बागलुङ, २७ कात्तिक – जनभेटघाट तथा घरदैलोमा हिडेको बाम गठवन्धनको टोलीलाई बागलुङ बजारवासीले भब्य स्वागत गरेका छन । सोमवार विहान साझा वाम उम्मेदवार डा.सूर्य पाठक र इन्द्रलाल सापकोटा सहभागी रहेको जनभेटघाट तथा घरदैलो टोलाीलाई बजारवासीले हर्षका साथ स्वागत गरेका हुन् । उम्मेदवार सहितको टोलीले बागलुङ बजारमा पहिलोपटक सोमवार घरदैलो अभियान सञ्चालन गरेको थियो । सो अवसरमा नारायणचोकमा आयोजित अभियानसभालाई उम्मेदवार पाठक र सापकोटाले सम्वोधन गरेका थिए ।
बाम गठबन्धनका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उमेदवार डा.सूर्य पाठकले बागलुङ जिल्लालाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्नका लागि आफुसंग स्पष्ट खाका भएको वताएका छन । कार्यक्रममा बोल्दै उमेदवार पाठकले संभावना प्रशस्त भएर पनि पर्यटकले एक दिन पनि बस्ने नसक्ने स्थानको रुपमा बागलुङ बजार बन्दै गएको वताए ।
देशकै एक मात्र शिकार आरक्ष ढोरपाटन बागलुङमा पर्छ भनेर हामी दंग छौ, तर ढोरपाटन जाने पर्यटकले बागलुङ बजारको मुख देख्दैनन् ।
कालिका भगवती मन्दिरको दर्शन गरेर बाङ्गेचौरबाट फिर्ता हुने पर्यटकहरुलाई कम्तिमा एक दिन बागलुङ बसौ भन्ने पार्न, बागलुङ बजार हुदै पर्यटकहरुलाई ढोरपाटन सम्म जाने अवस्था सिर्जना गर्नका लागि बागलुङ बजार र यससंग जोडिने सडक सञ्जाललाई व्यवस्थित गराउनुका साथै पञ्चकोट लगायत यहाँका धार्मिक, सांस्कृतिक संम्पदाहरुको संरक्षण आवश्यक रहेको पाठकले वताए ।
विकासका लागि पर्यटन, जलस्रोत, कृषि र जडिबुटीको क्षेत्रमा योजना आवश्यक रहेको भन्दै पाठकले सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसंगको परामर्शमा बागलुङको समग्र विकासका लागि आफु निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
यस भन्दा पहिला निर्वाचित भएर गएका प्रतिनिधिहरुप्रति प्रश्न गर्दै पाठकले ४|५ वर्ष माननीय भएर यो समाजको विकासका लागि गरेका राम्रा ४ वटा काम देखाउन चुनौती दिए । सबै सांसदले पाउने ३ करोड परिचालन बाहेक अन्य क्षेत्रमा के प्रगती भयो ? बागलुङको समृद्धिका बारेमा संसदमा कति पटक आवाज बुलन्द गर्नु भयो ? भुकम्प पीडित बागलुङेहरुको उद्धारका लागि कहिले र कहाँ आवाज उठाउनु भयो ? भन्दै पाठकले संसदमा जानु भनेको केवल ताली बजाउन मात्र नभएको वताए ।
संसदमा जाने व्यक्तिले जनताको जनजीविका र जिल्लाको समृद्धिका योजना निर्माण गर्ने, नीति नियम बनाउने र जनताको सुख दुखमा साथ दिने हो भन्दै त्यसका लागि आफु प्रतिवद्ध रहेको वताए ।
डा. पाठकले जापानमा विद्यावारिधी गरेपछि आफ्नो अगाडि पारिवारीक सुख समृद्धिमा लाग्ने की समाज रुपान्तरणमा लाग्ने दुइवटा बाटा थिए र आफुले समाज रुपान्तरणको बाटो रोजेको वताए । हाम्रो हजुरवाको पुस्ताले राणा फाले, बा को पुस्ताले पञ्चायत फाले अब हाम्रो पुस्ताले समृद्ध देश बनाउन सकेनौ भने मेरी छोरीले सोध्ने छिन्, तपाईले राजनीतिमा लागेर के गर्नु भयो ? पाठकले भावी पुस्तालाई जवाफ दिने गरी देशको समृद्धिका लागि लड्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा प्रदेशसभाका प्रत्यक्ष साझा बाम उमेदवार इन्द्रलाल सापकोटाले ४ नं. प्रदेश र सिंगो बागलुङको समृद्धिका लागि जलस्रोत नै प्रमुख माध्यम भएको वताए । जलस्रोतलाई उपयोग गर्ने नीति निर्माण गर्न, पर्यटन प्रवद्र्धन, कृषिमा आधुनिकीकरण गरी समृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धनलाई विजयी गराउन आव्हान गरे । राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकास हुन नसकेको भन्दै स्थिर सरकार, दीगो विकास र सामाजिक रुपमा जनतालाई सुरक्षा प्रदान गर्नका लागि बामपन्थी गठबन्धनको विकल्प नभएको सापकोटाले वताए । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रतनप्रसाद मलेपतिले गरेका थिए ।