बागलुङ, १२ पुस – अबको कम्तीमा एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउनेबारे भने केही कानुनी जटिलता देखिएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था छ । तर, अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन ।
निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरी दललाई एक साताभित्र समावेशी रूपमा सदस्य सिफारिसका लागि पत्राचार गरिसकेको छ । एक साताभित्र दलले सदस्य सिफारिस गरे पनि आयोग मत परिणाम बुझाउने अवस्था भने छैन ।
दलहरूले बढीमा अबको पाँच दिनभित्र सदस्य सिफारिस गर्नेछन् । निर्वाचन आयोगले उक्त नामावली समावेशी सिद्धान्तअनुसार भए वा नभएको अध्ययन पछि स्वीकृत गर्नेछ । र, नामावलीमा नाम समावेश भएका उम्मेदवारलाई विजयी घोषणा गर्नेछ । नामावली परीक्षण लगायतका काममा आयोगले दलले सूची बुझाएपछि केही दिन लगाउनेछ । कम्तीमा पनि उक्त अवधिसम्म प्रदेश प्रमुख नियुक्त भइसक्नुपर्नेछ ।
प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६०(८) मा निर्वाचित उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाई नामावली राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । आयोगले दलले पेश गरेको सूचीमा समावेश गरेका उम्मेदवार निर्वाचित भएको घोषणापछि नतिजा राजपत्रमा प्रकाशित गरी प्रदेश प्रमुखलाई बुझाउने कानुनी व्यवस्था छ ।
वरिष्ठ अधिवक्ता एवम् संवैधानिक कानुनका जानकार चन्द्रकान्त ज्ञवालीले प्रदेशसभाको मतपरिणाम बुझाउनुअघि प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने अवस्था रहेको बताए |
Previous Articleएक वर्षको बजेट चार महिनामै सक्यो देउवा मन्त्रिमण्डलले
Next Article लौ न, नेपाललाई फेरि तपोभूमि बनाउँ !