मंसिर महिना जिल्लाको सुरक्षा संयन्त्रका लागि निकै हलचलमय बन्यो । जिल्ला प्रहरी कार्यालय बागलुङमा ३० दिन नपुग्दै ३ जना प्रहरी उपरिक्षकहरुको स्थानान्तरण गरियो । यसले जिल्लाको सुरक्षा ब्यबस्थामा नै हलचल मच्चाई नै रह्यो । मानवीय स्वभावका हिसाबले सबै मानिस एकै खालका हुँदैनन् फरक– फरक खालका स्वभाव भएका प्रमुखहरुले सुरक्षाको नेतृत्व निश्चय पनि फरक–फरक खालले गरे । हुनतः प्रहरी प्रशासन एउटा चेन अफ कमाण्डमा निश्चित परिधीमा रहेर काम गर्ने संस्था हो । यद्यपी त्यो नियम र कमाण्डलाई सम्हाल्ने नेतृत्वदायी ब्यक्तिको ब्यक्तिगत स्वभावले निश्तचय नै कमाण्डमा रहेको तल्लो तहसम्म प्रभाव पारेको हुन्छ । अहिले जिल्लाको मुख्य सुरक्षाको संयन्त्रका रुपमा रहेको जिल्ला प्रहरी कार्यालयले नयाँ प्रहरी उपरिक्षक पाएको छ । दिपक रेग्मीलाई प्रहरी तालिम केन्द्रबाट बागलुङ प्रहरीको प्रमुखमा काजमा पठाएपछि उनले भुमिका निभाई रहेका छन् ।
यसअघि मंसीर ५ गते प्रहरी प्रमुख चन्द्र कुबेर खापुङको स्थानमा हिमालय श्रेष्ठ प्रहरी प्रमुखको रुपमा बागलुङ आएका थिए र अहिले श्रेष्ठको ठाउँमा प्रहरी प्रमुखको रुपमा दिपक रेग्मी स्थानान्तरित भएका छन् । हुनतः प्रहरी एउटा पद्धतिमा चल्ने संस्था हो । प्रहरीको प्रमुख जस्तो जिम्मेबार पदमा एकै महिनामा भएको यस्तो खालको परिवर्तनले जिल्लाको शान्ति सुरक्षामा निश्चय नै असर पारेको हुन्छ । ब्यक्तिपिच्छे काम गर्ने तौरतरिकाहरु फरक हुन्छन् । जिल्लाको सुरक्षा निकायको मुख्य जिम्मेबारी पाएको ब्यक्तिले जिल्लाको समग्र सुरक्षाको योजना बनाएर नागरिकलाई सुरक्षा प्रत्याभुत हुने गरी शान्ति सुरक्षा अमनचैन तथा अपराध नियन्त्रणको क्षेत्रमा काम गर्नुपर्ने हुन्छ । हप्ता दश दिनको अन्तरमा भैरहेको यस्तो खालको स्थानान्तरणले जिल्लाको सुरक्षा ब्यबस्था मजबुद बनाउने गरी सुराक्षा प्रमुखहरुले कसरी काम गर्न सक्छ । कुनै ब्यक्तिगत वा संस्थागत स्वार्थका लागि भएको भाडभैलो खेल तत्काल अन्त्य हुन जरुरी छ ।
सुरक्षा जस्तो संबेदनशिल क्षेत्रमा बिद्यालयमा बिद्याथीहरु भाँडाकुटी खेलेको जस्तो तौर तरीकाबाट भैरहेको नेतृत्व परिवर्तनले समग्र जिल्लाबासीमा यतिबेला शंकाको घेरा बढ्दै गएको छ । छोटो समय लिएर जिल्लामा आएको कुनै पनि नेतृत्वले योजनाबद्ध काम गर्न सक्दैन । योजनाको खाकासम्म पनि बनाउन नपाउँदै हुने यस्तो खालको परिवर्तनले एकातर्फ स्वयम् नेतृत्व गर्ने अधिकृतहरु र अर्कोतर्फ कार्यक्षेत्रमा काम गरिरहेका राष्ट्रसेवकहरुको मानसिकतामा असर मात्रै गर्दैन प्रहरीले गर्नुपर्ने अध्ययन अनुसन्धान र कार्वाहीको प्रकृयामा समेत असर गरेको हुन्छ । जब नेतृत्वका कारण प्रहरी ढिलो वा समयमा काम दिन नसक्ने अवस्थामा पुग्छ त्यसको असर तल्लो तहका सर्वसाधारणसम्म पुग्छ भन्ने कुरामा सरोकारवालाको हेक्का रहन आवस्यक छ । जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउनको लागि प्रहरीको नेतृत्व स्थायी हुन जरुरी छ । यदि गलत कामको थालनी गरेमा कार्वाही गर्ने र सहि कामलाई सम्मान गर्दै जिल्लाको सुरक्षा संयन्त्रमा स्थायी नेतृत्व दिन राज्य तयार हुनुपर्छ । कम्तिमा योजना बनाएर मैदानमा गएको सिपाईले मात्रै सफलता पाउँछ भन्ने कुराको हेक्का राखेर नेतृत्व दिन राज्य तयार होस् । यसले नै आमसर्वसाधारणको हितमा काम गर्ने छ ।