काठमाडौं, १९ मंसिर – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ । त्यस्तै, प्राधिकरणले थर्मल पावर प्लान्टमार्फत ५३ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
निजी क्षेत्रबाट ४४१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । भारतबाट प्राधिकरणले ३११ मेगावाट विद्युत् आयात गरिरहेको विद्युत् उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले बताए ।
अहिले हिउँदको मौसममा करिब १२ सय ६० मेगावाट विद्युत्को माग रहेको छ भने आगामी वर्ष थप १० प्रतिशत माग बढ्ने प्राधिकरणको प्रक्षेपण छ । त्यस्तै, आगामी ३ वर्षभित्र बिजुलीको माग बढेर १६ सय मेगावाटभन्दा माथि पुग्ने प्राधिकरणको अनुमान रहेको छ ।
केही समयअघि मात्रै बुटवल पावर कम्पनी (बिपिसी)ले पाँच वर्षभित्र १००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ चीनका तीनवटा प्रतिष्ठित इन्भेस्टमेन्ट कम्पनीसँग लगानीको साझेदारी गरेको छ ।
बिपिसीभन्दा एक वर्षअघि नै व्यापारिक घराना दुगड ग्रुपले रामेछाप र ओखलढुंगाको सिमानामा बग्ने लिखु नदीमा अहिलेसम्मकै ठूलो लगानी गरेर एउटै नदी बेसिनमा आयोजना निर्माण अघि बढाएको छ । दुगड ग्रुपले लिखु नदीबाट एकैपटक एक सय ५९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आगामी सन् २०२२ सम्म निर्माण सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जोड्ने लक्ष्यका साथ काम गरिरहेको छ । उसले पाँच सय मेगावाटका आयोजना निर्माण गर्ने दीर्घकालीन घोषणासमेत गरेको छ ।
त्यस्तै, दूधकोसी सोलुखोलामा हाइड्रो भेन्चरले निर्माण गरिरहेको ८६ मेगावाटको आयोजना निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । लमजुङको दोर्दी खोलामा ५४, २७, २५ र १२ मेगावाट क्षमताका चारवटा आयोजना निर्माण भइरहेका छन् ।
यी लगायत हाल निजी क्षेत्रले प्रवद्र्धन गरिरहेका एक सय ५८ वटा आयोजनाबाट अबको चार वर्षभित्र करिब ३५ सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
Previous Articleस्थानीय सरकार अझै सक्रिय हुन सकेन-सचिव थपलिया
Next Article चुनावको मौकामा धौलागिरीमा नक्कली नोटको कारोवार