बस सेवा आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुने
बागलुङ, ७ असोज – बागलुङबाट भारतको नयाँ दिल्ली सम्म सिधा बस सेवा आजदेखि सुरु भएको छ । ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक यात्रु लिएर बागलुङबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ ।
धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स’ प्रा.लि.सँगको सहकार्यमा सञ्चालन गरेको बस ३० घण्टामा दिल्ली पुग्नेछ ।
सो यातायात सेवाको धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिको १८ औ बार्षिक साधारणसभाका अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले आज उद्घाटन गरे ।
उद्घाटन पछि बोल्दै खनालले बागलुङ–नयाँ दिल्ली बस सेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको वताए। उनले सर्वसाधारण प्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रह गरे । सार्वजनिक यातायात सेवालाई सुधार्न सरकारसँग मिलेर काम गर्न महासंघ तयार रहेको उनको भनाई थियो ।
बागलुङ–नयाँ दिल्ली बस सेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ ।
यात्रुहरुको चाहाना र सुविधालाई दृष्टिगत गरि ‘डिलक्स’ बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए। । बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ । १३ सय २० किमिको उक्त यात्रामा प्रति यात्रु रु. ३२ सय नेपाली रुपैयाँ भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए।
नयाँ दिल्लीमा पनि काउण्टर स्थापना गरि बस सेवाको प्रचार प्रसार र व्यवस्थापनको काम भइरहेको छ । धवलागिरि क्षेत्रबाट रोजगारको लागि भारतको नयाँ दिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेशाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
‘यहाँबाट नयाँ दिल्ली पुग्न धेरै झण्झट ब्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता पनि टर्नेछ’ समितिका अध्यक्ष खड्काले भने । मोर्डन ईरा टुर्स एण्ड ट्रार्भल्स’ प्रालिका अध्यक्ष केशव अधिकारीले यात्रुको पूर्ण सुरक्षाको ‘ग्यारेण्टी’ गरिएको जानकारी दिए। प्रालिले दस वर्षअघिदेखि पोखरा–नयाँ दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । ‘पोखरादेखि सेवा दिँदा अधिकांश यात्रु धवलागिरि क्षेत्रकै भएको पायौं’ अध्यक्ष अधिकारीले भने- ‘धवलागिरिका सर्वसाधारणको सेवाका लागि बागलुङबाटै बस सेवा सुरु गर्न सहकार्य गरेका हौं ।’ मुस्ताङमा पर्ने पवित्र धार्मिक स्थल मुक्तिनाथ जाने भारतीय तीर्थयात्री र पर्यटकका लागि पनि बस सेवाले लाभ पुग्नेछ ।
यात्रुको चाप अनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बस सेवा चलाउन सकिने समितिले जनाएको छ । निकट भविष्यमा भारतको सिलिगुढी, गुवाहटीमा पनि बस सेवा सुचारु गर्ने योजना छ ।