बागलुङ, ३ पुस – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा झण्डै एक घण्टा कुराकानी भयो। त्यो कुराकानीमा के के कुराकानी भयो होला? प्रचण्डसँग शनिबार विहानको कुराकानीमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रले एमालेसँगको गठबन्धन त्यागे प्रचण्डलाई पाँच बर्षकै लागि प्रधानमन्त्री दिन तयार रहेको सहमति पत्र लेखेरै दिन आफू तयार रहेको बताएका रहेछन्।
यो कुराको खुलाशा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले सोमबार साँझ गरे। ‘तपार्इंं नै प्रधानमन्त्री हुनुस्, त्यसो हो भने पाँच वर्षका लागि लेखेरै दिन तयार छौं भन्ने प्रस्ताव अध्यक्ष प्रचण्डसँग राखिएछ’ सोमबार साँझ केही सञ्चारकर्मीसँगको भेटघाटमा सापकोटाले भने, ‘प्रचण्डले देउवालाई यस्तो कुरा नगर्नुस्, पाँच वर्षका लागि रचनात्मक प्रतिपक्षमा बस्ने मानसिकता बनाएर बस्नुस् भन्ने जवाफ दिनु भएछ।’
प्रचण्ड निकट माओवादी केन्द्रका अर्का नेता बर्षमान पुनले पनि सोमबार एक अंग्रेजी दैनिकसँगको कुराकानीमा भनिसकेका छन् कि, सरकारको नेतृत्वका लागि माओवादी केन्द्रलाई प्रस्ताव आइसकेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोमबार विहान एमाले–माओवादी केन्द्रबीचको एकता भाँड्न अनेक प्रपञ्च सुरु भइसकेको बताएका थिए। ओली र पुनले देउवाले प्रचण्डसँग राखेको उपरोक्त प्रस्तावका आधारमा संभवत: उक्त दावी गरेका हुन्।
देउवाले प्रचण्डलाई भने – लेखेरै दिन्छु, प्रधानमन्त्री हुनुस्
Previous Article३ पुस २०७४, ढोरपाटन दैनिक
Next Article सरकार गठन र पार्टी एकता सँगसँगै-माओवादी