काठमाडौं, ९ मंसिर – पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार (मंसिर १० गते) विहान ७ बजेदेखि मतदान हुँदैछ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शुक्रवारदेखि मतदाता वितरण पनि शुरु गरेको छ । मतदाताहरुले शनिवार अपराह्नसम्म मतदाता परिचयपत्र लिन सक्नेछन् । मतदाता परिचयपत्र लिन जाने मतदातालाई आयोगको टोलीले मतदान केन्द्रमै मतदान गर्ने तरिका पनि सिकाइरहेको छ ।
मतदाता शिक्षा प्रदान गर्न यस पटकको निर्वाचन हुने धेरै ठाउँमा निर्वाचन आयोगको टोली घर घरमा पुग्न सकेको छैन । जसकारण धेरै मतदाताले मत हाल्ने सही तरिका थाहा पाएका छैनन् । यद्यपी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाले भने मतदाता शिक्षालाई प्रभावकारी बनाइएको दावी गर्छन् । मतसङ्केत गर्ने (मत हाल्ने) विधि सिकाउनेदेखि अन्य प्राविधिक कुराको जानकारी दिन मतदाता शिक्षा कार्यकर्ता सबैतिर खटाइएको उनले बताए ।
मत हाल्ने सही तरिका :
यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन प्रकारका मतपत्र छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टा–छुट्टै रङका मतपत्र छन् । प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ । हरियो रङको मतपत्रमा हरियो रङका चुनाव चिह्न छन् । मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ । एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ ।
प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ । कालो रङको मतपत्रमा कालो रङकै चुनाव चिह्न छन् । मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ । समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन् । सेतो रङको पानामा चुनाव चिह्न रातो रङका हुनेछन् । मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन् । मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिनुपर्नेछ । तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ । उक्त भागमा पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन् । एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ ।
यस्तो गरे मत बदर हुन्छ :
मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ । यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर स्वस्तिक छाप लगाएमा पनि मत बदर हुन्छ । मत हाल्दा गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ ।
यस्तै मतदान अधिकृतको हस्ताक्षर (सही) नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ । तपाईं (मतदाता) ले यो पटक तीनवटा मतपत्रको चार ठाउँमा आफूले रोजेको उम्मेदवार वा दलको चुनाव चिह्नमा मत दिन पाउनु हुनेछ ।
तपाईंले दिने मत अमूल्य हुन्छ । आफूले दिएको मत बदर नहोस् भनेर हेक्का राख्नु पनि हरेक मतदाताको जिम्मेवारी हुन्छ ।
मंसिर १० गते निम्नलिखित जिल्लामा मतदान हुँदैछ, आफ्नो निर्वाचन क्षेत्रमा कस्तो मतपत्र छ र कुन–कुन दलको चुनाव चिह्न छ भनेर जान्न जिल्लाको नाममा क्लिक गर्नुहोस् ।
प्रदेश नं. १
सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ
प्रदेश नं. ३
नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप
प्रदेश नं. ४
मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा
प्रदेश नं. ५
रूकुम (पूर्वी भाग)
रोल्पा
प्रदेश नं. ६
रूकुम (पश्चिम भाग)
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा
प्रदेश नं. ७
दार्चुला
बझाङ
बाजुरा
वैतडी
मतदान गर्ने सही तरिका अझै जान्नुभएन ? भिडियो हेर्नुहोस्,