ ।
४० क्वान्टम कम्प्युटर
डच अनुसन्धानकर्ताले वर्ष २०१७ मा अधिक शक्तिसहितको क्वान्टम कम्प्युटर बनाउने बाटो खुलाए । नेदरल्याण्डसको फेल्फट् युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले वर्षौंदेखि कागजमा मात्रै सीमित रहेको क्वान्टम कम्प्युटर बनाउन सक्ने भएका हुन। अधिक शक्तिशाली मेशिन, जसले सूचना प्रोसेसिङलाई नयाँ, छिटो र सजिलोसँग गर्छ त्यसलाई क्वान्टम कम्प्युटर हो । क्वान्टम मेकानिक्सको सिद्धान्तलाई आधार मानेर बनाइने क्यान्टम कम्प्युटर अहिले प्रयोग भइरहेका कम्प्युटर भन्दा फरक हुनेछ । क्वान्टम कम्प्युटर अबको ४ देखि ५ वर्ष भित्रमा प्रयोगमा आउने वैज्ञानिकले बताएका छन ।
५० ३६०–डिग्री सेल्फी
क्यामरा उत्पादन गर्दै आएका विभिन्न कम्पनीले वर्ष २०१७ मा ३६०–डिग्री क्यामरा बनाए, जसले फोटोग्राफीकोको नयाँ युगलाई सुरुवात र्गयो । यसबाट फोटो मात्रै नभएर सेल्फी तथा भिडियो पनि खिच्न सकिन्छ ।
६० हट सोलार सेल
तापलाई फोकस विम्स अफ लाइटमा रुपान्तरण गरेर नयाँ सौर्य उपकरण बनाउन सकिने वैज्ञानिकले पत्ता लगाए । यसबाट चिपको सहायताले निरन्तर रुपमा उर्जा पाउन सकिन्छ । एमआइटी वैज्ञानिकले सौर्य उर्जालाई थप प्रभावकारी रुपमा प्रयोग गर्न सकिने प्रविधि बनाएका हुन । यो प्रविधि अबको १० देखि १५ वर्षभित्र प्रयोगमा आउने वैज्ञानिकको भनाई छ ।
० जिन थेरापी २।०
वंशाणुगत डिसअडरको समाधानका लागि यो वर्ष वैज्ञानिकले जिन थेरापी पत्ता लगाए । वंशाणुगत डिसअडरको समाधानका लागि वैज्ञानिकले आधारभूत रुपमा रहेका समस्या समाधान गर्न सक्ने जिन थेरापी २।० को विकास गरेका हुन् । अहिले यो थेरापीलाई वंशाणुगत रुपमा मानिसमा देखिने सम्भावना रहेका क्यान्सर, मुटु रोग तथा अरु यस्तै रोगको उपचारमा प्रयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गरिरहेका छन ।
८० सेल एट्लस
जीव वैज्ञानिकहरुले यो वर्ष मानिसको शरीरको संरचना र यो के के मिलेर बनेको छ भन्ने जानकारी सहितको सेल एट्लस बनाउन सुरु गरेका छन् । अमेरिका, बेलायत, स्वीडेन, इजरायल, नेदरल्याण्डस र जापानका वैज्ञानिकले मानिसको शरीरमा रहेका कोष ९सेल० एट्लस बनाउन सुरु गरेका छन् । यसमा ३७ दशमलव २ ट्राइलन सेलको क्याटलक बनाउने छन् । अबको पाँच वर्षभित्र यो बायोलोजिकल एट्लस बनाइसक्ने छन ।
यस्ता छन सन २०१७ मा विश्वमा भएका प्रमुख घटना
Previous Articleकथा-नलेखिएको प्रेमपत्र
Next Article सौर्य विधुत उत्पादक संघमा गौतम, खनाल र ढकाल