बागलुङ, २५ मंसिर-नवनिर्वाचित सांसदहरुले समाजका सबै प्रकारका विभेद र असमानता हटाएर जिल्लालाई आर्थिक समृद्धिको बाटोमा लैजाने बताएका छन् । संविधानले परिकल्पना गरे अनुरुप सामाजिक न्याय र समाजवादको लक्षमा पुग्न आर्थिक समृद्धिको विकल्प नभएको पनि उनीहरुले बताए । आइतबार पत्रकार सम्मेलन गरेर गठबन्धनका नेताहरुले सामाजिक न्याय सहितको समृद्धि आर्जन गर्न संघर्षशिल रहने बताए । ‘निर्वाचनको बेला जेजस्ता एजेण्डा लिएर जनताको घरदैलो पुगेका थियौं, ती बिषयलाई पुरा गर्ने दिशामा लाग्नुपर्नेछ’ माओवादी नेता समेत रहेका सांसद देवेन्द्र पौडेलले भने, ‘कतिपय संभव नहुने कुरा बोलिएको भए ती कुरालाई प्राविधिक रुपमा खोजी गरिनेछ ।’ प्राविधिक रुपमा संभव नहुने काम बाहेक अन्यमा जनताले साथ दिने बताए ।
निर्वाचनका क्रममा जारी भएका राष्ट्रिय र स्थानीय घोषणापत्र सहितको सामाजिक न्याय र समानता सहितको समृद्ध बागलुङ निर्माणका लागि व्यक्त योजना र बिचारको पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत पौडेलले दोहो¥याए । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष एवं प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटाले बाम उमेदवारले जारी गरेको विज्ञप्ती पढेर सुनाएका थिए । विज्ञप्तीमा संविधान कार्यान्वयनको पहिलो आधारको रुपमा यो निर्वाचनलाई लिइएको छ ।
निर्वाचनमार्फत विभिन्न वर्ग र सामाजिक समूहमार्फत प्रकट भएका जनताका आकांक्षालार्ई सम्बोधन गर्न सकिने बताइएको छ । अबका दिनमा सामाजिक न्याय र समाजवादको लक्ष्यमा पुग्न आर्थिक समृद्धिमा केन्द्रीत हुनुपर्ने बताइएको छ । सामाजिक न्याय सहितको समृद्धि आर्जन गर्नका लागि गरिवी र पछौटेपनको विरुद्ध संघर्ष गर्नुपर्ने समेत बताइएको हो । विज्ञप्तीमा उमेदवारहरुले निर्वाचनका क्रममा बाम गठबन्धनका कार्यकर्ता माथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको भन्दै खेद व्यक्त गरेका छन् । साथै घटनाका दोषि माथि कडा कानूनी कारवाही गरिनुपर्ने माग गरेका छन् । उनीहरुले कुन स्थानमा कस्ता प्रकारका घटना भएको भन्ने खुलाएका छैनन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा उनीहरुले कर्मचारी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिएका छन् । विज्ञप्तीमा प्रतिनिधि सभामा निर्वाचित डा. सूर्य पाठक र देवेन्द्र पौडेल, प्रदेशसभाका निर्वाचित ईन्द्रलाल सापकोटा, कृष्ण थापा, चन्द्रबहादुर बुढा र टेकबहादुर घर्तीले हस्ताक्षर गरेका छन् । एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर र राजमो निकट प्रगतीशिल पत्रकार संघले पत्रकार सम्मेलनको संयोजन गरेका थिए । चौतारीका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, सेन्टरका कृष्ण कंडेलको संचालन र प्रगतीशिल पत्रकार संगठनका बिजय रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्योग बाणिज्य संघद्धारा सम्मान
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य तथा माओबादी केन्द्र स्थायी समिती सदस्य देबेन्द्र पौडेलले बागलुङको बिकासका लागि अहोरात्र खटिने बताएका छन् । निर्वाचनको समयमा गरेका बाचा पुरा गर्न बागलुङका जनताको चाहना अनुसारको काम गर्नुपर्ने भन्दै पौडेलले राजनीतिक तहबाट हुन सक्ने सबैखालका काममा आँफ्नो सकृयता रहने बताए । बागलुङ उद्योग बाणिज्य संघले आईतबार गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै पौडेलले अब देशले मुहार फेर्न थालेको बताए । स्थिर सरकार बनाएर ५ बर्षमा सर्वसाधारणले अनुभुति गर्ने गरी विकास निमार्णको थालनी गर्ने भन्दै पौडेलले यसका लागि उद्योगी ब्यबसायीको समेत महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । कार्यक्रममा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले निर्वाचनका बेला गरेका बाचा पुरा गर्न आफु अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरे ।
बागलुङमा हाल सञ्चालित महत्वपुर्ण र राष्ट्रिय गौरवका योजनाहरुको स्तरोन्नती र नयाँ योजनाहरुको निर्माण थालनी गर्ने भन्दै पाठकले बलेवा भकुण्डे पञ्चकोटदेखी कालिका मन्दिरसम्म केवलकार निर्माण गर्न निजी क्षेत्रलाई आग्रह गर्दै आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले काठमाण्डौ र पोखाराले बागलुङलाई कर्णाली सम्झिने गरेको भन्दै राजनीतिक पहुँचका लागि सबै एक भएर जानुपर्ने अवस्था रहेको औंल्याए । उनले राजनीतिक रुपमा पहुँच भएमा मात्रै विकास निर्माणका काममा सघाउ पुग्ने भन्दै त्यसका लागि बागलुङका जनप्रतिनिधिहरु एक भएर जानुपर्ने बताए । प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढाले अब देशमा स्थिर सरकार बन्ने बताए ।
प्रदेश सभा सदस्य कृष्ण थापाले उत्पादनको जिल्लाका रुपमा बागलुङलाई विकास गर्ने बताए । अर्का प्रदेश सभा सदस्य टेकबहादुर घर्तिले देशले मुहार फेर्ने बेला आएको बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठले समृद्ध बागलुङको सपाना देखेकाले यसलाई केन्द्रबिन्दुमा राखेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव दयाराम पौडेलले गरेका थिए ।