नेपालमा निर्वाचनको आफ्नै इतिहास छ । वि.सं. २०१५ मा पहिलो बहुदलीय आम निर्वाचन सम्पन्न भएको थियो तर राजा महेन्द्रले डेढ वर्षमा नै विघटन गरि निरंकुश पञ्चायती तानाशाही शासन लागू गरे । त्यसपछि पञ्चायती कालमा वि.सं. २०२७, २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यको निर्दलीय चुनाव भयो । यता बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पछि २०४८ मा पहिलो आमनिर्वाचन, २०५१ मा मध्यावधी चुनाव र २०५६ मा तेस्रो संसदीय चुनाव गरियो । दोस्रो जनआन्दोलनबाट प्राप्त गणतन्त्रको स्थापना पछि २०६४ मा पहिलो र २०७० मा दोस्रो संविधानसभा चुनाव भयो । दोस्रो संविधानसभाले नयाँ अग्रगामी तथा उत्पीडितमैत्री संविधान जारी गरेको छ । यसको कार्यान्वयन गर्नु आज सबैको प्राथमिक दायित्व भएको छ । यसैक्रममा मंसिर १० मा पहिलो र २१ गते दोस्रो चरण अन्तरगत संघिय तथा प्रदेशसभाको चुनावी सकिएको छ र यो चुनावमा वाम गठबन्धनले भारी बहुमत प्राप्त गरेको छ । चुनावी निरन्तरताको इतिहास निकै लामो भएपनि अहिलेको आमनिर्वाचनले ऐतिहासिक राजनीतिक महत्व वोकेको छ ।
राजनीतिक क्रान्तिपछि मात्र योजनाबद्ध आर्थिक क्रान्ति सम्भव हुन्छ । यस अर्थमा कुनैपनि समाजमा सर्वप्रथम राजनीतिको अग्रगामी व्यवस्थापन इतिहासको अपरिहार्य आवश्यकता हुन्छ । राजनीतिक व्यवस्थापन पछिको आर्थिक तथा सांस्कृतिक क्रान्ति मात्र वैज्ञानिक, वस्तुवादी र सार्थक हुन्छ । अन्यथा भोट व्ल्याकमेलिङ गर्ने झुठो आश्वासन मात्र हुन्छ, जसवाट जनता आजित हुँदै आएका छन् । वास्तवमा विगतमा आर्थिक क्रान्तिको प्रतिबद्धता नारामा मात्र सीमित हुनु उचित राजनीतिक व्यवस्थापन नहुनुकै परिणाम हो तर आज हाम्रो समाजमा उल्लेख्य राजनीतिक उपलब्धि भएको छ । सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका नागरिकले सबै खाले अधिकार पाउँने वातावरण बनेको छ । आफ्नो हक अधिकार आफैँ खोज्न सक्ने भएका छन् । अन्याय र विभेदविरुद्ध लड्ने राजनीतिक शक्ति र सोंच पैदा भएको छ । जनताले राजनीतिक अधिकार पाएका छन्। अव मुलुकमा राजनीतिक परिवर्तनको एउटा अध्याय पूरा भई आर्थिक क्रान्तिको नयाँ अध्यायको थालनी भएको छ ।
परिवर्तनका धेरै मुद्दा समेटिएको अनि सम्पूर्ण उत्पीडितहरूको परिवर्तन, विकास, स्थायित्व, समृद्धि र शान्तिको रणनैतिक सपना बोकेका संविधानलाई संस्थागत गर्ने पहिलो राजनीतिक प्रक्रिया भएकोले यो ऐतिहासिक निर्वाचन मार्फत आर्थिक समृद्धिका विषयलाई अगाडि बढाउनै पर्दछ । नेपाली कम्युनिष्ट आन्दोलन विगत लामो समयदेखि टुटफुट र विग्रहबाट गुज्रिदै आएको छ । कतिपय फुट सैद्धान्तिक, राजनीतिक कार्यदिशा र कार्यनीतिमा भएको देखिन्छ । कतिपय फुट नितान्त पदीय भागवण्डा, गुटगत चिन्तन र नेतृत्व टकराव जस्ता प्राविधिक सवालमा मात्र रुम्मलिएको छ । यस्तो गलत विरासतको कारण कम्युनिष्ट पार्टीले आफ्नो आधारभूत सिद्धान्त र रणनीतिक लक्ष्य सही हुँदाहुँदै पनि समाज परिवर्तनका मुलभूत काम गर्न नसकेको विडम्बनापूर्ण इतिहास छ । परिणामस्वरूप जनताले कम्युनिष्ट पार्टी र दक्षिणपन्थी पार्टी बीचमा सारभूत भिन्नता अनुभूति गर्न सकेन । यसले तमाम दुःखी, गरिब, किसान, मजदुर तथा उत्पीडितहरूको उन्मुक्तिको संवाहक भएर पनि कम्युनिष्ट पार्टीले आफ्नो ऐतिहासिक राजनीतिक भूमिका निभाउने अवसर पाएन । यो निर्वाचनमार्फत त्यस्तो दुःखद विषयको अन्त्य भएको छ । कम्युनिष्ट पार्टीको वहुमत भएको सरकारले अब सामाजिक सुरक्षासहितको योजनावद्ध आर्थिक विकासलाई अगाडि बढाउनुृ पर्दछ । जसले मुलुकलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन सकोस ।
Previous Articleजनताको अभिमत बामगठबन्धनलाई
Next Article २०७४ पुस २ गते आइतबारको राशिफल