प्रकाश थापा
‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो ।’
……………………………………………………………
‘राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।’
कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित कालमहिमा कविताबाट साभार प्रस्तुत कवितांश संरक्षणकर्मीको असामयिक निधनको सान्दर्भिकतालाई मनन् गरी लिइएको हो । साँच्चिकै भन्नुपर्दा कालले कोही कसैको दया, माया, ममता, सन्तोष, योग्यता, योगदान र क्षमा मान्दो रहेनछ । भावीले लेखेको मितिमा संसारबाट जो कोही पनि चाहँदा वा नचाहँदा बिदा लिनु नै पर्दो रहेछ । संरक्षणको कार्यमा अहोरात्र खटिने संरक्षणकर्मीहरुको जीवनलाई पनि कालले टेरेन । उनीहरुको प्रकृति संरक्षणप्रतिको योगदानलाई पनि पापी कालले बुझेन । संरक्षणको कार्य गर्दा गर्दै कालले दस वर्षअघि असोज सात गतेका दिन २४ जना हेलिकप्टरमा सवार संरक्षणकर्मीहरु, मन्त्री, कर्मचारी र पत्रकार लगायत अन्यलाई टपक्कै टिपेर लग्यो ।
असोज सातका दिन विश्वभरका संरक्षणकर्मी र संरक्षणका सवालमा चासो राख्ने जो कोहीका लागि पनि दुखद् दिन हो । वि.सं. २०६३ साल असोज ७ गतेका दिन कञ्चनजंगा संरक्षण क्षेत्रलाई स्थानीय समुदायमा हस्तान्तरण पश्चात् फर्कदा बाक्लो हुस्सुका कारण श्री एयरको हेलिकप्टर ताप्लेजुङ घुन्साको पहाडमा ठोक्किइ हेलिकप्टर दुर्घटना भयो । यही दुर्घटनामा परी २४ जनाको सम्पूर्ण टोलीले ज्यान गुमाउनु प¥यो । यो दुर्घटनामा ज्यान गुमाउनेहरुमा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई र उनकी श्रीमती मिना राई, वन सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल, वन विभागका महानिर्देशक शरद राई, फिनल्याण्ड राजदुतावासका पौली मुस्टोनेन, युएसएडकी मार्गरेट एलेक्जेन्डर, युएसएडका डा. बिजनन आचार्य, विश्व वन्यजन्तु कोष युकेका डा. जिल बोलिङ स्चल्याफर, विश्व वन्यजन्तु कोष युकेकी जेनिफर हेडली, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङमा शेर्पा, विश्व वन्यजन्तु कोष अमेरिकाका माथेउ प्रिस, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, भूगोल तथा योजना विद् डा. हर्कबहादुर गुरुङ, संरक्षण विद् डा. तीर्थमान मास्के, विश्व वन्यजन्तु कोष नेपालकी यसी लामा, उद्योग वाणिज्य सङ्घका तत्कालीन केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पहिलो अध्यक्ष दावाछिरिङ शेर्पा, नेपाल टेलिभिजनका संवाददाता हेमराज भण्डारी र क्यामेरा पर्सन सुनिलकुमार सिंह, क्यापटेनहरु किल्म किम र मिङ्मा शेर्पा, उडान इन्जिनियर भेलेरी सेफ्रोनो र क्याविन एटेन्डेन्ट गुरुवर टन्डुल थिए । यो दुखद घटनाले परिवार, आफन्तजन र राष्ट्रलाई नै शोकमग्न गरायो । यिनै प्रकृति संरक्षणका नक्षेत्रहरुको सम्झनामा वि.सं. २०६५ सालदेखि नै असोज सातलाई राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउन सुरु गरिएको हो । यस वर्ष पनि राष्ट्रिय संरक्षण दिवस दिवंगत आत्माको चीर शान्तिको कामना र थोरै भए पनि प्रकृति संरक्षणको क्षेत्रमा योगदान पुगोस् भनी मनाउन लागिएको हो । यी विश्व चर्चित संरक्षणकर्मीहरुको असमायिक निधन प्रकृति संरक्षण क्षेत्रका लागि अपुरणीय क्षति हो । २०६३ साल असोज ७ (सन् २००६ सेप्टेम्वर २३) प्रकृतिलाई बचाउन लाग्नेहरुका लागि इतिहासको पानामा कालो दिनका रुपमा अंकित छ । यति धेरै संरक्षणकर्मी एकै चिहानमा एकै पटक गुम्नु संरक्षणका कार्यमा लाग्ने जो कोहीका लागि पनि अशुभ दिन थियो । संरक्षणको कार्यमा अहोरात्र खटिंदा खटिंदै निष्ठुरी दैवको आँखामा परी यी संरक्षणकर्मीको देहलीला समाप्त हुन पुग्यो । नेपालको प्रकृति संरक्षण तथा प्रवद्र्घनमा घुन्सामा ज्यान गुमाउनेहरु मध्ये धेरैको ठूलो योगदान रहेको छ । उनीहरुको अभाव अझै पनि नेपालमा संरक्षण कार्यको क्षेत्रमा खड्किरहेको महसुस गर्न सकिन्छ । आजको यो अवस्थामा नेपालको प्रकृति संरक्षण कार्य पुग्नमा यिनै संरक्षण विद्हरुको महत्वपूर्ण भूमिका रहेको थियो । जैविक विविधतामा धनी नेपाल विश्व सामु समुदायमा आधारित जैविक विविधता संरक्षणमा अग्र स्थानमा आउँछ । जैविक विविधतामा नेपाल विश्व सामु २५ औ स्थानमा र एसियामा ११ औं स्थानमा पर्दछ । जैविक विविधताको संरक्षणमा प्राण आहूती गर्ने यिनै संरक्षणकर्मीको उत्प्रेरणा र सहयोगले आज पनि नेपालमा सयौं अध्ययन अनुसन्धानकर्ताहरु संरक्षणमा लागिरहेका छन् ।
दुर्घटनामा ज्यान गुमाउने यी संरक्षणकर्मीहरुको योगदानका विषयमा जतिसुकै कापीका पाना भरे पनि अधुरो नै हुन्छ । उनीहरुको विद्वता, त्याग, साहस र तपश्याले जो कोहीलाई पनि संरक्षण कार्यप्रति उत्प्रेरित गर्दछ । कास्कीको सिक्लेसमा जन्मिएका डा. चन्द्रप्रसाद गुरुङको स्थानीय समुदायमा आधारित जैविक विविधता संरक्षणमा विशेष योगदान रह्यो । डा. गुरुङको अन्नपूर्ण संरक्षण क्षेत्रको विकास तथा प्रवद्र्घनमा ठूलो योगदानले गर्दा आज विश्व अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आफ्नो पहिचान स्थापित गराएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको पर्यापर्यटन मोेडेल देश विदेशमा प्रख्यात छ । त्यसैगरी कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना सफल बनाउन यिनै गुरुङको योगदान अतुलनीय रह्यो । लमजुङमा जन्मेका एक बहुआयामिक व्यक्तित्व डा. हर्कबहादुर गुरुङ संरक्षणका लागि विश्वभर चीर परिचित थिए । उनी एक सफल भूगोल विद्, योजना विद्, मानव शास्त्री, लेखक, राजनीतिज्ञ, कलाकार र संरक्षणकर्मी थिए । डा. हर्क गुरुङको हरेक क्षेत्रमा विशिष्ट योगदान छ । सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापनामा मिङमा शेर्पाको योगदान संरक्षणमा लागेकाहरुको मानसपटलमा ताजै छ । डा. तीर्थमान मास्के जो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको महानिर्देशक चार पटकसम्म बने । उनको नेपालका विभिन्न राष्ट्रिय निकुञ्जहरुको स्थापनामा महत्वपूर्ण योगदान रह्यो । उनी घडीयालको अध्ययन अनुसन्धानमा विश्वभर परिचित थिए । डा. दामोदर पराजुली, नारायण पौडेल र शरद राई उदाहरणीय वन विज्ञ थिए । संरक्षणका कार्यहरुमा उनीहरुको भूमिका पनि विशेष रह्यो । कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना व्यवस्थापन परिषद्का पहिलो अध्यक्ष दावाछिरिङ शेर्पाले कञ्चनजंघा संरक्षण आयोजनाको व्यवस्थापन योजना निर्माण कार्य र स्थानीय जनताको सक्रिय सहभागिता गराउनमा महत्वपूर्ण भूमिका खेलेका थिए । यी विशिष्ट संरक्षणकर्मीको असमायिक निधनले देशले कुशल संरक्षणकर्मीहरु गुमाएको छ । उनीहरुको अभाव संरक्षणका हरेक कदमहरुमा खड्की रहेको छ । यो अभावको परिपूर्ति गर्न शोकलाई शक्तिमा बदल्दै अब युवाहरुले उक्त रिक्त स्थानको परिपूर्ति गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । राज्यले पनि संरक्षणमा लाग्नेहरुका लागि उचित वातावरण निर्माण गरिदियोस् ।
जय राष्ट्रिय संरक्षण दिवस । अमर रहुन संरक्षणकर्मी ।
prakash.thapa013@gmail.com