बागलुङ, १० पुस – माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा बाग्लुङ-२ बाट प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पार्टी एकताको कोर्स टुंगाउन भन्दै व्यक्तिगत पहल थालेका छन् । उनले यहीँक्रममा दुवै पार्टीका नेताहरुसँगको भेटघाट शुरु गरेको बताए । सोमवार मात्र नेता पौडेलले एमाले वरिष्ठ नेता झलनाथ खनाल र एमालेका उपमहासचिव विष्णु पौडेलसँग भेट गरेका छन् । ‘चुनाव अगाडि जे वाचा गरेका थियौँ, त्यहीँ अनुसार अव पार्टी एकता गरेर देशलाई समृद्धिको बाटोमा हिडाल्नुपर्छ भनेर मैले यो अभियान थालेको हुँ ।’ नेता पौडेलले भने ।
उनका अनुसार एमाले नेता खनाल र विष्णुसँग एकता प्रक्रिया चाँडो अगाडि बढाउने गरी वातवरण बनाउने विषयमा कुरा भयो ।’ नेता पौडेलले भने, ‘उहाँहरु दुवै जनासँग निकै सकरात्मक कुराकानी भयो । पार्टी एकताको मुद्दालाई अव जतिसक्दो चाँडो टुगाएर जाने र यसका लागि आ–आफ्नो ठाँउबाट भूमिका खेल्ने कुरा भएको छ ।’
‘बृहत धुव्रीकरण संयोजन समिति’ बनाएर पौडेलले बामशक्तिसँग एकताको कोर्स अगाडि बढाएका थिए । त्यसपछि उनीसहितका १५ नेतालाई नयाँ शक्तिले स्पष्टीकरण मागेको थियो । त्यसपछि उनी गत भदौमा नयाँ शक्तिबाट बाहिरिएका थिए । लगत्तै उनीसहित नयाँ शक्तिका एक दर्जन भन्दा बढी केन्द्रीय नेताले माओवादीसँग एकता गरेका थिए ।
पौडेलसहितका नेताहरुले ‘बृहत धुव्रीकरण संयोजन समिति’ बनाउँदा माओवादी जनयुद्ध पक्षधरका घटकहरु, मधेस आन्दोलन, आदीवासी जनजाती आन्दोलन, थरुहट आन्दोलनलगायतसँग धुब्रिकरणको लागि अपिल गरेका थिए । नेता पौडेलले बृहत धुव्रीकरणको लागि आफुले कोशिष गरिरहने बताए ।
एमाले र माओवादीले असोज १७ मा बामगठबन्धन बनाएका थिए । पौडेलले यसलाई आफुले अगाडि सारेको बृहत धुव्रीकरणको सोच बताएका छन् । नेता पौडेलले अव केही दिन आफुले पार्टीभित्र र एमालेका नेताहरुसँग संवाद गरेर एकताका लागि सकरात्मक वातवरण बनाउने बताए ।