सरिता अर्याल
ग्रेटवाल, मानव निर्मित सातौँ आश्चर्यमध्येको एक आश्चर्य ग्रेटवाल। सानैदेखि मनमा लागिरहन्थ्यो, यस्तो ठाँउ हेर्न पाइएला कि नपाइएला? गत महिनाको अन्त्यतिर चीनको बेइजिङ पुग्ने मौका जुराइदियो, बेजिङस्थित बेइजिङ इन्टरनेशनल चाइनिज कलेजले। ‘भोलि ग्रेटवाल जाने। आठ बजे सबै तयार हुनू’, हाम्री शिक्षिका स्यालोनले कक्षाको अन्त्यमा भनिन्। ओहो! चीनको भ्रमणले सार्थकता पाउने दिन रहेछ भोलि! मन प्रफुल्ल भयो। २३ जना नेपाली, थाइलैण्ड, युक्रेन र दक्षिण कोरियाका हामी सबै समयमै बसमा पुग्यौँ। तर दुई जना नेपालीले नेपाली समयझैँ ठानेर होला, १० मिनेट ढिला गर्नुभयो बस चढ्न। चिनियाँहरूले समयलाई कति महत्त्व दिँदारहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण बनिन्, त्यस समयकी हाम्री पथप्रदर्शक स्यालोन। उनले रिसाउँदै अभिव्यक्त गरेका शब्दहरू र हाउभाउले हामीलाई समयको पाठ पढ्न बाध्य बनायो। फेरि चीन बसुन्जेल हामी त्यहीँको समयमा नै हिड्यौँ, नेपाली समय भन्ने सोचलाई तिलाञ्जलि दिँदै।
चिनियाँ बसमा झण्डै डेढ घन्टा हुइँकिएपछि हामी पुग्यौँ, मानव निर्मित अद्भुत आश्चर्यलाग्दो भौतिक संरचना ग्रेटवाल। सानोसानो टुक्रामा विभाजित समयमा चीनका पूर्वज शासकहरूले उत्तरतिरबाट हुने हमलालाई रोक्नका लागि यो पर्खाल बनाएका रहेछन्। मिङ वंशका शासकहरूले माटो, ढुंगा र काठबाट यो पर्खाल आआफ्नो राज्य सुरक्षाका लागि बनाएका रहेछन्। पछि विशाल चीन एउटै भएपछि यी सबै साना पर्खालहरूलाई जोडेर एउटै विशाल ग्रेटवाल बनाइएको रहेछ। यसको लम्बाइ कति छ भन्ने यकिन हुन नसके तापनि आठ हजारदेखि १५ हजार किलोमिटरसम्म भएको अनुमान गरिएको पाइयो। हाम्री पथप्रदर्शकले दिएको जानकारीअनुसार यो पर्खालको उचाइ सबै ठाउँमा एकै किसिमको नभएर पहाडको भौगोलिक बनावटअनुसार आठ फिटदेखि ३५ फिटसम्म रहेछ। यसको चौडाइ हेर्दा लाग्छ, दश जना मानिस एक लाइनमा हिँड्न सकिन्छ जस्तो।
पर्खालबीचको बनोट हेर्दा कतै कार गुडाउन सकिन्छ भने कतै भर्याङ उक्लने र ओर्लने देखिन्छ। ड्रागन जस्तै चीनको विशाल भूमीमा फैलिएको ग्रेटवालको किल्ला पार गर्दै जाँदा मनमनै सोच्न पुगेँ, कसरी बनाएको होला यत्ति अग्लो, यत्ति चौडा पर्खाल डाँडाको टुप्पैटुप्पामा ? यो संरचना देख्दै मन हल्लिन्छ। त्यो समयमा पनि कस्तो योजना? कसको कल्पना होला यो? यस्तो पहाडमा ढुंगा बोकेर पर्खाल बनाउने चिनियाँ जनताको परिश्रमलाई मान्नै पर्छ। पूर्वमा संहाइगुआनदेखि पश्चिममा लोपलेकसम्म फैलिएको ग्रेटवाल बनाउने सुरुवात पाँचौँ शताब्दीदेखि भएको चिनियाँहरू बताउँछन्। सोह्रौँ शताब्दीसम्ममा विभिन्न मिङ वंशका राजाहरूले यो पर्खाल बनाएका रहेछन्। पहिलो पर्खालको रूपमा किन सी हुआङ नामक राजाले बनाएको पर्खाललाई लिइँदै आएको छ। जुन २२० देखि २०६ इशापूर्वमा निर्माण गरिएको इतिहास रहे पनि यसको धैरै भाग बिग्रिसकेको र सानो अंशलाई मात्र सुरक्षित राख्न चीन सरकार सफल भएको देखिन्छ। ग्रेटवालमा चढ्ने विभिन्न नाकाहरू रहेछन्। हामीलाई पातालिङ ग्रेटवालमा चढ्ने सौभाग्य मिल्यो। पातालिङ, जसको अर्थ नै आठ दिशा जाने लेक भन्ने रहेछ चिनियाँ भाषामा। लेकमा चढ्नुपर्ने, जाडोको महिना, सिरेटोले कान तातिएको थियो तर पनि ग्रेटवाल चढ्ने उत्साहमा पाइलाहरू अगाडि बढिरहेका थिए। समूहमा भएका युवा साथीहरू धेरै अगाडि बढिसकेका थिए।
बाटामा विभिन्न ठाउँका मानिस भेटिनु स्वाभाविक नै हो। अमेरिकाको क्यालिफोर्नियाबाट आएका दुई वृद्ध जोडीलाई भेटिए, ७३ वर्षकी लिसा र ७५ वर्षका जोन। लिसा भर्याङमा हिँड्न नसकेर बसेरै घस्रिन थालिन् भने जोन अगाडि बढे। मनको चाहनालाई उमेरले कहाँ छेक्ने रहेछ र! लिसाको पाँच किल्लासम्म पार गरेर फर्किन्छु भन्ने चाहनाको अगाडि म नतमस्तक हुनपुगेँ। उनको कुरा सुनिसकेपछि रोकिएका मेरा पाइला अनायास नै अगाडि उक्लिन थाले। ड्रागन जस्तै चीनको विशाल भूमीमा फैलिएको ग्रेटवालको किल्ला पार गर्दै जाँदा मनमनै सोच्न पुगेँ, कसरी बनाएको होला यत्ति अग्लो, यत्ति चौडा पर्खाल डाँडाको टुप्पैटुप्पामा ? यो संरचना देख्दै मन हल्लिन्छ। त्यो समयमा पनि कस्तो योजना? कसको कल्पना होला यो? यस्तो पहाडमा ढुंगा बोकेर पर्खाल बनाउने चिनियाँ जनताको परिश्रमलाई मान्नै पर्छ। भुइँमै घस्रिँदै उकालो चढेकी लिसालाई पछ्याउँदै मैले पनि चार किल्लासम्म आफूलाई पुर्याउन सकेँ। नेपाली तथा युक्रेनकी साथी आठ/नौ किल्लापारि पुगेर नाचिरहेका परैबाट हेरेर म फर्किन थालेँ।
ग्रेटवाललाई प्रेमको प्रतीक पनि मान्दा रहेछन् चिनियाँहरूले। सेनाको पोसाकमा सजिएका बेहुला र सेतो गाउनमा सजिएकी वाङ हुँको विवाह गरेकै दिन ग्रेटवाल चढ्ने चाहना। अनौठो लाग्नु स्वाभाविक नै हो। आजै किन त ? मेरो प्रश्नमा सजिलै उत्तर दिइन् वाङ हुँले, वैवाहिक जीवन आनन्दमय भएर बितोस् भन्ने चाहना लिएर आएको। ग्रेटवाललाई चिनियाँ भाषामा वान ली छाङ भन्दारहेछन्, जसको अर्थ हो- चीनको विशाल पर्खाल। जे होस्, वान ली छाङबाट तल झर्दा मन आनन्दित भएको थियो। हामीले पढ्दै आएको चन्द्रमाबाट पृथ्वीमा देखिने मानव निर्मित संरचना हो, चीनको ग्रेटवाल। यस्तो अलौकिक संरचना देखाइदिएकोमा धन्यवाद दिँदा मलाई अर्को आश्चर्यमा पारिन् स्यालोनले। उनको भनाइअनुसार यो हुनै नसक्ने कुरा हो। चिनियाँ वैज्ञानिकले प्रमाणित गरिसकेका छन्, चन्द्रमाबाट ग्रेटवाल देखिँदैन भनेर। साथीहरूलाई पर्खिउन्जेलसम्म थाइल्याण्डकी साथी राट्टानाले बडो रोचक किंवदन्ती सुनाइन्। यो पर्खाल बनाउँदा काम गर्न नसक्ने मजदुरलाई यहीँ मारेर पुरिदिने गरिन्थ्यो रे, त्यसैले यहाँ कति कामदारको मृत्यु भयो भन्ने निश्चित नभएकाले यसलाई चीनको लामो चिहान पनि भनिने गरिन्छ। जे भए पनि मानव निर्मित भएकाले विश्वको शान, चीनको मान, प्रेमको प्रतीक, लामो चिहान, जेजे भने पनि ग्रेटवाल चढेर मन सन्तुष्ट बनाएर फर्किइयो।
Previous Articleप्रतिपक्षलाई सम्मान गर्छौं, मिलेर देश बनाउँछौंः ओली
Next Article पछि सर्यो श्वेताको ‘कान्छी’