सो निर्वाचनको क्रममा उनले एमाले कास्कीका अध्यक्ष कृष्ण थापालाई झिनो मतले पराजित गर्न सफल भइन्। उनी ११ हजार ६ सय ६२ मतसहित विजयी हुँदा थापाले ११ हजार ३ सय १८ मतमा चित्त बुझाए। निर्वाचनमा ३४ हजार ४ सय ३० मत सदर भएको थियो भने पौडेलसहित २० जना उम्मेदवार चुनावी मैदानमा थिए।
अहिले पौडेलको क्षेत्र फेरिएको छ। उनले प्रतिष्पर्धा गर्ने क्षेत्रमा पोखरा-लेखनाथ महानगपालिकाका १,२,३,१८,१९ र २५ नम्बर वडासहित माछापुच्छ्रे गाउँपालिका समेटिएको छ। भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा महानगरको वडा नम्बर १ मा एमालेले १ हजार १ सय १३ र नेपाली कांग्रेसले ७ सय ९६ मत पाएको थियो।वामगठबन्धनमा समेटिएको माओवादी केन्द्रले सो वडाबाट पाएको मत १ सय १९ मात्र थियो। उता वडा नम्बर २ मा कांग्रेसले ९ सय ३४ मत प्राप्त गर्दा एमालेले ५ सय ६४ मत पाएको थियो। सो वडामा माओवादी केन्द्रले पाएको भोट ७७ थियो। वडा नम्बर ३ मा पनि ९ सय ६३ मतसहित नेपाली कांग्रेस अगाडि हुँदा एमालेले पाएको मत ६ सय ४८ थियो भने माओवादीको १ सय ५७ मात्र।
वडा नम्बर १८ मा एमालेको १ हजार ६ सय ७९ पाएर विजय हासिल गर्दा कांग्रेसले ९ सय ७१ मतमा चित्त बुझायो। माओवादीले सो वडामा ३ सय ३३ मत प्राप्त गरेको थियो। वडा नम्बर १९ मा पनि एमाले २ हजार ४ सय ८३ मतले विजयी बन्दा कांग्रेस १ हजार ९ सय ६० मतमा चित्त बुझाउन बाध्य भयो। माओवादी केन्द्र भने २ सय भोटमा खुम्चियो। यसैगरी २५ नम्बर वडामा एमालेको २ हजार १ सय मत हुँदा कांग्रेसले १ हजार ४ सय ९३ मत मात्र प्राप्त गर्यो।
माओवादी केन्द्रले सो वडामा ५ सय ९० मत पाएको थियो। माछापुच्छ्रे गाउँपालिकातर्फ एमालेले ५ हजार ५ सय ४१ मत ल्याउँदा कांग्रेसले ४ हजार ४ सय ११ मत पायो। पछिल्लो निर्वाचनमा मतदाता थपिएका मात्र छैनन्, हिजो छुट्टाछुट्टै चुनाव लडेका एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिएका छन्। अंक गणितमा वामगठबन्धनका उम्मेदवारभन्दा पछाडि रहेकी शारदाले चुनाव जित्न सो क्षेत्रका मतदाता रिझाउने मात्र हैन, ‘कतै नलागेका’ मतदाता रिझाउनु पनि जरुरी रहेको छ।
लामो समय महिला संघको राजनीति गरेकी शारदा क्रियाशील महिला कांग्रेसको रुपमा जिल्लामा परिचित छन्। विपी कोइरालाको भान्छे समेत बन्न पुगेकी शारदा कांग्रेसमा कोइराला परिवारसँग नजिकको सम्बन्ध भएकी महिला नेतृ हुन्। नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै सचिवसम्मको जिम्मेवारी सम्हालेकी शारदा एक्लै भएपनि चुनावमा खटिन सक्ने नेतृ समेत हुन्।
चुनावमा होमिएर विजयको स्वाद पनि चाखेकी उनलाई सो क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका आफ्नै पार्टीका शुक्रराज शर्माले सघाउने छन्। सांसद हुँदा सोचेजस्तो काम गर्न नसकेको आरोप लगाउने गरिएपनि महिला हुनुको ‘एडभाण्टेज्’ उनीसँग रहेको छ। प्रमुख दलबाट कुनै पनि महिलाले टिकट नपाएको सन्दर्भमा उनले ‘स्याम्प्याथी’ मत पाउने सम्भावना प्रवल छ। समानुपातिक उम्मेदवार बन्न पाउने सम्भावना हुँदाहुँदै प्रत्यक्षमा चुनाव लड्ने हिम्मत जुटाएकी पौडेलको क्रियाशिलता र विनयशिलता यो चुनावमा हतियार बन्ने निश्चित छ। ‘यो क्षेत्रका जनताले मलाई जिताउँछन् भन्नेमा ढुक्क छु, जनताको काममा अहोरात्र खट्ने महिला भएकोले पनि मेरो सम्भावना बढी छ’, उनले भनिन्।
उता, सशस्त्र युद्धताका कास्कीसहित पश्चिमाञ्चल क्षेत्रमा माओवादीले सबैभन्दा बढी क्षति बेहोर्यो। धेरै नेता मारिए, पक्राउ परे। सशस्त्र युद्ध सुरु हुनासाथ त्यसमा होमिएका रामजी बराल ‘जीवन’ माओवादी कास्कीका अघिल्ला पुस्ताका केही बाँचेका अनुहारमध्येका एक हुन्।
राजविक्रम भुर्तेल, युवा नेता विजय ढकाल र छवि अधिकारीसहितका नेताहरु सेनाको गोलीको निसानामा पर्दा उनी मात्र भाग्यले बाँचे। सम्भावना बोकेका अघिल्लो पुस्ताका नेतामा गनिने बराल सादगी जीवनको लागि माओवादी केन्द्रमा चर्चित छन् । कास्कीकै बासिन्दा भएकाले उनले यहाँको भौगोलिक अवस्था मात्र बुझेका छैनन्, सबैसँग घुलमिल हुने क्षमता पनि राख्छन्।
वाम गठबन्धनको उम्मेदवार बनेका बराललाई एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा विश्वासको मत जित्नु जरुरी चाहिँ छ। बराल ०७० को निर्वाचनमा पनि कास्की–३ मा तत्कालिन एमाओवादीबाट प्रतिस्पर्धा गरेका थिए। तर पराजित भए। अहिले बराललाई सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट एमालेका नेता जगत विश्वकर्माले सघाउने छन्। ‘म निष्ठापूर्ण राजनीतिको सच्चा सिपाही हुँ, जनमुक्तिको लागि लडेको मेरो इतिहास र वर्तमान नै मेरो जीतको आधार हो’, उनले भने।
विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी
Previous Articleइन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च
Next Article चिल्ड्रेन लाईफ कपको दोस्रो दिन चार खेल