बागलुङ, १८ मंसिर– बर्षौदेखि अलपत्र रहेको बलेवा विमानस्थल चुनावको परिणाम आएपछि चल्ला त ? अहिले धेरैको जिज्ञासाको रुपमा रहेको छ । निर्वाचनका लागि मत माग्न जाने सबै नेताले बलेवा एयरपोर्ट चलाउने दाबी गरेका थिए । उनीहरुका विभिन्न एजेण्डामा अगाडि रहेको एयरपोर्टको एजेण्डा कार्यान्वयनमा भने कति नम्बरमा पर्ला हेर्न बाँकी छ । बागलुङ बजारबाट ८ किमी पार गरेर पुगिने भएपनि पोखरा बागलुङ राजमार्ग बनेपछि साँढे दुई दशकदेखि अलपत्र छ । यो बिमानस्थलको नारा लगाएर धेरै नेताहरु मन्त्री पनि भए ।
कति मन्त्रीहरु जहाज चढेर सेलीव्रेटी बन्न पनि आए । तारबारले घेरिएको बिमानस्थलमा गाई, गोरु चरिरहेको समयमा एयरपोर्ट छेवैमा चुनावी सभा गरेका सबै नेताले जहाज चलाउने बाचा भने गरेका छन् । जनताले आफै खनिखोस्रेर बनाएको यो बिमानस्थल बागलुङको गौरव कै रुपमा चिनिन्छ । तर त्यहाँसम्म पुग्ने सडक अभावले यो बिमानस्थलमा २०५० देखि बिमान देख्न नपाएको स्थानीय जीतबहदुर परियारले बताए । ‘गाउँले मिलेर श्रमदान गरेर यो बिमानस्थल बनाएका हौं’ परियारले भने, ‘यसपाली जसरी पनि चलाउने भनेका छन्, के हुन्छ हेर्न बाँकी छ ।’ २०५० मा पोखरा बागलुङ राजमार्ग कालोपत्रे भएपछि पोखरादेखि २ देखि साँढे २ घण्टामा बागलुङ आइपुग्न सकिने भएपछि यो बिमानस्थलमा जहाज आउन छाडेको थियो ।
यसअघि पर्यटन मन्त्री बनेका लोकेन्द्र बिष्टले सरकारी जहाज चढेर नियमित संचालन गरिदिने आश्वासन दिएका थिए । उनी फर्केको ५ बर्ष भैसकेपनि बलेवाबासीले अर्को जहाज आएको देख्न भने पाएका छैनन् । उतीबेला बलेवाबाट जहाज चढेर पोखरा, भैरहवा र काठमाण्डौ जाने व्यवस्था थियो । सदरमुकमदेखि कच्ची सडकले जोडिएको बिमानस्थल पुग्न लाग्ने समय र पोखरा जान बराबर हुने भएपछि जहाज आउन छाडेको हो । ‘बिरामी पर्दा, छिटो गन्तव्यमा पुग्नु पर्दा हवाई मैदानले निकै सहज भएको थियो’ बागलुङ नगरपालिका–१४ नारायणस्थानका वडा अध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘यो पटकको चुनावी नारा बनेकोले संचालन हुने धेरैमा आसा पलाएको छ ।’ राजनीतिक दलका उमेदवारले सडकको स्तरउन्तती गरेर सहज यात्रा बनाएपछि बिमानस्थल संचालन गर्ने बताएका छन् । यो क्षेत्रको निर्वाचनमा होमिएका कांग्रेसकी प्रतिनिधिसभा उमेदवार चम्पा खड्का र प्रदेशसभा उमेदवार प्रकाश शर्मा पैडेल तथा बाम गठबन्धनका प्रतिनिधिसभा उमेदवार डा. सूर्य पाठकले यो नारालाई बढीनै उठाएका छन् । उम्मेदवार प्रकाश शर्मा पौडेलको घर बिमानस्थल नजिकै छ ।
बलेवा घर भएका पाठकले पनि नेपाली जनता अब महंगो भएपनि शुल्क तिरेर जहाज चढेर यात्रा गर्ने भएकोले बिमानस्थल चलाउनै पर्ने बताउँछन् । ‘अब जनता धनी भैसकेका छन, हामीले पनि आर्थिक समृद्धिको कुरा गरिरहेका छौं’ पाठकले भने, ‘जहाज चलाएर अत्यावस्यक सेवादेखि आरामदायी यात्राको थालनी गर्नुपर्छ ।’ उनले बलेवालाई शिक्षा र स्वास्थ्य उपचारको गन्तव्य बनाउने पनि बाचा गरेका छन् । गत बर्ष १ करोड रुपैयाँ सरकारी बजेटमा बिमानस्थल ताराबार गर्ने काम भएको छ । यसअघि सडक यातायात समेत नभएकोले बाध्यता रहेको जहाज चढ्ने आवस्यकता अहिले बिकल्प र छिटो छरितोका लागि भएको उनले बताए ।
Previous Articleसडक विस्तारपछि सुन्तलाले बजार पायो
Next Article १८ मंसिर २०७४ ढोरपाटन दैनिक