बागलुङ, ६ पुस – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिँदै भारत भ्रमणको निम्तो दिएका छन्। अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका हुन्। भारतीय प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री ओलीसमक्ष नेपालमा तीन वटै निर्वाचन सम्पन्न भएकामा खुशी व्यक्त गरेको एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा छ।
अध्यक्ष ओलीलाई बधाई तथा शुभकामना दिँदै मोदीले यस सफलताले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाएको तथा निर्वाचनमा हासिल परिणाम र गठबन्धनको जीतले नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकास हुने विश्वास व्यक्त गरेको जनाइएको छ। मोदीले नेपालमा सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू स्वागत गर्न आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए।
अध्यक्ष ओलीले बधाई तथा शुभकामनाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै आफ्नो ध्यान राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए। ‘यसका लागि छिमेकीसँग सुसम्बन्ध कायम गरिनेछ’, ओलीले मोदीलाई भने। वाम गठबन्धनबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका ओलीले खासगरी भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गरिने बताउँदै भारतीय प्रधानमन्त्री मोदीलाई पनि नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका छन्।
सरकार गठनलगत्तै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणापत्र पठाइने ओलीले बताए। अध्यक्ष ओलीले गुजरातलगायत प्रान्तमा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि भारतीय जनता पार्टीका नेता मोदीलाई पनि बधाई दिए।
Previous Articleम्याग्दीखोलाको पानी लभ्लीडाँडामा पुगेपछि स्थानीय दङ्ग
Next Article बागलुङ कालिका मन्दिरको जंगलमा लागेको आगो नियन्त्रणमा