बागलुङ जिल्लाका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारहरुले नतिजा आफ्नो पोल्टामा पारेपछि जनताको चाहना अनुसार निर्वाचनमा गरेका बाचा पुरा गर्छन् या गर्दैनन् भन्ने चर्चा चल्न थालेको छ । चुनाव जितेपछि बधाई थाप्न भ्याईनभ्याई भैरहेका बेला हाम्रा सहकर्मी तारानाथ आचार्यले प्रतिनिधि सभा सदस्य डा. सुर्य पाठकसँग गरेको छोटो कुराकानी । कुराकानीमा आचार्यले ५ प्रश्न राखेका छन् ।
निर्वाचन परिमाण आफ्नै पोल्टामा पार्नुभो कस्तो अनुभव भैरहेको छ ?
–सबैभन्दा पहिला म मतदातालाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले गर्नुभएको माया र समर्थनले म एकदमै उत्साहित भएको छु । ठुलो मतान्तरले मलाई चुनाव जिताउनु भयो यो मेरा लागि ठुलो जिम्मेबारी दिएको मैले सम्झेको छु । कुनैपनि बहानामा अब मैले उहाँहरुको मतको कदर गर्नेछु । ढुक्क हुनुस् मत खेर जान दिन्न ।
निर्वाचित भएपछि पहिलो जनताले महसुस गर्ने के काम गर्ने योजना छ ?
–अब मैले दुई ढंगले काम गर्नुपर्छ । एउटा हो विकास निर्माण र अर्को हो नीति निर्माण । म प्रतिनिधि सभाको सदस्य भएकाले जनपक्षिय नीति निर्माण पनि उत्तिकै महत्वको बिषय हो । विकास निर्माणमा सडक, खानेपानी, कृषि सिंचाई र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ । त्योभन्दा पहिला बन्द अवस्थामा रहेको बलेवा बिमानस्थल सञ्चालनमा ल्याउन मैले पहिलो पहल थाल्ने छु । बागलुङ बजारदेखी बलेवा सम्मको बाटो कालोपत्रे गरेर बलेवा बिमानस्थललाई सञ्चालनमा ल्याएरै छोड्ने मेरो पहिलो योजना छ । दोस्रो बागलुङ बजारमा सिटी हल निर्माण गर्ने हो । यसका लागि संभावनाहरु खोजेर सिटी हल निर्माण गरेरै छोड्छु ।
हजुरलाई नै किन भोट दिए जस्तो लाग्छ । सोचेभन्दा त फरक नतिजा आयो भन्छन् नि ?
–जनताले स्थिर सरकार र दिगो विकास चाहेका रहेछन् । उनीहरु क्रियाशिल र जनताको सरोकारका बिषयमा बोल्दिने योग्य दल र उम्मेदवारको खोजीमा थिए । त्यो अवसर हामीले प्रदान गरेका थियौं । बाम गठबन्धनबाट जनताले ठुलो आशा र भरोस गरेका छन् । त्यो पुरा गर्ने कार्यभारसहित हामिलाई जनाताले बिजयी गराए ।
चुनाव जितिसकेपछि जनतालाई फर्केर हेर्दैनन् भन्ने व्यापक गुनासो छ नि ?
हामी त्यो गुनासोलाई मेटाउने गरी काम गर्दैछौं । ढुक्क हुनुहोस जनताले महसुस गर्ने गरी काम गर्ने योजना बनाएर अगाडि बढ्छौं । हामीले बुझेका छौं यदि काम गरेन र जनताको घरदैदलोमा फर्केन भने त्यसको राजनीतिक र सामाजिक दुबै भविष्य संकटमा पर्छ जनताको माझमा मुख देखाउने ठाउँ रहँदैन् । हामी काम गरेर देखाउँछौं हामीलाई जनताको सल्लाह सुझाव र साथ चाहिन्छ ।
अन्य दललाई कसरी मिलाएर लैजानु हुन्छ ?
–मैले बिजयी भैसकेपछि भनेको छु । मेरा लागि बिपक्ष बागलुङमा छैनन् । सबैलाई मिलाएर लैजाने हाम्रो काम हो यसमा म सबै साथीहरुलाई साथ र सहयोगका लागि अपिल गर्दछु । जुनसुकै पार्टिको भएपनि बागलुङको विकासको लागि हामी सबै गोलबद्ध भएर लाग्ने हो । बिचारले बिपक्ष होला तर विकास र अवसरमा सबैलाई समान रुपले सम्बोधन गर्नेछु ।
अन्तमा केही भन्नै पर्ने कुरा छुट्यो की ?
–निर्वाचन सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण गठबन्धनमा सहभागी तिनैवटा पार्टिका नेता कार्यकर्ता, प्रशासन, कर्मचारी, सुरक्षाकर्मी, पेशाब्यबसायी, नागरिक समाज, पत्रकार, सञ्चार संस्था लगायत आम बागलुङबासीहरुलाई धन्यवाद । तपाईंहरुको देशमा स्थिरता देख्ने चाहना पुरा गछौं । ढुक्क रहनुहोस् ।