बागलुङ, २५ मंसिर – प्युठानको प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन्। वाम गठबन्धनको समर्थन पाएकी दुर्गाले पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएर कांग्रेसबाट चुनाव लड्न गएका गोविन्द पोखरेललाई पराजित गरिन्। दुर्गाले १६ हजारभन्दा बढीको अन्तरले गोविन्द पोखरेललाई पराजित गरिन्।
दुर्गा पौडेलले ४७५१४ मत ल्याएकी छन् भने पोखरेलले ३१२८६ मत प्राप्त गरेका छन्। नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहकी पत्नी पनि हुन्। मतगणनाको सुरुवातमा पोखरेलसँग पौडेलको प्रतिस्पर्धाजस्तो देखिए पनि आइतबार उनले मतान्तर लगातार बढाएकी थिइन्। पराजित भएसँगै पुननिर्माण प्राधिकरण छोडेर सांसद बन्ने दौडमा लागेका पोखरेलको प्रयासमा ब्रेक लागेको छ।
प्रत्यक्षतर्फ जिल्लाबाट पहिलोपटक पौडेल विजयी भएकी हुन्। यसअघिका निर्वाचनमा महिला उम्मेदवार भएपनि विजयी हुन सकेका थिएनन्। पौडेललाई एमाले र माओवादी केन्द्रको साथ रहेको थियो। झिमरुक गाउँपालिका-५ ओखरकोट प्यूठान निवासी पौडेल विद्यार्थी जीवनदेखि राजनीति क्षेत्रमा क्रियाशिल छिन्।
२०४१ सालदेखि पौडेलको राजनीतिक यात्रा शुभारम्भ भयो। २०४५ सालमा साढे तीन महिना जनआन्दोलनका क्रममा उनले बन्दी जीवन बिताउनुपर्यो। पौडेल २०५६ सालको निर्वाचनमा कपिलवस्तु र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट समेत उम्मेदवार बनेकी थिइन्।
पौडेलसँग पराजय भोगेका कांग्रेसका पोख्रेल राष्ट्रिय पूनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदबाट राजीनामा दिएर चुनाव लड्न आएका हुन्। जिल्लामा वामगठवन्धनको बलियो क्षेत्र हुँदाहुँदै कांग्रेसले पोखरेलको विजयी सुनिश्चत रहेकोमा दाबी गर्दै आएका थिए।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा जिल्लाको विकास निर्माणमा पुर्याएको भूमिकाले पोखरेललाई जिल्लावासीले विजयी गराउनेमा अधिकांशले अनुमान गरेको पाइएको थियो। प्रत्यक्षतर्फ जिल्लाको सबै मतपरिणाम आइसकेको छ। प्रदेशसभामा समेत वामगठवन्धनकै उम्मेदवार विजयी भएका छन्। प्रदेशसभाका लागि क्षेत्र नम्बर १ मा एमालेका हरी रिजाल र २ मा माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन्।
प्राधिकरण छोडेर सांसद बन्न दौडेका पोखरेल पछारिए
Previous Articleबर्दिया-१ बाट वामदेव गौतम पराजित
Next Article पहिलो दल बन्यो एमाले, २४ स्थानको नतिजा आउन बाँकी