काठमाडौं, ४ पुस – नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यहाँ पनि समायोजन गरेको निगमले प्रस्ट पारेको छ । ‘भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल १ रुपैयाँ र मटितेलमा १ रुपैयाँले वृद्धि हुन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।’
नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ, डिजेल ७८ रुपैयाँ र मटितेल ७८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय, डिजेल ७७ र मटितेल ७७ रुपैयाँ थियो । गोइतका अनुसार आइओसीले खुद्रा मूल्य बढाएकाले यहा मूल्य बढेको हो । नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ । डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको जनाएको छ
मूल्य समायोजनपश्चात् निगमको घाटा ११ करोड ३९ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएको भन्दै यथावत् राखिएको छ । हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय ५० रुपैयाँ छ । प्रतिलिटर हवाई इन्धन(आन्तरिक तर्फ) ८७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ०.८५० डलर छ ।
Previous Article‘एमाले र माओवादीको स्वार्थमा राष्ट्रपतिको प्रयोग’
Next Article रसुवागढी पुगेर ओलीले भने-यहीँबाट रेलमार्ग बनाउँछौं