संविधान सभाका दुवै निर्वाचनमा कास्की–३ बाट निर्वाचित एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी यसपटक कास्की–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्। अधिकारीका प्रतिस्पर्धी छन्, नेपाली कांग्रेसका देवराज चालिसे। अधिकारीसँग पत्रकार मनोज खतिवडाले गरेको चुनाव-वार्ता :
चुनावी तयारी कस्तो चल्दैछ ?
कास्की–२ को चुनावी अभियानमा त क्रियाशील छु नै। कास्की–२ का अलावा प्रदेश–४ का विभिन्न चुनावी सभाहरुमा पनि सहभागी भइरहेको छु। किनभने, कास्की–२ मा विजयका लागि कुनै समस्या छैन। जितका लागि एमाले एक्लै काफी थियो, स्थायित्व, विकास, समृद्धि र सवल राष्ट्रका लागि माओवादी केन्द्रसँग गठबन्धन गरेपछि झन सहज भएको छ। र, म आफ्नो बाहेकका क्षेत्रमा जान सहज भएको छ।
चुनावी एजेण्डाहरु के के छन् ?
राजनीतिक स्थायित्वबिना कुनैपनि मुलुकले आर्थिक विकास र सम्बृद्धि हासिल गर्न सकेको छैन। लोकतन्त्रको संस्थागत विकासका लागि पनि राजनीतिक स्थायित्व आवश्यक छ। आर्थिक सम्बृद्धि भएन भने त्यो लोकतन्त्र होस् वा गणतन्त्र, गरिबी बाँड्ने व्यवस्थामात्र हुन जान्छ। हामी समृद्ध गणतन्त्र र समृद्ध समाजवादतर्फ जान खोजेका छौं। त्यसैले मैले आफ्नो मुख्य चुनावी एजेण्डा राजनीतिक स्थायित्वलाई बनाएको छु।
तपाईं पटकपटक कास्कीबाट निर्वाचित भइसकेको व्यक्ति हुनुहुन्छ, यसबीचमा के के गर्नुभयो र अब तपाईंलाई पुनः मतदाताले भोट हाल्ने ?
सम्भावनै–सम्भावना भएको प्रदेश हो प्रदेश–४। र, पोखरा त्यसको राजधानी हो। यहि क्षेत्रबाट पटकपटक निर्वाचित हुन पाउँदा म अत्यन्त हर्षितपनि छु। पोखराको विकासका लागि हामीले धेरै गरेका छौं। अब नयाँ काम थाल्ने भन्दापनि विगतमा जुन–जुन कामलाई अघि बढाएका थियौं, त्यसलाई पुरा गर्नेतिर लाग्ने हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखरामा चक्रपथको निर्माण, चौबिसै घण्टा फिल्टर गरिएको शुद्ध खानेपानीको व्यवस्था जस्ता काम मेरै नेतृत्वमा अघि बढेका हुन्। कास्कीको गरिबीलाई चार प्रतिशतमा झार्न सफल भइएको छ। अन्यत्रको तुलनामा सफा र हरियालीयुक्त सडकहरु बनाएका छौं, स्याटेलाइट सिटी बनाउने काम भएको छ। पोखरालाई नेपालकै एक नम्बर सहर बनाइसकियो। अझ यसलाई त्यसभन्दा राम्रो बनाउने अभियान जारी छ। यी र यस्ता थुप्रै विकास र समृद्धिका काममा नेतृत्व गरेका कारण मलाई त्यहाँका जनताले पुनः विजयी बनाउनुहुनेछ।
चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?
हामी निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहन्छौं, दुश्मनी गर्न चाहँदैनौं। स्वस्थ प्रतिस्पर्धा होस्, आफ्ना एजेण्डा राखेर भोट मागौं भन्ने चाहना हो। जहाँसम्म जितको कुरा छ, त्यसमा त म कुनै द्विविधामै छैन। चुनाव हार्ने कुनै सम्भावना छैन। स्थानीय चुनावको तथ्याङ्कले पनि देखाएको छ, मेरो क्षेत्रमा सहज चुनाव जित्ने अवस्था छ।
चुनावी अभियानका क्रममा ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई रोक्न सक्ने हो भने म पनि दुईपटक भन्दा बढि लड्दिनँ’ भन्नुभएछ। के सन्दर्भमा भन्न खोज्नुभएको हो ?
गाली गर्ने कुनै कारण नभेटेपछि मेरा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका साथीले ‘रवीन्द्र पटकपटक कास्कीबाट चुनाव लडिरहेको छ, दुई पटकभन्दा बढि चुनाव लड्न पाउनुहुँदैन’ भन्नुभएछ। त्यही प्रसंगमा मैले कांग्रेसका साथीलाई सुझाव दिँदै भनेको हुँ, ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई तपाईंले दुई पटकभन्दा बढि लड्न नदिनुस्, म पनि चुनाव लड्दिनँ।’
मैले जनताको मन जितेर चुनाव जितेको हो। आफ्ना नेताले चाहिँ जीवनभरि चुनाव लडिरहने, अरुले चाहिँ लड्न पाइँदैन भन्नु कुतर्क हो, दोहोरो मापदण्ड हो। जनताको मन नजितेको भए त एकपटक पनि जित्न सम्भव थिएन। मेरा प्रतिद्वन्द्वीले दुई पटक भन्दा बढि चुनाव लड्न पाइँदैन भनिरहँदा डडेल्धुरामा देउवाले र नजिकै तनहुँमा पौडेलले चुनाव लड्न पाउनुहन्न पनि भन्न सक्नु पर्यो।
माओवादीसँगको गठबन्धन कत्तिको प्रभावकारी भएको छ ?
तलसम्म नै एकताको उत्सवमय वातावरण छ। जनतामा एकताले सकारात्मक सन्देश प्रवाहित गरेको छ। माथि बस्ने नेताले घोषणा गरेकै भरमा गठबन्धन कार्यान्वयन नहुने पनि त सम्भावना थियो। तर अहिलेसम्म आइपुग्दा शानदार रुपमा सफल भएको छ। गठबन्धनपछि वाम एकता देशको र जनताको आवश्यकता रहेछ भन्ने कुरा अझै धेरै महशुस भएको छ। वामगठबन्धनलाई जित्ने ल्याकत कांग्रेससँग छैन। कांग्रेसलाई त हामी एक्लैले जितिहाल्थ्यौं। मलाई लाग्छ, छिट्टै दुई पार्टीको एकता हुन्छ। अर्काे चुनावमा हामी अहिलेजस्तो दुई वटा चुनाव चिन्ह लिएर लड्दैनौं, एउटै चिन्ह लिएर एउटै पार्टीका रुपमा लड्छौं।
पोखराको लागि हामीले धेरै गरेका छौं – रवीन्द्र अधिकारी
Previous Articleअमेरिकाले आणविक युद्धको खतरा बढायो-उत्तर कोरिया
Next Article कथा : स्कुले माया पिरती