बानेश्वर, १२ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘नयाँ मान्छेहरु खेल सिक्न’ राजनीतिमा आएकोमा आफूलाई खुसी लागेको बताएका छन्। तर ‘खेल्नु र सिक्नु’ विल्कुल फरक कुरा भएको बानेश्वरमा आयोजित चुनावी सभामा ओलीले बताए।
‘केही नयाँ मान्छेहरु पनि राजनीतिमा आएका छन्, खुसी लागेको छ। खेलाडी मैदानमा खेलिरहेका बेला केटाकेटी छेउमा बसेर सिक्दै गर्छन्,’ ओलीले भने, ‘उहाँहरु सिकिरहनु भएको छ तर खेल खेल्नु र सिक्नु एउटै कुरा होइन।’ ‘मेस्सीले खेल्दै गरेको ठाउँमा कस्तो हुँदोरहेछ भकुण्डो हामी पनि छामीहेरौँ भन्नु र खेल्नु फरक हो,’ ओलीले थपे।
उनले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रतर्फ इशारा गर्दै भने, ‘राजनीति समाचार पढेजस्तो होइन। लेखेको समाचार खरर पढ्न त के छ र? राजनीतिमा त नलेखेको पढ्नुपर्छ, नजानेको लेख्नुपर्छ।’
कांग्रेसको अहिलेको नेतृत्व इमानदार नभएको आरोप पनि ओलीले लगाए। ‘अहिलेको कांग्रेसको नेतृत्व इमानसँग जम्काभेट नभएको नेतृत्व हो,’ ओलीले भने, ‘बिपी गणेशमानको पार्टी यस्तो कन्तबिजोग भएको हेर्न मन लाग्दैन।’ ‘आजको कांग्रेस अविश्वसनीय, भर पर्न नसकिने र पत्याउन नसकिने छ,’ ओलीले थपे, ‘आँसु बगाएर गणेशमानले कांग्रेस पतन भयो काम लाग्दैन भनेर छाड्नुभयो । कांग्रेस गतिलो भयो भनेर छाडेको हो र? दुख गरेर बनाइयो अहिले गतिलो भयो भनेर छाडेको होइन।’
कार्यक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई देशलाई माया गर्न सिक्न पनि सुझाव दिए। ‘म देउवाजीलाई सोध्न चाहन्छु, नेपाल एक राष्ट्र हो कि होइन? नेपाल बहुराष्ट्र हो ? बहुजाति बहुभाषा भन्नु र बहुराष्ट्र भन्नु एउटै हो?’ ओलीले भने, ‘देउवाजी देशलाई माया गर्न त सिक्नुस्। पहाड र तराई छुट्याउँछु भन्ने? आफ्ना स्वार्थका लागि इमान छाड्ने ?’
सोही कार्यक्रममा माओवादी नेता जनार्दन शर्माले आफूले अन्त्य गरेको लोडसेडिङ पुनः ब्युँताउने षड्यन्त्र भइरहेको बताए। ‘मैले सुरु गरेको लोडसेडिङको अन्त्यको सम्पूर्ण विकृति र विसंगतिको अध्याँरो हटाउने अभियान पनि थियो। देशका दलाल र हत्यारा पत्ता लगाउन मैले उज्यालो पठाएको थिएँ। कसैको इशारामा पुन लोससेडिङ ब्युताउने षड्यन्त्र भइरहेको छ,’ शर्माले भने।
कार्यक्रममा काठमाडौँ १ का उम्मेदवार अनिल शर्माले आफूलाई प्राप्त मत खेर जान नदिने र मतदाताको अपमान नगर्ने प्रण पनि गरे।