काठमाडौं, १ पुस – नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले वाम गठबन्धन जनताबाटै अनुमोदित भएको उल्लेख गर्दै अब पार्टी एकताको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार आयोजित चियापान कार्यक्रममा दुवै दलका शीर्ष नेताले चुनावअघिको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमा एजेन्डाकै रूपमा पार्टी एकता गर्ने प्रतिबद्धता जनाएकाले त्यसबाट पछाडि हट्न नसकिने बताए । दाहालले वाम गठबन्धन पहिलो पटक परीक्षाकै रूपमा मैदानमा उत्रिएको उल्लेख गर्दै त्यसलाई जनताले अनुमोदन गरिसकेकाले अब एकतातर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘इतिहास र जनताले स्वीकार गरिसकेका छन्,’ उनको भनाइ थियो, ‘अब पार्टी एकतालाई अन्तिम रूप दिनुको कुनै विकल्प छैन ।’
पहिलो पटक वामपन्थी शक्ति एकजुट हुँदा दुई तिहाइ नजिक पुगिएको भन्दै दाहालले आगामी ५ वर्ष नेपालको स्थायित्व, विकास र सुशासनका लागि कोसेढुंगा हुने दाबी गरे । चुनावी नतिजामा एमाले र माओवादी केन्द्रको बराबर हिस्सा रहेकाले त्यसलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । एमाले वरिष्ठ नेता झलनाथ खनालले संक्रमणकाल अन्त्य गरी मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै चुनावी प्रतिबद्धता पूरा गर्न ढिलाइ गर्न नहुने बताए ।
‘निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेपछि नयाँ सरकार निर्माण थाल्छौं,’ विपक्षीले लगाएका आरोप कामबाटै जवाफ दिने बताउँदै उनले भने, ‘लोकतन्त्र सुदृढ बनाउने र आम जनतासम्म लोकतन्त्रको प्रत्याभूति गराउनेतिर ध्यान केन्द्रित हुन्छ । नयाँ सरकारले विकास र समृद्धिसँगै छिमेकीसँग सन्तुलित सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ ।
एमाले नेता माधवकुमार नेपालले तालमेलजस्तो गाह्रो कामलाई सफलतापूर्वक पूरा गरेर वाम शक्तिले आफ्नो क्षमता देखाएको उल्लेख गर्दै पार्टी एकतामा विलम्ब गर्न नहुने बताए । ‘पार्टी एकता गरेर बलियो शक्ति नबनाएसम्म मुलुकमा विकासको काम अगाडि बढ्न सक्दैन,’ उनको भनाइ थियो, ‘अब पार्टी एकतालाई महत्त्व दिऔं ।’ नेतृत्वको इच्छाशक्तिले हजारौं आकांक्षी उम्मेदवारमध्ये साझा उम्मेदवार चयन गरेको बताउँदै नेता नेपालले आम जनताको झुकाव र विश्वासलाई एकतामा रूपान्तरण गर्नुपर्ने बताए ।
एमाले महासचिव ईश्वर पोखरेलले चुनावअघि प्राविधिक रूपमा पार्टी एकता गर्न नसकिएको उल्लेख गर्दै अब त्यसबाट कोही पछि हट्न नमिल्ने बताए । चियापानमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी थिए ।
कानुनको खोचे थापेर सत्ता लम्ब्याउने प्रयास – ओली
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् । कांग्रेसले लोकतान्त्रिक मान्यता र जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गरेको ओलीको आरोप छ । ‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमूल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ,’ निजी निवास बालकोटमा शनिबार सञ्चारकर्मीसित कुरा गर्दै ओलीले भने, ‘मर्यादित संस्थाको अनुचित व्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’
ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको दाबी गर्दै त्यसलाई सच्याउन आग्रह गरे । ‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’
सरकार गठनका लागि आफ्नै अभ्यास र नजिर रहेको भन्दै नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको ओलीको तर्क छ । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘निर्वाचन आयोग कसैको टिवटका पछाडि होइन, संविधान र कानुनअनुसार चल्नुपर्छ ।’ आफूहरूलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै ओलीले जनमतले नै कांग्रेसलाई राजीनामा गराइसकेको उल्लेख गरे । प्रदेश प्रमुख नियुक्तिमा कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथग्रहण गर्नुपर्ने ?’
एमाले र माओवादीले भने-‘अब पार्टी एकता सुरु हुन्छ’
Previous Articleसमानुपातिक मत गणना : एमाले बन्यो पहिलो दल
Next Article पर्वत जेसीजको अधिवेशन शुरु