बागलुङ नगरपालिका–११ रायडाँडाका ३० वर्षीय लक्ष्मण केसीलाई मंगलबार साँझ बुद्धचोकबाट पक्राउ गरेको हो । चुनाव विरोधी गतिविधिमा सहभागी भएको आशंकामा उनलाई पक्राउ गरिएको बागलुङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वसिंह थापाले जानकारी दिए ।
‘चुनाव विरोधी क्रियाकलापमा सहभागी भएको आशंकामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो,’ थापाले भने, ‘चुनावका बेला बम राख्ने पड्काउने जस्ता आपराधिक कार्य भएका छन्, यी घटनाबारे हामी अनुसन्धनमै छौँ ।’ थापाले थप कुरा अनुसन्धानपछि मात्र थाहा हुने बताए ।
केसीकी श्रीमती दिलमायाँ थापा क्षेत्रीले आफ्नो श्रीमानलाई प्रहरीले विनाकारण पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेकी छन् । उनले चुनावका बेला समेत आफ्ना श्रीमान गाउँमै रहेको बताईन् ।
यसैगरी, प्रहरीले मंसिर ८ गते आफ्नो घरमै बसिरहेको अवस्थामा बागलुङको कुँडुलेबाट मुरारी भनिने काशिनाथ पौडेललाई पक्राउ गरेर थुनामा राखेको छ । उनलाई पनि चुनाव विरोधि गतिविधिमा सहभागी भएको आशंकामा पक्राउ गरिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले बताए । उनी विरामी परेपछि उपचारका लागि सोमबार धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
पौडेलका आफन्तले भने उनी चुनाव विरोधि कुनै गतिविधिमा सहभागी नभएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । उनकी श्रीमती सिता पौडेलले बिरामी भएका कारण नियमित औषधि सेवन गरेर घरममा आराम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताईन । उनले आफ्नो श्रीमान निर्दोष रहेको भन्दै तत्काल रिहाईको लागि पहल गरिदिन मानव अधिकारकर्मीसँग आग्रह गरेकी छन् ।
प्रहरीले काँठेखोला गाउँपालिका तङ्ग्रामका नन्दराम थापा र काँठेखोलाकै वडा नम्बर–५ विहुँका राज जिएम विकलाई पनि पक्राउ गरि लामो समयदेखि थुनामा राखेको आफन्तले बताएका छन् । नागरिक समाज बागलुङका संयोजक अधिवक्ता काजिगाउँले श्रेष्ठले पार्टीमा आस्था राखेकै आधारमा कसैलाई पक्राउ गर्नु मानव अधिकारको उलङ्घन भएको बताए ।
नेपाल बार एसोसियसन बागलुङका पुर्व अध्यक्ष तथा मानव अधिकारकर्मी राम शर्माले सामान्य आशंकाको आधारमा विना प्रमाण कुनै पनि नागरिकलाई पक्राउ गरेर लामो समयसम्म थुनामा राख्नु गैरकानुनी कार्य भएको बताए । उनले स्वतन्त्र भएर बाँच्न पाउने मानिसको मानव अधिकार उलङ्घन भएको बताए।