कृष्ण प्रसाद शर्मा
सशस्त्र युद्धको पृष्ठभूमीबाट राज्य सत्तामा आएका जिम्बावेका रोवट मुगावेले भर्खर आफ्नो ३७ बर्षको सत्ता यात्रा छोडे । त्यो पनि सैनिकले शासन हातमा नलिएको भए अझै छोड्ने मुडमा थिएनन् । ९३ बर्षको उमेर भईसक्दा पनि सत्ताको मोह भईरहेका मुगावे आफ्नो श्रीमतिलाई सत्ता सुम्पन चाहन्थे । गत हप्ता उनले राजिनामा दिएपछि राजधानी हरारेमा जनताले खुशीयाली मनाए । कतिपयले भन्दै थिए जिम्बावे पुन स्वतन्त्र भयो ।
दश बर्ष जेल जीवन बिताएका मुगावेले ३७ बर्ष चलाएको देशको हालत दयनीय छ । कुनै बेला अफ्रिकाको समृद्ध देशका रुपमा चिनिएको जिम्बावे अहिले कुन हालतमा छ तपाई आँफै देख्न सक्नु हुन्छ । अहिले देशको आफ्नै मुद्रा समेत छैन । कलकारखाना सबै बेचेर खाई सकेका छन् । सर्वहाराको प्रतिनिधित्व गर्न भनेर गोरा जातीको जग्गा कब्जा गरे । त्यो जग्गा गरीबका लागी होईन आँफैले राखे ।
आफ्ना परिवार, नातेदार र निकटका मान्छेहरूलाई बाँढी दिए । यो माथीका हरफ बढ्दा पक्कै पनि तपाईको मनमा पनि नेपालका केही पार्टि र व्यक्तिहरूको याद आए होला । लामो समय शासन गर्दैमा विकास हुने भए जिम्बावेको यो हालत हुने थिएन । लामो समय शासनमा बस्दा बिकास गर्न सकिन्छ तर लोभलालच नभई देशको लागी सर्मपण भए मलेसियाका महाथीर मोहमदले, दक्षिण कोरियाका मार्क टिमले र सिङगापुरका लि वानले जस्ता देखाउन सकिन्छ तर त्यो भन्दा बढी शासन गरेका जिम्बावेको यो दर्दनाक हालत भयो । नेपालमा शासन व्यवस्थाका लागी जेल जीवन विताएका घेरै नेताहरु छन् । व्यवस्था पटक–पटक परिवर्तन भयो तर जनताको अवस्था भने परिवर्तन हुन सकेन ।
बा को जवानी भारतको गल्लीले खायो, छोराको जवानी खाडीको मरुभुमीले खाँदैछ भने अझै अर्को पुस्ताले नेपालमै काम गरी खाने वातावरण हुन्छ भन्नेमा ढुक्क छैन । अधिकांश नेताहरूको बायोडाटा हेर्दा जेल जीवन लामो देखिन्छ । उनीहरूले लडेका त्यो संघर्षलाई सम्मान गरौं तर जुन संघर्ष उनीहरूले गरे त्यो अनुसार हामीले विकास पाउन सकेनौं । हामी हरेक केही बर्षमा एउटा हल्ला चलाउँछौं , यो ब्यवस्थाले गर्दा विकास भएन लौ बलिदानी गरौं भनेर । जनताले यो मानेर हरेक पटक आन्दोलनमा होमिए आँफु र आफ्ना गुमाए तर आज सम्म कसले के पायो त्यसको जवाफ अझै कसैसँग छैन । संविधान सभा सपना थियो भनियो जनताले पुरा गरिदिए तर अझै स्पष्ट विकासमा कतै संकेत छैन । कुनै एउटा पार्टिलाई मात्रै दोष नदिईकन एकपटक आँफुले भोट हाल्ने पार्टिमा हेनुस् एक सय एक मुगावेहरू छन् । कुनै बेला कोकाकोला खाँदा पार्टिमा स्पष्टिकरण दिनु पर्ने व्यक्ति तथा पार्टिहरू आज देशमा ठुला ठुला डिस्टिलरीका मालिक भएका छन् । एमालेका मोदनाथ प्रसिदले बनाएको घरको कुनै बेला खुव चर्चा भयो । उनलाई कम्युनिष्टका नाममा कलंकै भने उनको सम्पत्ति मोह भयो भने तर आज त्यो बेला जो जसले बिरोध गरे उनीहरूका घर हेर्दा मोदनाथको घर ग्यारेज भन्दा फरक पदैन ।
लामो समय सत्तामा बसेका व्यक्तिहरूको जिल्ला हेनुस् आज पनि कति दयनीय छ । तराईमा करीब ६० प्रतिशत महिलाहरू निरक्षर रहेछन् अनि बैदेशिक रोजगारमा सबै भन्दा बढी बाहिरिएका जिल्ला हेनुस् तिनै धनुषा सुनसरी जस्ता पर्दछन् । पटक–पटक सत्तामा पुगेका नेपाली मुगावेहरूको जीवन शैली हेनुस् अनि जनतालाई हेर्नुस् । कुनै बेला बख्खु चप्पल लगाएर संसद छिरेकाहरू आज कहाँ पुगेका छन् । आफ्नै महल हुँदा–हुँदै राज्यको कोषमा आँखा लगाएर बस्ने कति छन् । अहिले चुनाव मै हेर्नुस् त हरेक दिन हेलिकप्टर चढेर चुनाव प्रचारमा कति खर्च लाग्छ तर कसरी पुगेको छ । नेपालका मुगावे भन्नुको थप पुष्टी के होभने अहिले चुनावमा समानुपातिक र प्रत्यक्षमा रहेका नामहरू नियाल्नुस् । करीब २१ जोडी त प्रत्यक्ष र समानुपातिकमा छन् । संधै राजनितिमा होमिएकाहरू सँग यो गुनासो छैन तर आफ्नो नाता भएकै कारण टिकट पाएका हुन अधिकांशले । यो बाहेक नाता कतै छोरा, कतै सम्धी कतै साला आदी ईत्यादी । हो मुगावेको पनि ठ्याक्कै यहि चाल थियो की सम्पतिदेखी पार्टि र पदमा आफ्नै वरपरकाले धेरिएका थिए । सर्वहाराको निम्ती उनी जेल जीवन पनि विताए तर आफ्नौ ८५ औं जन्म दिन मनाउन २ लाख पचास हजार डलर खर्च गरेका थिए । यो स्थिति नेपालमा पनि छ अहिले ।
खानी र सम्पदाले भरीपुणकक जिम्वावे अहिले टारमा परिणत भएको छ । स्वाभलम्वी देश थियो । आफ्नै कलकारखाना थिए तर अहिले सबै खण्डहरमा परिणत भएका छन् । यो परिस्थित हाम्रो सँग धेरै मिल्छ । अमेरिकन आर्थिक मोडेल हाम्रो देशमा परिक्षणका रुपमा प्रयोग गरियो जसका कारण आज करीब ४ दर्जन हाम्रा कलकारखाना सबै टाट पल्टे । ब्यक्ति मोटाउँदै गए देश दुब्लाउँदै । तिब्बतले, कोरियाले हाम्रो देशबाट सामान लान्थ्यो भनेर यहाँ लेखि राख्दा अधिकांशलाई पत्यार नलाग्न सक्छ तर सत्य यहि हो । यो सब नेपालमा बढ्दो मुगावेकरणले सखाप पारेको हो । हामी आज पनि ठुला–ठुला अक्षरमा लेख्छौं की बेलायतले हामीलाई छुन सकेन । हो हामी सार्वभौम भईरहौं तर परनिर्भरताले पछाई रहेको छ । हामी स्वतन्त्र छौ तर हाम्रा हालत स्वतन्त्र छैन । हामीले देश सानो र आँफै दुःख पाए पनि भुटानका शरणार्थी पाली रहेका छौ अधिकांश अमेरिका पुगी सके अझै छन् यसको तात्पर्य हामीमा अरूको दुःख देख्ने र साथ दिने गर्दछौं तर अब देश भित्रकै मुगावेका कारण कति शरणार्थी छैन भएका छन् । भुमीहीन र सुकुम्बासीको समस्या आजको होईन । हरेक बर्ष आईरहने निश्चित प्राकृतिक विपद आजको होईन तर यसमा हाम्रा मुगावेहरू कहिलै चिन्तित बनेनन् । कांग्रेस कम्युनिष्ट यी दुबैको अन्तिम बिन्दु समाजबाद हो तर अहिले समाजबादमा पुग्ने लक्षण भएको भए देशमा धेरै सरकारी र थोरै निजी स्वास्थ र शिक्षण संस्थाहरू हुन्थे तर अधिकांश सत्तामा पुगेकाहरू आफ्नै परिवादबाद, नाताबाद, चापलुसीमा सिमित छन् । मुगावेले केही अघीसम्म भन्दै थिए “मलाई भगवानले रोके मात्र हो नत्र फेरी नेतृत्व लिन्छु’’भनेर । यता नेपालमा पनि मुगावेहरू भन्दैछन् । हामीलाई कसैले रोक्न सक्दैन । आशा छ, अबका नेतत्वमा सबै पार्टि भित्रैका केही मुगावेहरूलाई जनताले भोट मार्फत आजीवन थन्काई दिनेछन् । त्यो भयो भने कसैले यो दम्भ राख्ने थिएन । देश सक्ने, आँफु बन्ने यो प्रवृतीको अन्त्य होस् । नेपाली मुगावेको अन्त्यको ईतिहास बनोस् ।