बिजय राना
चुनाव आउन अब ३ दिन मात्र बाँकी छ । अहिले सम्मका खास प्रचार–प्रसार प्रतक्ष रुपमा मतदाता सँग भए । ति सबै देखिने रुपमा भइरहेका छन् । घरदैलो, कोणसभा, आमसभा लगायतका विभिन्न क्रियाकलापहरु देखिने गरि भइरहेका छन् । आफ्नो दल, उमेदवार तथा कार्यकर्ताले गरेका यस्ता क्रियाकलाप देखाउन पनि चाहिरहेका छन् । प्रचार तथा प्रसारले आम समुदायमा सकरात्मक छाप पार्छ त्यसैले पनि दल तथा उमेदवारहरु यही गर्न चाहान्छन् ।
तर अब समय विस्तारै परिवर्तन भइसकेकोे छ । आज सम्म जे जति क्रियाकलापहरु भए ति देखिने गरि भए तर अब उप्रान्त नदेखिने गरि हुँदैछन्, त्यसमा कसैको दुइमत छैन । खास गरि नदेखिने गरि विभिन्न क्रियाकलापहरु ‘शुन्य’ समयमा हुन्छन् त्यही जोखानामा छन् दलहरु । विशेष गरि यो शुन्य समयलाई ‘खेलको समय’ भनेर पनि बुझिन्छ । यस समयमा दल तथा उमेदवारले प्रतक्ष रुपमा देखिने गरि खेल्दैनन् तर नदेखिने गरि थुप्रै खेल खेलिन्छ । त्यसैले पनि शुन्य समय एक ‘खेल’को समय पनि हो ।
बागलुङमा विशेष गरि दुई शक्तिहरु मुख्य प्रतिस्पर्धी हुन् । बाम गठबन्धन र नेपाली कांग्रेस । उनीहरु संग शुन्य समयमा खेल्ने ‘खेल’का जोखानाहरु आ–आफ्नै छन् । शुन्य समयमा रणनितिहरु पनि फरक–फरक बनिरहेका छन् । त्यस मध्ये केही खेल्ने सम्भावनायुक्त खेलहरु यस्ता छन् ।
बाम गठबन्धनबाट नेपाली कांग्रेस अहिले ज्यादा नै त्रसित छ । विशेष गरि जिल्लामा राम्रो पहिचान भएका ३ वटा कम्युनिष्ट पार्टीहरु नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र संयुक्त रुपमा मिलेर आफ्नो प्रतिस्पर्धी बनेका कारण चुनाव जित्न फलामको चिउरा चपाउनु सरह नै छ । त्यही पनि उसमा आशा के छ भने पैसाले केही मत तल माथि पार्न सकिन्छ कि भन्ने छ । चेतना स्तर कमजोर भएको ठाउँमा पैसाले मत प्रभावित हुन पनि सक्छन् । रक्सि र मासुमा बिक्नेहरुको जमात बढिरहेको समयमा त्यो नहोला भन्न पनि सकिँदैन । त्यही दाउमा देखिन्छ काग्रेस ।
झिनो आशाका साथ कांग्रेसको ध्यान पैसा बाँड्नमा केन्द्रित भइरहेको बेला बाम गठबन्धन भने त्यो रोक्ने प्रयत्नमा छ । विगतका निर्वाचनका अनुभवलाई हेर्दा पैसा बाँडिएका कारण केही मत प्रभावित भएकाले पनि यस बारेमा अहिले बाम गठबन्धन सचेत भएको पाइन्छ । बामहरु मिलेर गएको कारण पनि उनीहरुमा फरक ढंगको उत्साहका साथ यसमा प्रयत्न गरिरहेको पाइन्छ । पैसाको आधारमा मत किनबेच गर्नु पनि निर्वाचन आचार संहिता विपरित भएकाले त्यसलाई रोक्नको लागि बाम गठबन्धन लागिरहेको केहि नेताहरुको भनाइ छ । कतिपय ठाउँमा गठबन्धनले त्यस्ता क्रियाकलाप रोक्नको लागि युवा दस्ता नै गठन गरेको बताईएको छ । किनबेच हुने सम्भावित ठाउँहरुमा मोवाईल टिम खडा गरेर बस्नुले शुन्य समयमा हुने ‘नदेखिने खेल’ रोक्नको लागि बाम गठन सचेत देखिन्छ ।
नेपाली कांग्रेसको अर्को प्रयत्न बाम गठबन्धन भित्र खेल्ने प्रयत्न हुँदैछ । विशेष गरि अहिले नेपाली कांग्रेस बाम गठबन्धन भित्रका केही असन्तुष्ट पक्ष खोज्दै हिँडेको पनि पाउन सक्छौँ । असन्तुष्टलाई आफुहरुले सन्तुष्ट पार्न सकेको खण्डमा चुनाव आफ्नो हातमा पार्न सकिन्छ कि भन्ने दाउमा पनि ऊ छ । त्यसबाहेक कांग्रेस अँझ पनि बाम गठबन्धनमा चर्को खेल्ने प्रयत्न गर्दैछ । एमाले सँग जाँदा माओवादी केन्द्र र जनमोर्चाको बिरोध गरेर एमालेको समर्थन गर्ने, माओवादी संग भेट्दा एमाले र जनमोर्चाको विश्वास छैन भन्ने र जनमोर्चा संग भेट्दा माओवादी र एमालेको विश्वास छैन भनि ‘विश्वास’मा खेल्ने प्रयत्न गर्दैछ । तिनवटा संगठनहरु बिच अविश्वासको वातावरण पैदा गरे पनि केही हद सम्म फाइदा ल्याउन सक्ने कांग्रेसको निष्कर्ष छ । उनीहरुको त्यो जोखाना सायद बामहरुले बुझिसकेका छन् । त्यही कारण बाम गठबन्धनको आन्तरिक तयारी पनि विगतको तुलनामा अहिले राम्रो पाउन सकिन्छ ।
त्यस बाहेक अन्य घट्नाहरु पनि यही शुन्य समयमा नै ज्यादा हुने गर्दछन् । प्रतिस्पधिदलहरु बिच एकअर्काका मतदातालाई त्रासमा पार्ने, मतहाल्न जाने वातावरण नबनाउने यस्ता क्रियाकलाप पनि हुने गर्दछन् । विगतका घट्नालाई हेर्दा आफ्नो शक्तिले पुगेको ठाउँमा कांग्रेस÷बाम दुवैले गराएका छन् । त्यो पनि दलहरुको आन्तरिक तयारी हुन सक्छन् । यसबाहेक प्युठान, पर्वत, गुल्मी जिल्लामा मंसिर २१ गते मात्र निर्वाचन हुने भएकाले त्यस क्षेत्रका मानिसहरु बागलुङमा ल्याइने तयारी हुँदैछ भन्ने पनि छ । यदि त्यसो भयो भने जिल्लामा अन्य अप्रिय घट्ना नहोला भन्न पनि सकिदैन । सबै सचेत बन्नु जरुरी छ ।
अहिले सम्मको अवस्थालाई हेर्दा कांग्र्रेस आफ्नै शक्तिले बागलुङमा चुनाव जित्छ भन्ने अत्यन्त न्युन सम्भावना छ । उसका नारा, संगठन प्रचार सैली सबैमा करिब पराजय भोगि सकेको छ । यदि शुन्य समयमा हुने पैसाका चलखेल बाम गठबन्धनले साँच्चिकै रोक्न सक्यो भने जित त निश्चितनै हुनेछ । पैसाले मत किन्न सकिन्छ भन्ने विश्वास भएकाहरुको लागि ठूलो झापड समेत हुनेछ । आशा छ शुन्य समयमा हुने यस्ता सबै ‘नदेखिने खेलहरु’ रोकिनेछन् । रोक्ने प्रयत्न गरिनेछ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको लागि कांग्रेस÷बामहरु स्वयम आफैले संयमता अपनाउनेछन् ।