काठमाडौं, ८ मंसिर – नेकपा एमाले अध्यक्ष केपी ओलीले संयुक्त वाम गठवन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कैलाली–५ की कांग्रेस उम्मेदवार आरजु राणा (देउवा)को चर्को आलोचना गरेका छन् । एक झोला पैसाले घर किन्दैमा आरजु धनगढीको स्थानीय नहुने ओलीको भनाइ थियो ।
‘केही मान्छेले काठमाडौंबाट पैसाको थैलो बोकेर मत यहीँको भएँ भन्नलाई घर घरेडी किनेका छन्,’ शुक्रवार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एक झोला पैसाले घर किन्दैमा यहाँको भइन्छ र ?’ प्रधानमन्त्री देउवा पत्नी आरजुप्रति व्यंग गर्दै ओलीले भने, ‘धन्न हो कांग्रेसको लोकतन्त्र ! माथितिर श्रीमान् अलि तल श्रीमती । छोरा अलि सानो छन्, नत्र उनीपनि उम्मेदवार हुन्थे ।’
कैलाली ५ का वामगठवन्धनका उम्मेदवार नारदमुनी रानाको पक्षमा भोट माग्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका सन्तानले भन्दा यहाँका थारुले जित्नु आवश्यक रहेको बताए ।
एमाले अध्यक्ष ओलीले श्रीमतीलाई जिताउनकै लागि प्रधानमन्त्रीले प्रहरी अधिकारीदेखि सीडिओहरु फेरिरहेको अाराेप लगाए । ‘सरकारी कर्मचारी दुई दिने सरकारका नोकर होइनन्,’ ओलीले भने, ‘सबैको भूमिका निश्पक्ष हुनुपर्छ । एकाध मान्छेको सेवामा इमान छोड्न र कानुन तोड्न काम गर्नु हुँदैन ।’ सरकारले चुनावमा धाँदली गर्ने योजना बनाएको भन्दै आफूले त्यस्तो हुन नदिने दावी गरे । मतपत्रको बाकस आफूहरुको आँखाबाट आझेल पर्न नदिने बताए ।
धनगढी पुगेका ओलीले आरजुलाई भने, ‘एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्न’
Previous Articleभूपू गोर्खाका सन्तानलाई बेलायत आउन अदालतको भर
Next Article एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित