निर्वाचन शब्दमा आफैमा आकर्षण छ किनभने यो अर्काे लोभलाग्दो अभिब्यक्ति लोकतन्त्रसंग जोडिएको छ । विश्वमा लोकतन्त्रको मोहबाट कोही पनि मुक्त हुन सकेका छैनन् । कम्युनिष्ट शासन भएका मुलुकदेखि खाटी प्रजातन्त्रका हिमाइती मानिने सवै मुलुकले लोकतन्त्रलाई मानेका छन । उत्तर कोरिया जस्तो कठोर कम्युनिष्ट शासन भएको मुलुकका शासकले पनि आफ्नो देशलाई औपचारिक तवरमा चिनाउँदा ‘प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया’ भन्ने गरेका छन् । चीनको निर्वाचन चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरूको चयनको लागि गरिन्छ । त्यहाँ स्थानीय देखि केन्द्रिय तहको लागि सदस्यहरूको चयन गर्ने परिपाटी विकसित भएको छ । दक्षिण छिमेक भारत पूरै पश्चिमी शैलीको लोकतन्त्रमा छ । भारतले पश्चिमीमा पनि बेलायती ढाँचाको लोकतन्त्र अपनाउनाको एउटा कारण अंग्रेजको उपनिवेशमा रहँदाका कतिपय प्रचलन सहज भैदिनाले हो भन्ने गरिन्छ । बहुदलीय प्रतिस्पर्धाको आधारमा संसद निर्माण हुने र बहुमत प्राप्त गर्ने पार्टीको नेता प्रधानमन्त्री बन्ने र सरकार सञ्चालन गर्ने अभ्यास चल्दैआएको देखिन्छ । नरेन्द्र मोदी यस्तै पद्धतिबाट निर्वाचित भएको हुन । यद्यपि भारतमा कहिलेकाहीँ शक्तिशाली राष्ट्रपतिय प्रणालीमा जाने वहस पनि हुने गरेका छन ।
साविकमा भारत र चीन दुबै राजतन्त्र थिए, तिब्बतको विशिष्ट चिनारी छँदा त्यो पनि धार्मिक राजतन्त्र मार्फत शासित थियो । सन् १९४७ मा भारत र सन् १९४९ मा चीनमा भिन्न ब्यवस्था आयो । नेपालले सन् १९५१ मा राणाशासनको अन्त्य भएपछि संवैधानिक राजतन्त्रको बाटो समात्यो । वि सं २०१५ साल (सन् १९५९) मा संविधान जारी भएपछि २०१६ सालमा देशले पहिलो पटक निर्वाचित सरकार पायो । २०१७ साल पौषमा राजा सकृय हुन पुगे र दलविहीन पञ्चायतको थालनी गरे, तर निर्वाचनको परम्परा भने रोकिएन । प्रत्यक्ष अप्रत्यक्ष विधि अपनाइयो । २०४६÷०४७ सालको परिवर्तनपछि संवैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र अनुकूल २०४८ साल, २०५१ र २०५६ सालमा निर्वाचन भएका हुन् । २०५६ सालपछि भने देशमा संसदीय चुनाव हुन पाएको थिएन । २०६४ र २०७० सालका चुनाव त नयाँ संविधान लेख्ने प्रयोजनका लागि गठन हुने संविधानसभाको लागि भएका थिए । नयाँ संविधानले अहिले भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक वैधानिकता प्राप्त गरेको छ ।
निर्वाचनको अभ्यास आवधिक रूपमा गरिरहनु राम्रो हो । तर यसपल्टको निर्वाचनले देशमा व्याप्त अनिश्चय र अन्योल अर्थात संक्रमणकाल हटाउने हिसावले महत्वपूर्ण हो । यो ऐतिहासिक निर्वाचन नागरिकको उत्साहजनक सहभागितामा शान्तिपूर्ण रुपमा समपन्न भएको छ । यो निर्वाचनले लोकतन्त्रको सौन्दर्यतालाई उजागर गरेको छ भने मुलुकलाई नयाँ इतिहासतर्फ अगाडि बढाएको छ । अव लामोसमयसम्म रहेको संक्रमणकालको अन्त्य भएको छ र मुलुक स्थायित्व मार्फत समृद्धिको यात्रामा अगाडि बढेको छ । अव कसैले पनि संक्रमणकाल भनेर चुप लाग्ने अवस्था रहेन । जनताको आफ्नै शान्तिपूर्ण आन्दोलनमार्फत प्राप्त उपलब्धीलाई संस्थागत गर्दै भएको यो निर्वाचन मार्फत नै अव मुलुकले आर्थिक समृद्धिको यात्रा तय गरेको हो । यो यात्रालाई गन्तब्यमा पुराउने दायित्व निर्वाचित जनप्रतिनिधको काधमा आइपुगेको छ । यसलाई सफलतापूर्वक आर्थिक समृद्धिको मार्गमा पुराउन सवै जनप्रतिनिधि सफल हुन सकुन, निर्वाचित सवैलाई हार्दिक बधाई तथा शुभकामना ।
Previous Article२४ मंसिर २०७४ ढोरपाटन दैनिक
Next Article २०७४ मंसिर २४ गते आईतबारको राशिफल