बेनी, ४ पुस – नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।
आयोजनाअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बाग्लुङले चालू आर्थिक वर्ष २०७४/७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी ररिटेनिङ (मेसिनरी) पर्खाल निर्माणको कार्य सुरु गरेको हो । ठेक्का सम्झौता भएको केही महिनामै काम सुरु भएको छ । मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा,म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल सम्झौता अगाडि नै सम्पन्न गर्ने समानान्तर बिएन जेभीका नारायण जिसीले बताए ।
‘तीव्र गतिमा काम भइरहेको छ । नदीको धारसमेत परिवर्तन गरिएकाले पनि सहज भएको छ,’ जिसीले भने ।निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले ३ सय ९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २ सय कामदार परिचालन गरिएको बताए । ‘स्थानीयवासीलाई पनि अनुगमनका लागि अनुरोध गरेको छु । स्थानीयको सहयोगले पनि निर्माणकार्यमा सजिलो भएको छ।,’ जिसीले भने ।
उनका अनुसार मेसिनरी पर्खाल ६ मिटर र आरसिसी ७.५ मिटर अग्लो हुने बताए । नदी आसपासमा पानीको बहावले निर्माणकार्यमा असर गरेपछि नदी आसपासमा बसोबास गर्नेहरूलाई समेत छलफल गरी नदीको धारलाई परिवर्तन गरेकाले पनि आयोजनाको कामले गति लिएको छ ।
ठेक्का सम्झौता एक वर्षसम्म भएपनि जिसीले असारभित्र नै काम सम्पन्न गर्ने दाबी गरेका छन् ।जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालयका इन्जिनियरसहितको प्राविधिक टोलीले समेत दैनिक स्थलगत अनुगमन गर्ने गरेकोजनाएको छ । दुईवटा ठूलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एकदशकयता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबिनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो ।ग्याबिनजाली, ढुंगाको प्रयोग गरी प्रयास गरिएको रोकथाम प्रभावकारी नभएपछि आर्थिक वर्ष ०७१÷७२ देखि ०७३/७४ सम्म आरसिसी पर्खालको निर्माण सुरु गरिएको थियो ।
पर्वत जिल्लाको पर्वतबेनी प्रवेश गर्नेमोटरेबल पुलदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडि करिब ३ सय ९५ मिटर आरसिसी पर्खाल निर्माण सम्पन्न गरिएको थियो । समान्तर बिएन जेभीले काम सुरु गरेपनि नदी कटानले अति जोखिमपूर्ण मानिएको म्याग्दी जेसिजदेखि दोभान नजिकसम्मको ३ सय ८० मिटरको काम सुरु भएको छैन । बेनीबजार संरक्षणमा भइरहेको कामकोबेनी नगरपालिका–७ र ८ वडाका प्रतिनिधिका साथै बेनी नगरपालिकाले समेत नियमित अनुगमन गरिरहेको छ ।
आगामी तीन वर्षभित्र बेनीबजार संरक्षणको आयोजना सम्पन्न गरी आवश्यक थप संरचना बनाएर चक्रपथको रूपमा प्रयोग गर्ने योजनासमेत बनाइएको छ ।बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बजारभित्रबाट चल्ने ठूला तथा साना सवारीसाधनलाई तटबन्धलाई प्रयोग गर्ने बताए ।‘बेनीबजार संरक्षणसँगै ट्राफिक समस्या पनि समाधान हुन्छ । गुणस्तरीय संरचनाका लागि समन्वय गरिरहेका छौं,’ उनले भने ।
दुई वर्षअघिकालीगण्डकी नदी थुनिएपछि बेनीबजारको संरक्षणका लागि जिल्लामा रहेका राजनीतिक दल, पूर्वसांसदले समेत निरन्तर बजेट विनियोजनमा दबाब दिइरहेका थिए । ०७२ जेठ १० गते उत्तरी म्याग्दीमा करिब १६ घन्टा नदी थुनिएपछि बेनीबजार संरक्षणका लागि प्रयोग गरिएको तटबन्धमासमेत क्षति पुगेको थियो ।
विगतमा बजेट अभावमा बेनीवासीले एक महिनासम्म नदी आसपासको क्षेत्रमा जनश्रमदानसमेत गरेका थिए । गत आर्थिक वर्षमा देशभर रहेका सदरमुकाममध्ये उच्च जोखिम सदरमुकाममा म्याग्दीको सदरमुकामलाई समेत राखिएपछि बजेट विनियोजनले प्राथमिकता पाएको थियो ।