बागलुङ, ४ मंसिर– मंसिर १० को निर्वाचन नजिक आइरहेको समयमा यहाँका जनताहरु चलायमान परिणाम बारे चासो राख्न थालेका छन् । पटक पटक चुनाव लड्नेहरु नभएको, पटक पटक जित्ने पनि नभएको जिल्लामा बागलुङ गनिएपछि मतदातामा यस्तो चासो बढ्नु स्वभाविक हो । बागलुङमा बढीमा २ पटक सम्म चुनाव लड्ने पनि एकादुइ मात्र छन् । प्रजातन्त्र प्राप्ती पछिका ५ वटा संसदीय निर्वाचन पनि बागलुङका जनताले एउटै व्यक्तिलाई लगातार जिताएको उदाहरण कम छ । अघिल्ला ४ वटा निर्वाचनमा ३ वटा क्षेत्रबाट १२ जना नेताहरु निर्वाचित भएर गएका थिए । ती मध्ये सबैभन्दा धेरै नेकपा मसाल र उसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले हात पारेको छ । बागलुङबाट मोर्चा अध्यक्ष चित्रबहादुर केसीले दुइपटक र परि थापाले २ पटक जितेका हुन् ।
कांग्रेसको तर्फबाट २०४८ सालमा क्षेत्र नं. १ बाट गोविन्द कंडेल र क्षेत्र नं. २ बाट मिनबहादुर केसीले जितेका थिए । कांग्रेसलाई सहयोग गरेपनि स्वतन्त्र उठेका ओमकारप्रसाद गौचन क्षेत्र नं. ३ मा बिजयी थिए । २०५१ मा तीनवटा क्षेत्र तीन दलको भागमा प¥यो । क्षेत्र नं. १ मा एमालेका गोविन्द अधिकारी, क्षेत्र नं. २ मा कांग्रेसका मिनबहादुर केसी र क्षेत्र नं. ३ मा मसालकै परि थापाले जितेका थिए । २०५६ मा क्षेत्र नं. १ मा कांग्रेसका टंक कंडेल, दुइमा चित्रबहादुर र ३ मा परि थापानै बिजयी भए । पहिलो संविधानसभामा आईपुग्दा क्षेत्र नं. १ पुन एमालेले हात पा¥यो । एमालेका रामजीप्रसाद शर्माले जितेर राज्यमन्त्री सम्म बन्ने अवसर पाए । क्षेत्र नं. २ मा राजमोकै केसी बिजयी भए । क्षेत्र नं. ३ मा कांग्रेसका निरज पुन अगाडि आए । ४ वटा निर्वाचन सम्म एमालेले बागलुङको क्षेत्र नं. २ मा आफ्नो उमेदवार उठाएको थिएन । उसले राजमोलाई सघाउने र क्षेत्र नं. १ मा राजमोको साथ लिएर निर्वाचन जित्दै आएको थियो । २०७० मा भने कांग्रेस, एमाले, माओवादी र राजमो सबैले आफ्ना अफ्ना उमेदवार उठाए । त्यसको फाईदा कांग्रेसलाई पुग्यो । ३ वटै क्षेत्रमा कांग्रेसका उमेदवार बिजयी भए । अहिले भने बाम गठबन्धन एक भएर लडेका छन् । उनीहरुले २ वटा संघ र ४ प्रदेश गरी ६ स्थानमा दुई÷दुई क्षेत्र बाँडेका छन् ।
गठबन्धनले यसपटक कम्युनिष्टको बिरासत फर्काउने दावी गरेका छन् । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने चित्रबहादुर, परि थापा देखि माओवादीका दिननाथ शर्मा, देवेन्द्र पौडेल र मसालकै रामसिंह श्रीष समेत बागलुङका हुन् । उनीहरुको संयुक्त मोर्चा कांग्रेस विरुद्ध चुनावमा छ । यस अघिका अधिकांस मत चलायमान भउकोले यो पटक कसले बाजी मार्ला भन्ने आकलन गर्न कठिन छ । ‘सबै बाम एकै ठाम भएकोले अरुको अव संभावना छैन’ एमाले अध्यक्ष इन्द्रलाल सापकोटाले भने, ‘बागलुङ कम्युनिष्टहरुको किल्ला हो, अव त्यो हामी देखाउँछौं ।’ उता कांग्रेसका नेताहरु सबै बामलाई एकैपटक पराजित गर्ने अवसर आएको दावी गर्छन् । ‘बहुदलीय पद्दती र बहुलवादी चरित्रको संरक्षण तथा बिकास निर्माणमा अगुवाई हाम्रो एजेण्डा हो’ कांग्रेस सभापति दिपेन्द्र बहादुर थापाले भने, ‘चलायमान मतलाई अव दिगो रुपमा कांग्रेसमा अडिग बनाउने प्रयासमा छौं ।’ बिकास, शान्ति र समृद्धिमा अगुवाई गरेमा बागलुङेमत अरुलै लैजान नसक्ने उनले दावी समेत गरे ।
बाम गठबन्धनले सधै कांग्रेस नेतृत्वले विकास गर्न नसकेको आरोप लगाउँछन्, कांग्रेस नेता भने केन्द्रीय नेतृत्व लिएपनि जिल्ला सबै बामकै नेतृत्वमा चलेको टिप्पणी गर्छन् । सर्वसाधारणमा दोहोरो मारमा परेको गुनासो छ । ‘पालैपालो फरक दलको नेतृत्व बिजयी भएकोले हाम्रोमा बिकासमा पछाडि परियो’ जैमिनी १ का नविनप्रताप जिसीले भने, ‘नेतृत्व जवाफ देही बन्नु नपर्ने, मैले गर्नुपर्छ भन्ने चासो नभएपछि बत्तिमुनीका अध्यारोमा परेका छौं ।’ काम गर्ने नेतृत्वलाई केही समय अवसर दिएमा बिकासले गति लिने उनले बताए । बागलुङमा राष्ट्रिय गौरवका आयोजना दुइवटा छन् ।
मध्यपहाडी लोकमार्गले पूर्व पश्चिम र कालीगण्डकी कोरिडोरले उत्तरदक्षिण काटेको छ । यी बाहेकका भित्रि बिकासमा भने कुनै प्रगती नभएको सर्वसाधारणको टिप्पणी छ । गौरवका आयोजनालाई तीव्रता दिनेलाई मतदिने योजना बनाएको समेत उनले बताए ।