बागलुङ, २२ कात्तिक – स्थानीय तहको निर्वाचनपछि देशभर साढे १३ लाखभन्दा बढी मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतदाता थिए। निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मतदाता नामावली १३ लाख ५५ हजार ५ सय १६ नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ९३५ जनाको मतदाता नामावली कायम भएको बताए। उनका अनुसार भदौ ५ गते १८ वर्ष पुगेका सबैले मताधिकार प्रयोग गर्न पाउनेछन्।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएपछि १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम छुटेकाका लागि मतदाता नामावली संकलन गरेको थियो। पछिल्लो मतदाता नामावलीमा सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौं, कैलाली, सुनसरी, दाङ, काभ्रे र चितवनमा थपिएका छन्।
मोरङमा सबैभन्दा बढी मतदाता थपिए
स्थानीय तहको निर्वाचनपछि सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन्। स्थानीय तह निर्वाचनमा ५ लाख ५३ हजार ८७० मतदाता रहेको मोरङमा ८० हजार ९१५ मतदाता थपिएर ६ लाख ४४ हजार ७८५ पुगेको छ। आयोगका प्रवक्ता ढकालका अनुसार मोरङपछि सबैभन्दा बढी मतदाता कैलालीमा थपिएका छन्। स्थानीय तह निर्वाचनमा कैलालीमा ४ लाख ३ हजार २८० मतदाता थिए भने अहिले ५७ हजार ३०० थपिएर ४ लाख ६० हजार ५८० मतदाता कायम भएको ढकालले बताए।
उनका अनुसार सुनसरीमा ५३ हजार १४१, दाङमा ४७ हजार ७५४, काभ्रेपलाञ्चोकमा ४१ हजार ४३८ र चितवनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा ५ लाख ५९ हजार ४०० मतदाता रहेको काठमाडौंमा ४४ हजार २२० मतदाता थपिएर प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा काठमाडौंमा ६ लाख ३ हजार ६२० मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ।
सबैभन्दा कम मतदाता थपिनेमा मनाङ
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि सबैभन्दा कम मतदाता मनाङमा थपिएका छन्। मनाङमा ७८५ मतदातामात्रै थपिएको आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनमा ५ हजार ९५ मतदाता रहेको मनाङमा प्रदेश र प्रतिनिधि सभाका लागि ५८ सय ८० मतदाता कायम भएको छ। यस्तै, मनाङपछि कम मतदाता थपिनेमा मुस्ताङ र डोल्पा पनि परेका छन्। मुस्ताङमा स्थानीय तह निर्वाचनपछि ११ सय ६४ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा ८२ सय ६३ मतदाता रहेको मुस्ताङमा अब ९४ सय २७ मतदाता कामय भएको आयोगले जनाएको छ।
डोल्पामा भने स्थानीय तह निर्वाचनपछि २०६४ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा १६ हजार ७०३ मतदाता रहेको डोल्पामा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १८ हजार ७६७ मतदाता कायम भएको निर्वाचन आयोगका प्रवक्ता ढकालले जानकारी दिए।
स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४१९ मतमध्ये कुल १ करोड ४३ लाख ६ हजार ३२५ मत खसेको थियो। यो कुल मतको ७४ दशमलब २ प्रतिशत हो। खसेको मतमध्ये ९१ लाख ३६ हजार ७०३ मत सदर भएको थियो। स्थानीय तह निर्वाचनमा कुल खसेको मतको ३ दशमलब ४४ प्रतिशत बदर भएको थियो।
महिलाभन्दा पुरुष मतदाता बढी
आयोगका अनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कायम भएको मतदाता नामावलीमा महिलाभन्दा बढी पुरुष मतदाता रहेका छन्। पुरुषभन्दा महिला मतदाता एक लाख २५ हजार ४३१ कम छन्। आयोगले तयार पारेको अन्तिम मतदाता नामावलीमा ७७ लाख ७६ हजार ४९६ पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ७६ लाख ५१ हजार ६५ छ।
हेर्नुस् कुन जिल्लामा कति मतदाता कायम भए ?
स्थानीय तह निर्वाचनपछि कुन जिल्लामा कति थपिए मतदाता ?
Previous Article समृद्धिका लागि स्थानीय स्रोत परिचालनमा जोड दिन्छौ : पाठक
Next Article बेइजिङमा ट्रम्पलाई ‘स्टेट भिजिट प्लस’ सम्मान