बागलुङ, १० पुस – नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले अहिलेका अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तन असान्दर्भिक भएको बताएका छन् । गगन थापा, नवीन्द्रराज जोशी र प्रदीप पौडेल लगायतका युवाले विशेष अधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेका बेला शर्माले नेतृत्व परिवर्तनको खुलेर विरोध गरेका छन् ।
सभापति शेरबहादुर देउवाको असक्षम नेतृत्वका कारण पार्टीले लज्जास्पद हार बेहोरेको एकथरी नेताले आरोप लगाइरहेका बेला विश्वप्रकाश भने त्यसको विपक्षमा उभिएका हुन् । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले कुल १६५ सिटमा २३ सिट मात्र जितेको छ । युवा नेता शर्माले निर्वाचनमा पराजित भएको अवस्थामा नेतृत्व परिवर्तन भन्दा पार्टीलाई आधुनिक बनाउन जरुरी रहेको बताए । उनले भने, ‘अहिले नेतृत्व परिवर्तन गर्न जरुरी छैन ।’
कांग्रेसलाई पुर्नजीवित गर्न देश दौडाहामा निस्किएका युवा नेता शर्माले समानुपातिकको मत परिणाम आएपछि केन्द्रीय समितिको बैठक बसेर गम्भीर समिक्षा गरिने बताए । उनले पार्टीको पराजयमा आन्तरिक र बाह्य कारण रहेको बताउँदै सभापति देउवा, वरिष्ठ नेता पौडेलदेखि आफू स्वयम् पनि उत्तिकै जिम्मेवार रहेको बताए । ‘हामी सबै दोषी छौँ, कसैले कसैलाई आरोप लगाएर कोही पन्छन सक्दै सक्दैनौँ’, उनले भने, ‘सबैले धेरथोर जिम्मेवारी लिनुपर्छ’, उनले भने ।
शर्माले कांग्रेसले मुलुकको परिवर्तनमा खेलेको भूमिका जनता बुझाउन नसक्नु कमजोरी भएको बताए । शान्ति प्रक्रिया, संविधान निर्माण र मधेस मुद्दामा कांग्रेसले गरेको निर्णायक भूमिका ‘क्यास’ गर्न नसक्नु हारको एउटा कारण रहेको उनले बताए । शर्माले निर्वाचनको मुखका अप्रत्यासित एमाले र माओवादीको गठबन्धन हुनुले गणितीय रुपमै कांग्रेस कामजोर भएको बताए । शर्माले अब कांग्रेसको भूमिका प्रमुख प्रतिपक्षका रुपमा हुने पनि प्रष्टोक्ति दिए ।
युवा नेता शर्माले संगठनात्मक स्वरुपमा परिवर्तन गरी आधुनिक कांग्रेसमा रुपान्तरण गर्ने ऐतिहासिक अवसरको रुपमा आफूले लिएको बताए । उनले भने, ‘यो कांग्रेसको लागि ऐतिहासिक मोड हो, अब हामी बदलिन्छौ र कांग्रेसलाई बदल्छौ भन्नेमा लाग्नुपर्छ ।’ अन्नपूर्णपोष्ट
यसकारण उभिए विश्वप्रकाश कांग्रेसको नेतृत्व फेर्ने प्रस्तावविरुद्ध
Previous Articleभैरहवामा प्लेन क्यान्सिल, पर्यटकलाई पाल्पाबाट हेलिकप्टर
Next Article बागलुङका सांसद पौडेल पार्टी एकताका लागि दौडधुपमा