बागलुङ, ५ मंसिर – जिल्लामा आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङले व्यवस्थापकीय कामको तयारी अन्तिमचरणमा पुगेको जनाएको छ । बुधबारसम्म जिल्लाबाट गर्नुपर्ने तयारी सकिने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताए । ‘अब काम मतदान केन्द्रतिर सर्दैछ, हाम्रो तयारी अन्तिममा पुगेको छ’ उनले भने । कर्मचारीलाई तालिम दिनेदेखि सामाग्री व्यवस्थापनको काम सकिएको उनको भनाइ छ । मतदान अधिकृत सहित १५ सय ९२ कर्मचारी जिल्लाभर खटाइएको छ । यस्तै, मतदान केन्द्रमा पठाउने सामाग्री तयारी अवस्थामा राखिएको छ ।
शनिबार र आइतबार गरि ४ सय २० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । उनीहरुलाई निर्वाचन सामाग्री बुझाएर मतदान केन्द्रमा पठाउने काम मात्र बाँकी छ । प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, ४ जना सहायक कर्मचारी र २ जना कार्यालय सहयोगी गरि ८ जना कर्मचारी खटिनेछन् । यस्तै, ४ जना स्वयंसेवक भने मतदान अधिकृतले स्थानीय स्तरमै नियुक्त गर्ने व्यवस्था गरिएको छ । कर्मचारी बाहेक सुरक्षाकर्मीको परिचालन भने मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर सुरक्षा निकायले गर्नेछ ।
जिल्लामा कर्मचारी अभाव भएपछि शिक्षकलाई समेत चुनावमा खटाइएको छ । ‘अधिकृत स्तरको कर्मचारी नपुगेपछि मावि तहको शिक्षकलाई मतदान अधिकृतको रुपमा खटाएका छौं’ अधिकारी शर्माले भन्नुभयो । जिल्लामा रहेका १ सय ९९ मतदान केन्द्रमा १ सय ९९ जनै मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । व्यवस्थापनमा जिल्ला निर्वाचन कार्यालयले सघाएपनि जनशक्ति परिचालनदेखि निर्वाचन सञ्चालनको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ । कुल १ सय ३ मतदानस्थल रहेको बागलुङमा १ सय ९९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा कल १ लाख ६८ हजार ३ सय ४९ मतदाता छन् । चुनावमा भाग लिने राजनीतिक दलहरु पनि आफ्नो तयारीमा व्यस्त छन् । आफ्नो पक्षमा जनमत बढाउन उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । चुनावको मिति आउन एक साता मात्र बाँकी रहँदा जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई पनि चुस्त पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
Previous Article२०७४ मंसिर ५ गते मंगलबारको राशिफल
Next Article ५ मंसिर २०७४, ढोरपाटन दैनिक