राजेशचन्द्र राजभण्डारी
नेपालमा फेरि महिला हिंसाबिरुद्व १६ दिने अभियान शुरू भएको छ । हरेक वर्ष नारा फरक–फरक भएपनि देशमा महिला हिंसामा कमी भने आएको छैन । प्रत्येक बर्ष १६ दिनसम्म विभिन्न कार्यक्रम गरि सरकारी स्तरदेखि गैरसरकारी संघसंस्था र महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीले समेत मनाउने गरेका छन् । यसबर्ष भने १६ दिने अभियान अलिकति फितलो भएको छ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनले गर्दा महिला अधिकारको क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीहरू सबै राजनीति पार्टीको चुनावी अभियानमा लागेको छन् । जसको कारणले पनि १६ दिने अभियान ओझेलमा परेको हो । हामीले देशको राजधानीदेखि जिल्ला सदरमुकामहुँदै गाउँ–गाउँमा समेत प्रत्येक बर्ष १६ दिने अभियान चलाउने गरेपनि महिला हिंसाका घटना किन बढी रहेका छन् त गम्भीर प्रश्न यहीँ हो । साँच्चै भन्ने होभने १६ दिने अभियान पनि कर्मकाण्डे भन्दा बढी केही हुन सकेको भने छैन । अघिपछि चुपचाप बस्यो, जब बर्षको एकपटक १६ दिने अभियान आउँछ अनि महिला अधिकारकर्मिहरूलाई भ्याइनभ्याई हुन्छ । गाउँमा हुने गरेको घरेलु हिंसादेखि शहरमा हुने गरेका महिला हिंसाबारे ठूलो कुरा गरेर साध्य नै हुदैन । यहाँ कोही कोहीभन्दा कम छैनन् भाषण गर्ने सवालमा । तर पनि समाजमा हिंसा हुन भने छोडेको छैन । नेपालमा कानून नभएको भने हैन । प्रहरी प्रशासन पनि छ तर महिला हिंसा गर्नेलाई कानूनी कार्बाही गर्ने इच्छाशक्ति भने न त हिंसामा परेको महिलामा छ न त महिला अधिकारकर्मिमै छ । धेरै जस्तो घटना लेनदेन मै टुंगो लाग्ने गरेको कारणले पनि समस्या समाधान भन्दा नि समस्या झन् भन्दाझन् जटिल बन्दै गैरहेको छ ।
‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझै १६ दिने अभियान ओझेलमा परेको छ । हामी कहाँ आयातित कार्यक्रम, बिदेशीको दबाबमा हुने प्रभावमा हुने कार्यक्रमले पनि प्रभाव पारेको देखिन्छ । हामीले हाम्रो देशमा हुने घटना लाई आफ्नो तरिकाले समाधान गर्ने भन्दापनि बिदेशी दबाबमा रहेर बिषयबस्तु उठाउने गरेको छौ । बिदेशी दातृ राष्ट्रको मान्छेले नेपालको भलाई भन्दापनि आफुलाई अनुकूल हुने बिषमा खेल्ने र खेलाउने गरेको देखिन्छ । तरपनि हामीले चुपचाप त्यसलाई मानेर काम गर्छाै अनि कसरी यहाँ महिला हिंसा कम हुन्छ ? अबश्य पनि हुदैन । नेपालमा हुने महिला हिंसाका घटना ठाउँ परिबेश अनुसार फरक–फरक खालको देखिन्छ । अहिले जे–जति महिला हिंसाका घटनाको बारेमा खबर प्रकाशित प्रसारित भएका छन् त्यो त सामान्य मात्रै हुन् । जुन प्रशारणमा आए । यहाँ हजारौं महिला हिंसाका घटना छन् जुन बाहिर आएका छैनन् । बाहिर आएका घटना समेत धेरै मिलेमतोमा सकिने, लेनदेनमा गएर टुंगो लाग्ने हुने प्रहरी प्रशासनमा परेको उजुरी हेर्ने होभने घटनामा कमी आएको देखिन्छ । तर ब्यबहारिक रूपमा हेर्दा भने समस्या समाधान हैन जटिलता थपिएको छ ।
हुनतः यहाँ महिला अधिकारका कुरा धेरैले धेरै नै गरेको सुनिन्छ । महिला पछि परेको कुरा, हेपिएको कुरा, ठूलो पदमा नपुगेको कुरा बाहिर आउँछन् तर महिला अगाडि सरेमा सबैभन्दा बढी आलोचना र बिरोध पनि महिलाबाटै हुने गरेको सुनिन्छ । साँच्चै मतदान गर्ने अधिकार पनि अहिले महिलालाई बढी छ तरपनि महिलाहरू पनि राजनीतिबाट टाढा भने छैनन् । सबै यो वा त्यो नाममा बिभाजन भएका छन् । साझा सवालमा अहिले एकजुट भएको देखिएपनि भाबनात्मक रूपमा भने महिला एकजुट हुन सकेका छैनन् भन्ने कुरा सारा दुनियाँलाई थाहा भएको बिषय हो । नेपाल कै चर्चित घटनामध्ये बागलुङको रूपा गौतमको हत्या पनि एक हो । तर ३ बर्ष बितिसक्दा समेत प्रहरी प्रशासन घटनाको नजिक पुग्न सकेको देखिदैन । अहिले १६ दिने अभियानमा समेत रूपा घटनाबारे खासै चर्चा हुन छोडिसकेको छ । एकजना महिला तिजमा दर खाएर घर फर्केको बेला बीच सडकमा मुला काटेझै काटेर मारिन्छ तर प्रहरी प्रशासन अहिलेसम्म पनि हत्याको सुराक समेत पाउन सक्दैन । महिला अधिकारबादीले घटना घटेको केही समय केही चासो देखाए अहिले भने ओझेलमा परेको छ ।
साँच्चै भन्ने होभने यो घटना छिनोफानो नभएसम्म, रूपाको हत्यारा पत्ता नलागेसम्म अभियानलाई निरन्तरता दिन आबश्यक छ । हुनतः जिल्ला प्रहरीले काम गर्न नसकेपछि गत बर्षदेखि रूपा हत्या काण्डको फाइल काठमाडौ सिआइबीले हेरिरहेको छ तरपनि नतिजा भने जिरो नै छ । अहिले निर्वाचनको कारणले १६ दिने अभियानलाई नै प्रभावित बनाएको छ । अभियानभन्दा ठूलो अभियान प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अनि त्यसको नतिजा मै देश घुमिरहेको समयमा १६ दिने अभियान ओझेलमा परेको छभने रूपा काण्ड झन् ओझेलमा पर्नुलाई स्वभाबिक मान्नुपर्छ । साँच्चै अहिले देशमा गणतन्त्र स्थापना भएर पनि नेपाली जनताले त्यसको अनुभुती लिन सकेका छैनन् । साँच्चै समस्या एकातिर समाधान अर्काेतिर खोजेर पनि होला हामी हाम्रो गन्तव्यमा पुग्न नसकेको हो कि । अब भने सबै सचेत हुन जरुरी देखिन्छ । साँच्चै महिला अधिकार काजमा आएको छ, कानूनी रूपमा आएको छ । अब त्यसलाई ब्यबहारमा उतार्न पनि जरुरी छ । अहिले १६ दिने अभियान चलाउने कुरा आफ्नो ठाउँमा जायज भएपनि यसलाई सधै निरन्तरता दिन जरुरी छ । राजनीति अधिकार एक ठाउँमा छ त्यसलाई उपयोग गरेर जानुपर्छ । अहिले हुने गरेको घरेलुु हिंसाको न्युनिकरण गर्दै जानको लागि सबै महिला दिदीबहिनीहरू राजनीति भन्दा माथि उठ्न जरुरी छ । महिला हिंसा बिरुद्वको नारालाई सबैले अब ब्यबहारिक रूपमा हल गर्ने प्रतिबद्धता गरेमात्र ठिक हुनेछ ।