तारानाथ आचार्य
बागलुङ, १२ पुस– लिफ्ट सिस्टमबाट कालीगण्डकी तिरका मुहानहरुको पानी तानेर जिल्लाको नारायणस्थाका सर्वसाधारणलाई खानेपानी बितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुहानमा इन्टेक निर्माण रिजर्ब ट्याङ्कीहरुको निर्माण लगायतका कामहरु ८० प्रतिशत सकिएकाले निर्माण सम्पन्नको चरणमा रहेको निर्माण कम्पनीले जनाएको छ । नेपाल सरकार सह–लगानी कोषको ७० प्रतिशत सहयोग र स्थानिय उपभोक्ताहरुको ३० प्रतिशत जनश्रमदानमा निर्माण भैरहेको योजनाको काम अन्तिम चरणमा पुगेको हो ।
निर्माण जिम्मा पाएको चन्द्र एण्ड बसन्त निर्माण कम्पनिले योजनाका मुख्य कामहरु अन्तिम चरणमा रहेको जनाएको छ । कालीगण्डकीको तिरमा रहेका मुहानहरुबाट पानी संकलनका लागि २ लाख लिटरको ट्याङ्की निर्माण सम्पन्न भएको छभने सुरक्षाकर्मीका लागि आवस्यक घरको समेत निर्माण सम्पन्न भैसकेको कम्पनीका इन्जिनियर राजीव सुबेदीले बताए । पानीको मुहान र बितरण ट्याङ्कीको बिचमा आवस्यक रिजर्व ट्याङ्कीको समेत आधा काम सकिएको घिमिरेले बताए । कालीगण्डकीदेखी ३ सय ९० मिटरको उचाईमा २ हजार ७ सय मिटर दुरीमा रहेको बितरण ट्याङ्की सम्म पाईपलाईन बिस्तार गर्ने काम समेत सकिएको छ । योजनाअनुसार, ५ इन्चको पाईपमा कालीगण्डकीको किनारबाट दुईवटा मोटर लगाएर पानी ३ सय ९० मिटरको उचाईमा तान्ने योजना छ । पानी तान्नको लागि किनारमा ३५ एचपीको मोटर र मध्यभागमा ३३ एचपीको मोटर प्रयोग गरिने निर्माण कम्पनीले जनाएको छ ।
उपभोक्तालाई बितरणको लागि पानी संकलन गर्ने २ लाख लिटरको मुख्य ट्याङकीको समेत अन्तिम चरणको काम भैरहेको सुबेदीले बताए । ‘असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी काम थालिएको हो’ नारायणस्थान खानेपानी उपभोक्ता समितीका अध्यक्ष चक्रबहादुर खत्रीले भने ‘असार महिना पहिला नै नारायणस्थानमा कालीको पानी बगाउँछौं ।’ सह–लागानी कार्यक्रमको ८० प्रतिशत सहयोग मिलेको भएपनि स्थानिय उपभोक्ताको ३० प्रतिशत लगानी जुटाउन भने समितीलाई हम्मेहम्मे परेको छ । ‘हामीले १ करोड ५ लाख बढि रकम जम्मा गर्नुपर्ने हुन्छ’ अध्यक्ष खत्रीले भने ‘६० लाख रुपैयाँ जम्मा भएको छ बाँकी रकम जुटाउने क्रममा रहेका छौं ।’ मोटरको सहायताले कालीको तिरबाट तानेको पानीबाट साविकको नारायणस्थान र पैञ्युपाटा गाविसका १ हजार २५ घरधुरी लाभान्वित हुने खत्रीले बताए । ‘हामीले प्रतिधारा २५ हजारका दरले बितरण गर्ने निर्णय गरेका छौं ’ खत्री भन्छन् ‘धारा जडान गर्न चाहने सबैलाई पुग्ने गरी पानी उपलव्ध हुँदै छ ।’ सह–लगानी कोषको १० करोड ६२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको योजनामा उपभोक्ताले लगानी गर्नुपर्ने ३० प्रतिशत मध्यबाट २० प्रतिशतको अनिवार्य श्रमदान गर्नुपर्ने व्यवस्था रहेको छ । ‘योजना निर्माण सम्पन्नको चरणमा छ, आर्थिक हिसाबले उपलव्ध गराउनु पर्ने रकम त उपलव्ध होला तर श्रमदान गर्नेको अभाव छ ’ अध्यक्ष खत्री भन्छन् ‘अन्यस्रोतबाट उपलव्ध गराउने गरी ज्याला दिन्छौं भन्दा पनि काम गर्ने जनशक्तिको अभाव छ ।’ खानेपानीको समस्या रहेको नारायणस्थानमा कालीको पानी आउने भएपछि उपभोक्ताहरु उत्साहित बनेका छन् । ‘निधारित समयमा नै निर्माण सम्पन्न गर्ने गरी हामीले निर्माण कम्पनीलाई दबाव दिईरहेका छौं’ खत्रीले भने ‘निर्माणको गतिलाई हेर्दा निर्धारित समयभन्दा पहिले नै पानी उक्लिने कुरामा ढुक्क छौं ।’ निर्माण सम्पन्न हुने चरणमा रहेको योजनामा प्रयोग भएका कच्चा पदार्थहरुमा समेत उपभोक्ता समितीले कडा निगरानी गरिरहेको जनाएको छ । कच्चा पदार्थको प्रयोग गर्दा कमसल र कम गुणस्तरयुक्त हुन सक्नेमा सचेत रहेको समितीले जनाएको छ ।