नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेल सुनिल पहिलो पटक गृह जिल्ला बागलुङबाट चुनावी प्रतिष्पर्धामा छन् । नेकपा एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चाको गठवन्धने कांग्रेसलाई परास्त गर्ने दाबी पौडेलको छ । प्रस्तुत छ पौडेलसंग गरिएको कुराकानी :
पहिलो पटक गृहजिल्लाबाट चुनाव लड्दै हुनुहुन्छ, चुनाव जित्न कतिको सहज ठान्नु भएको छ ?
खासगरी तीनवटा पार्टीहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्टिय जनमोर्चा एउटै गठबन्धनबाट चुनाव लडेका कारण हामीलाई चुनाव जित्न सहज छ । अलग अलग ढंगले चुनाव लडेको भए कांग्रेसको गढ जस्तो मानिथ्यो होला । हामी तीन पार्टी मिलेको, कार्यकर्तामा उत्साह भरिएको र देशभरि पनि वामपन्थीहरुको बाहुल्यता रहेका कारणले जनतामा एक किसिमको भावना पैदा भएकोले चुनाव जित्ने कुरालाई सहज रुपमा ग्रहण गरेको छु ।
मतदाताहरु राजनीति दल र नेताहरुप्रति आक्रोसित भएको पाइन्छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताहरु उत्साहित देखिएका छन् । हामीले जति ठाउँमा कार्यक्रम गर्यौं, मतदाताको उत्साहप्रद सहभागित रह्यो । हामी घरदैलो र सभामा छौं । सबैतिर बुझ्दाखेरि यो क्षेत्रको राज्यसंगको प्रतिनिधित्व र पहुँच संगसंगै विकासका कुरा जोडेर ल्याउनुस् भनेर सबैतिर अत्यन्त सद्भाव भएको मैले पाएँ ।
तपार्इंले चुनावको मुख्य एजेण्डा के बनाउनु भएको छ ?
मध्यपहाडी लोकमार्ग पनि यही क्षेत्रमा परेको हुँदा यसलाई स्तरीय बनाउने । बुर्तिवाङ, खर्वाङ र हटिया बजारलाई व्यापारीक केन्द्रको रुपमा र भोलि सुविधा सम्पन्न शहरको रुपमा विकसित गर्ने र यी ठाउँहरुमा स्वास्थ्य चौकी र अस्पताल निर्माण, पर्यटकीय क्षेत्रहरुको विस्तार, कृषि र जलविद्युत विकास, विस्तार लगायत सालझण्डी ढोरपाटन बाटोलाई स्तरउन्नती गर्ने अनि साखा बाटाहरु पुराएर यो क्षेत्रमा सामाजिक विकासका कामहरु बढाउने गरी हामीले लक्ष बनाएका छौं ।
तपाईले अघि सारेका विकास निर्माणका कुरा त तपाइँका प्रतिष्पर्धीले पनि भनिरहेका छन्, जनताले तपाईँलाई नै किन भोट दिने ?
प्रतिष्पर्धीले भनेपनि वामपन्थीको सरकार बन्ने कुरा निश्चित छ । भोलि प्रतिपक्षमा बस्नेले धेरै काम गर्न सक्ने सम्भावना नभएकोले मतदाताले हामीलाई विश्वास गरेका छन् । मेरो प्रतिष्पर्धामा रहेका साथीलाई साथमा लिएर यस क्षेत्रको विकासको काम गर्ने हो ।
कांग्रेस उम्मेदवारलाई कम आक्नु भएको त होइन ?
हामी भण्डै दश हजार मतले अगाडि भएको आंकडा आउँछ । २०७० को संविधानसभा चुनाव र हालैको स्थानीय चुनावका मतदाताको संरक्षण गरियो भनेमात्रै पनि हाम्रो उल्लेख्य मत आउने कुरा प्रष्ट छ । विपक्षीहरुपनि आफ्नो कार्यक्रममा सक्रिय भएर आएको हुँदा उहाँको सक्रियतालाई सम्मान गर्छौं तर उहाँहरुले जित्ने र अप्ठेरो पार्ने सम्भावना मैले देखेको छैन ।
कांग्रेस नेताहरु तीन दल मिलेपनि आफ्नो गढ ढाल्न नसक्ने बताइरहेका छन नि !
यसपटक बाग्लुङमा वामपन्थी उदाउँदैछन् । वामपन्थी जनमतका पक्षधरहरुपनि अत्यन्तै खुसी छन् । कतिपय कांग्रेस बृत्तभित्रपनि भोलि वामपन्थीको सरकार बन्ने भएकोले हामीहरुलाई सहयोग गर्न तत्पर देखिएका छन् ।