प्रशान्त ओझा
काठमाडौं, २९ कात्तिक– नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच आरोपीलाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । प्रहरीले नुवाकोट पञ्चकन्या–५ का राजिव स्याङ्ताङ, पर्सा कालिमाई–१ का शिवजी महतो, भारतको बिहार राज्य बेतिया जिल्लाका मुकेश कुमार पाण्डे, पर्सा ठोरी–५ का सन्तोष गुरुङ र काठमाडौं नागारजुन–४ का प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका पाँचै जना गौचनको हत्यामा संलग्न रहेको प्रहरीको दावी छ । प्रहरीका अनुसार नुवाकोटका राजिव स्याङ्ताङले गौचनमाथि गोली चलाएका थिए । पर्साका शिवजी महतो र भारतीय नागरिक मुकेश कुमार पाण्डेले गौचनको हत्यामा प्रयोग गरिएको हतियार व्यवस्थापनमा सहयोग गरेका थिए । पर्साकै सन्तोष गुरुङ र काठमाडौं नागारजुनका प्रकाश बुढाथोकीले गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकल व्यवस्थापन गरेका थिए ।
समिरमान मुख्य योजनाकार
प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्नेत रेहेको जनाएको छ । मनोज पुन र लोप्साङ लामा पनि घटनाको योजनाकार रहेको प्रहरीको भनाइ छ ।
‘बोका’ भनिने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, ‘काले दाई’ भनिने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा योजना कार्यान्वयन गर्ने दोस्रो तहका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
एक महिनादेखिको योजना
गौचनलाई हत्या गर्न प्रयोग गरिएको हतियार पनि भारतबाटै खरिद गरिएको प्रहरीको अनुसन्धनबाट खुलेको छ । गत असोज २३ गते दिउँसो २ बजेर ३५ मिनेट आसपासमा कार्यालय जान भनेर बा १३ च ४९४८ नम्बरको आफ्नो ल्याण्डक्रुजर गाडी चढेर गौचन घरबाट निस्केका थिए ।
शान्तिनगरको कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केर ओमशान्ती चोकनजिक पुग्दा उनको गाडीमाथि कसैले इटा बर्सायो । इटा लागेर गाडीको अगाडिको सिसा फुटेपछि उनका चालक बाहिर निस्किए । चालक बाहिर निस्किएको बेला गौचनमाथि गाडी बाहिरबाट २ वटा गोली प्रहार भयो । गौचनको छाती र पेटमा गोली लागेर रगत बग्दाबग्दै उनी अचेत भए ।
लगत्तै त्यहाँ रहेका स्थानीयले गौचनलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्याए । अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले गौचनको मृत्यु भइसकेको घोषणा गरे । प्रहरीका अनुसार गौचनको हत्या योजना करिब एक महिना अगाडिदेखि बुनिएको थियो । गौचनको हत्यामा बा ३५प २४६२ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल प्रयोग गरिएको थियो । उक्त मोटरसाइकल गौचनको हत्यामा प्रयोग गर्ने उद्देश्यले नै भारतबाट चोरी गरेर नेपाल ल्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त मोटरसाइकल शिवजी महतोले भारतको वेतियाबाट १८ हजार नेपाली रुपैयाँमा खरिद गरी २४ हजार नेपाली रुपैयाँमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए ।
गौचनलाई हत्या गर्न प्रयोग गरिएको हतियार पनि भारतबाटै खरिद गरिएको प्रहरीको अनुसन्धनबाट खुलेको छ । शिवजी महतोले भारत बिहारको वेतियाबाट ५५ हजार नेपाली रुपैयाँमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैयाँमा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए ।गौचनको हत्या भएको दिन सुटर राजिव स्याङताङलाई पछाडि राखेर श्याम गुम्बेले मोटरसाइकल चलाएका थिए ।
उनी अहिलेसम्म फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गोली चलाउने स्याङताङ र पक्राउ परेका पाँच जनाले गौचनलाई चिनेकासम्म थिएनन् । मुख्य योजनाकार समिरमान, मनोज पुन र लोप्साङको निर्देशनबमोजि उनीहरुले खटाएको काम गरेको प्रहरीको दावी छ ।
फिरौती नदिएपछि हत्या
प्रहरीका अनुसार करिव ३ महिना अगाडिदेखि गौचनसँग फिरौती माग गरिएको थियो । तर गौचनले फिरौती दिन नमानेपछि उनको हत्या गरिएको प्रहरीको भनाइ छ । गौचनको हत्या गरिएको दिन उनको कारमा विभिन्न व्यक्तिका नाममा काटिएका करिव ६ वटा चेक फेला परेका प्रहरीको भनाइ छ । एउटा चेकमा तीन करोड रकम उल्लेख गरेर साइन समेत गरिएको थियो । अन्य चेक १२ देखि १५ लाखसम्मका थिए । ती सबै चेकमा गौचनले साइन गरेका थिए । हत्या श्रंखलाको जालो
२०७३ पुस पहिलो साता नेकपा एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दूर्गा तिवारीको रुपन्देहीको देवदहमा हत्या भयो । आफूले हत्या गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा फोन गरेर मनोज पुनले घटनाको जिम्मा लिए । प्रहरीले पनि पुनकै संलग्नता रहेको भन्दै उनको खोजी कार्य तीव्र पार्यो । तर पुन प्रहरीको हात लागेनन् । गौचनको हत्यामा समेत मनोज पुनको संलग्ता रहेको महानगरीय प्रहरी आयुक्त प्रहरी उतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दको भनाइ छ । चन्दका अनुसार सरिमान बस्नेतको नेतृत्वमा मनोज पुन र लोप्साङ लामाले गौचन हत्याको योजना बनाएका हुन् । तर उनीहरु देश बाहिर रहेपनि कुन देशमा छन् भन्ने भेउ समेत प्रहरीले पाएको छैन ।
समिरमान बस्नेत केही समय अगाडि मात्रै काठमाडौंको वाफललाई आधार बनाएर गुण्डागर्दीमा संलग्न थिए । मनोज पुन एमालेको राजनीतिमा थिए भने लोप्साङ लामा राजधानीका डान्स बारमा बाउन्सरको रुपमा काम गर्थे । प्रहरीले गुण्डा नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाएर चरि भनिने दिनेश अधिकारी, घैंटे भनिने कुमार श्रेष्ठको इन्काउन्टर गरेपछि समिरमान र लोप्साङले गुण्डागर्दीलाई विस्तार गर्ने मौका पाए । त्यसपछि मनोज पुन समिरमान र लोप्साङसँग मिल्न पुगे ।
काठमाडौंमा आधारित भएर गुण्डागर्दी गर्ने दावा लामा पनि उनीहरुकै सम्पर्कमा थिए । तर कुरा नमिलेपछि उनी अलग्गिन पुगे । उनीहरुबीच विवाद यति बढिसकेको थियो कि समिरमानको ग्रुपले दावामाथि गोली प्रहार गर्न नै लगाए । दावामाथि गत चैत २२ गते (मंगलवार) काठमाडौंको कुमारीगालस्थित दिब्या पार्र्टी प्यालेसमा गोली प्रहार भएको थियो । प्रहरी अनुसन्धानले पनि दावामाथि गोली प्रहार गर्ने व्यक्ति समिरमान ग्रुपकै रहेको बताएको थियो । तर उनीहरुलाई पक्राउ भने गर्न सकेन । लोकन्तर डट कम