पर्वत, ६ असोज – धौलागिरि अञ्चलका पर्वत लगायत बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला मध्ये पर्वतमा धेरै अपराध हुने गरेका छन् ।
हालै सार्वजनिक भएको तथ्याङ्कले पर्वतमा अन्य जिल्ला भन्दा बढी अपराधका घटना देखिएको हो । अञ्चल प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार पर्वतमा गत आर्थिक बर्ष २०७२/७३ मा १ सय ६८ विभिन्न घटना सम्बन्धि मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
जसमा १ सय ८ मुद्धा प्रहरीले फछ्र्यौट गरेको छ भने ६० मुद्धा चालु आर्थिक बर्षमा कार्बाहीका लागि लगत सरेर आएका छन् ।
उक्त मुद्धा उपर कार्बाही प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । त्यस्तै बागलुङमा १ सय ६० मुद्धा दर्ता भएकोमा १ सय ३ मुद्धा अघिल्लो बर्षमा नै फछ्र्यौट भएका छन् भने ५७ मुद्धा बाँकी रहेका छन् ।
म्याग्दी जिल्लामा दर्ता भएका १ सय २२ मुद्धा मध्ये ६८ मुद्धा फछ्र्यौट भएका छन् भने ५४ मुद्धा चालु बर्षमा कार्बाहीको प्रक्रियामा रहेका छन् । हिमालपारीको जिल्ला मुस्ताङमा समेत गत आर्थिक बर्षमा २० अपराधिक घटनाका मुद्धाहरु जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएको तथ्याङ्क रहेको छ ।
यसरी दर्ता भएपनि कार्बाहीको संख्या भने न्यून रहेको छ । दर्ता भएका मुद्धामध्ये ४ वटा मुद्धामा मात्रै प्रहरीले कार्बाही प्रक्रिया सम्पन्न गरेको छभने अन्य १६ मुद्धा चालु बर्षका लागि जिम्मेवारी थपिएको अञ्चल प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरिक्षक जितबहादुर कार्कीले जानकारी दिए ।
धौलागिरिका यी ४ जिल्लामा विशेषत सार्वजनिक अपराध, महिला हिंसाका घटनाहरु बढी रहेको अञ्चल प्रहरी कार्यालय बागलुङले जनाएको छ ।