यो बर्षको महिला हिंसाविरुद्धको १६ दिने अन्तराषर््िट्रय अभियान सकिएको छ । अधिकारवादी संघसंगठन र महिलाहरुले अनेक कार्यक्रम गरी यो अभियान सकाएका छन । १६ दिने अभियान मनाउन थालेको पनि धेरै भइसकेको छ तर पनि महिलामाथि हुने हिंसामा कमि आएको छैन भन्नेहरुको संख्या त्यतिकै बढि छ । नारीवादी लेखिका मेरी क्राफ्टले भनेकी थिइन, ‘म यो चाहन्न कि महिलाले पुरुषमाथि अधिकार जमाउन, महिलाले पहिला आफैंमाथि अधिकार जमाउनुपर्छ ।’ यो भनाई आजपनि उत्तिकै सान्दर्भिक छ । महिला हिंसाविरुद्धको सोह्रदिने अन्तराषर््िट्रय अभियान चलिरहेको बेला पनि लैंगिक हिंसाका घटना उत्तिकै सार्वजनिक भइरहनुले त्यही कुरालाई पुष्टि गरेको छ । नेपालमा लैंगिक हिंसा र महिला हिंसा पर्यायवाची जस्तै बनिसकेको छ । हाम्रो समाजमा परापूर्व कालदेखि नै महिला हिंसाको अवस्था अत्यन्तै लाजमर्दाे छ, जसले सिंगो समाजलाई नै कुरूप बनाइरहेको छ ।
कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला आफ्नै परिवारदेखि राज्यसम्मको हिंसाको चपेटामा परेका छन् । हाम्रो समाजमा महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातनाजस्ता हिंसाको सूची धेरै लामो छ । महिला विरुद्ध हुने शारीरिकभन्दा पनि मानसिक हिंसाको अवस्था अझ डरलाग्दो छ । कुनै व्यक्ति वा समूहमाथि उसको इच्छा विपरीत हुने दुव्र्यवहार हिंसा हो । कसैको आत्मसम्मानमा चोट पुराउने वा दुःख दिने नियतले गरिने नियोजित वा अनियोजित सबै व्यवहार हिंसाभित्र पर्छन । महिलामाथि हुने सबै प्रकारका हिंसा लिंगमा आधारित हिंसाको डरलाग्दो रूप हुन । महिला हिंसा गम्भीर फौजदारी अपराध भए पनि हाम्रो समाजमा यसलाई निजी र पारिवारिक मामिला मानी धेरैजसो मुद्दा गाउँघरमै मिलापत्र गराइन्छ भने प्रहरी प्रशासनसम्म आइपुगेका उजुरी पनि मिलापत्रमा टुंगाउन स्वयम महिला अधिकारीकर्मीहरु नै लागि परेको देखिन्छ । महिला हिंसालाई घरायसी र निजी मामिलाका रूपमा हेरिने हुनाले थोरै घटनामात्रै बाहिर आउँछन ।
नेपालमा यो अन्तराषर््िट्रय अभियान मनाउन थालेको पनि वर्षौं बितिसकेको छ । हरेक वर्ष जिल्ला सदरमुकाम लगायतका सहरबजारमा महिला हिंसा विरुद्धका कार्यक्रम आयोजना गरिने गरिएको छ । यी कार्यक्रममा केही वक्ताले महिला उत्थानका चर्का भाषण र कार्यपत्र प्रस्तुत गर्ने गरेका छन । सहरिया नारी प्लेकार्ड र अखबारका पानामा महिला मुक्तिको आवाज कोर्दै गर्दा बहुसंख्यक ग्रामीण महिला भने यसप्रति बेखबर नै हुने गरेकाछन । सबैजसो क्षेत्रमा महिला हिंसा भइरहेको भए पनि बहुसंख्यक महिला घरेलु श्रमिक भएका छन र उनीहरुले आफूमाथि भइरहेको व्यवहार हिंसा हो भन्नेसम्म पनि थाहा पाएका छैनन्, थाहा पाउनेले पनि त्यसविरुद्ध आवाज उठाउन सकिरहेका छैनन । यदि आवाज उठाइहाले पनि त्यसको सुनुवाइ नभएको गुनासो आमरुपमा छ । महिला विरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा सबैभन्दा बढी हुने गरेको अध्ययनले देखाएको छ । यसको अर्थ महिलाहरू सबैभन्दा बढी आफ्नै परिवारमा र आफन्तबाटै असुरक्षित छन । हाम्रो समाजमा आक्रमण त्यसमाथि हुन्छ, जो कमजोर छ । परिवारमा पनि यही नियम लागू हुन्छ । जबसम्म महिलाहरू आवाज उठाउन सक्दैनन, कमाउन सक्दैनन, उजुरी गर्न सक्दैनन, उनीहरूमाथि हिंसा हुने सम्भावना बर्षाैसम्म रहिरहन्छ । एक किसिमले भन्दा हाम्रो समाजमा महिला हिंसाले संस्थागत रूप धारण गरिसकेको छ । यो महिला र पुरुष बीचको ऐतिहासिक शक्ति सम्बन्धको उपज हो भन्दा पनि फरक पर्दैन । यसले पीडितलाई तत्काल हुने शारीरिक पीडा त छँदैछ, त्यसको जुन मनोवैज्ञानिक पीडा हुन्छ, स्वाभिमानमा चोट पुग्छ, त्यसले सिंगो समाजमा नै दीर्घकालीन असर पुराउँछ । त्यसैले हरेक व्यक्तिको मानसिकता र दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक छ । महिला अधिकारको रक्षा कानुन बनाएर मात्र सम्भव छैन । कानुनले त मानिसको बाहिरी आचरणमात्र नियन्त्रण गर्ने हो । कानुन जतिसुकै महिलामैत्री भए पनि मानिसको सोचाइ, दृष्टिकोण, धारणा महिलामैत्री नभएसम्म महिला हिंसाको अन्त्य सम्भव छैन । त्यसैले महिलाप्रतिको हाम्रो दृष्टिकोण, धारणा र व्यवहार नै बदलिन जरुरी छ ।
Previous Article२६ मंसिर २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article २०७४ मंसिर २६ गते मंगलबारको राशिफल