डिल्लीप्रसाद गौतम-मुलुक अहिले निर्वाचनमय भएको छ । कैयन शंका आशंकालाई चिर्दै सरकारद्धारा घोषित निर्वाचनको तिथी र मितिमा निवार्चन आयोगद्धारा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता अनुरुप नै आगामी प्रदेश सभा तथा प्रतिनीधि सभाको निर्वाचन र चरणमा सम्पन्न हुने अब पक्कापक्की नै भएको छ । त्यसै अनुरुप पहिलो चरणमा आगामी मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गतेका दिन क्रमशः ३२ र ४५ जिल्लामा दलहरुद्धारा मनोनयदर्ता गर्ने र निर्वाचन आयोगद्धारा आवश्यक छानविन गरी चुनाव चिन्ह प्रदान गर्ने कार्य समेत सम्पन्न भैसकेको छ । यसरी शंका–उपशंका बिच निर्वाचनका सम्पुर्ण प्रक्रिया प्रारम्भ भए लगत्तै सम्पुर्ण दलहरु तथा दलका उमेदवारहरु पनि निर्वाचनमा होमिए लगत्तै सम्पुर्ण मुलुक अहिले निर्वाचनमय भएको छ । दलका उमेदवार तथा नेता–कार्यकर्ताहरु अहिले जनताको घर दैलोमा पुगेर मतदाताहरु सँग अनुनय विनय गरिरहेको छन् । मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि पार्टिका नेता–कार्यकर्ताहरुले मिठा र स्वादिला भाषण र प्रलोभन समेत बाडिरहेका छन् । सौभाग्य नै मान्नु पर्छ पहिलो चरणको निर्वाचनको प्रचार समय ग्रामिण भेगका किसानहरुको कामको चटारो एकै समय जुरेको छ । उमेदवारहरुलाई ग्रामिण भेगमा मतदाताहरुलाई घर दैलोमा नै भेट्न हम्य हम्य परेको छ । कृषकहरुको अन्नवाली अनि घाँस–पराल, नल दाई, खर काट्ने अनि भित्र्याउने समय यसै समय पर्ने हुनाले अहिले सम्म खेतबारीमा खुट्टा समेत नटेकेका नेता कार्य कर्तालाई समेत कृषकको साथमा लागेर जोतेको, धानकाटेको, दाँई हालेको एक–एक क्लिक फोटो शेसन गर्ने सुवर्ण अवसर पनि मिलेको छ यस पटकको निर्वाचनले । यसरी सम्पुर्ण मुलुक नै निर्वाचनमय भै रहँदा र निर्वाचनको तिथि–मिति पनि नजिकिरहँदा, उमेद्वार तथा दलका नेता कार्यकर्ताहरुलाई मतदाताको घर दैलो सम्म पुग्नलाई हम्य हम्य परेको छ । कतिपय दलका कार्यक्रमहरु नजिक–नजिक परेका वार्ड तथा गाउँपालिकाहरुमा २ ठाउँमा समेत एकै दिन सम्पन्न गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । खासगरी संघिय संरचनानुसार सम्पन्न हुन गैरहेको यस पटकको संघ र प्रदेशको निर्वचनमा पुराना निर्वाचन क्षेत्र परिवर्तन भै नयाँ संरचनामा क्षेत्र संख्या घटि भुगोल र जनसंख्या वृद्धि भएका कारण पनि उमेदवारहरुलाई सम्पुर्ण ठाउँमा पुगेर मतदातासँग भेटघाट गरी मत माग्नको लागि समय अभाभ भएको स्वयं उमेद्वारहरु पनि बताउने गरेका छन् । अझै भन्नुपर्दा परिवर्तित राजनीति अनुसार मतदाताहरुले भावनामा समेत परिवर्तन भएको महशुस गरिएको छ । मतदाताहरु पनि उमेदवारलाई प्रत्यक्ष भेटेरै कुराकानी गर्ने र विगतमा गरिएका वाचा–कवुलका बारेमा ख्यारख्यार्ती पार्ने गरेको बुझिएको छ । दलका नेता तथा कार्यकर्ता चुनावको बेला मात्र गाउँ घर पस्ने अनि सोझा–साझा मतदातालाई गुलिया–मिठा प्रलोभन देखाएर आफ्नो पक्षमा पार्ने र चुनावको बेला गरिएका वाचा कवुल पुरा नगर्ने प्रवृतिका कारण अहिले मतदाताहरु पनि जागरुक भै सकेको आभाष भएको छ । उसो त लामो समयको अन्तराल पश्चात भर्खरै मात्र स्थानिय निकायको निर्वाचन सम्पन्न भै जननिर्वाचित प्रतिनिधीले आफ्नो कार्य शुरु गरी सकेका छन् । यहि ६ महिनाको आसपासमा संघ प्रदेशको निर्वाचन सम्पन्न हुन गैरहेको परिवेशमा मतदाताहरुले गत स्थानिय निकायको निर्वाचनमा वाचाकवुल गरेका र आफु निर्वाचित भए पश्चात भए गरेका कामका बारेमा पनि खुलेरै कुरा गर्ने गरेको निर्वाचन प्रचार–प्रसारमा गएका नेता–कार्यकर्ताहरु बताउने गरेका छन् । ग्रामिण भेगमा रहेका शिक्षा, स्वास्थ्य, पानी, बाटो–घाटो अनि कृषि क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा आम नागरिकहरुले गुनासो अनि जिज्ञासा रहने गरेका छन् । यिनै कुरालाई बुझेर नै पार्टी तथा नेता कार्यकर्ता एवं स्वयं उमेदवारहरुले पनि पार्टीको घोषणा पत्र अनि आफ्नो प्रतिवद्धता पत्र तयार पारेर विभिन्न भ्रमपुर्ण आश्वासन सहित मतदाताहरुलाई भेटेर मत माग्ने गरेका छन् । परिवर्तित राजनीतिक परिवेशसँगै दलहरुले आफ्नो पचार शैलाीलाई समेत परिवर्तन गरेको पाइएको छ । खासगरी यस पूर्वका निर्वाचनहरुमा प्रदर्शन गरिने तडक भडक यस पटकको निर्वाचनमा देखिएको छैन । शहर बजारहरुमा चोक, होटल अनि रेष्टुरेण्ट बाहेक अन्य स्थानमा चुनावको रौनकताले छाएको छैन । विगतका चुनावमा जस्तो शहर बजार थर्काउने गरिनै माइकिङ र पोस्टर अनि पम्पेल्टिङ्ग अहिले पुर्ण रुपमा बन्द नै भएको छ । जसले गर्दा शहर–बजार कोलाहलमुक्त भएको छ । साथै दलहरुको निर्वाचन शैली पनि परिवर्तन भएको महशुस गरिएको छ । दलका नेता–कार्यकर्ताहरु भाषणमा भन्दा मतदाताहरुलाई प्रत्यक्ष भेटेर नमस्कार अनि भलाकुसारी गर्ने गरेका छन् । जसले गर्दा एकातिर मतदाताहरु प्रत्यक्ष आफ्ना प्रतिनिधीहरुसँग आ–आफ्ना दुःख तथा गुनासा बिताउने अवसर प्राप्त गरेका छन् भने उमेद्वारहरुले समेत गाउँ–बस्ती सम्म पुगेर नागरिकका दुःख–पिर बुझ्ने अवसर प्राप्त गरेका छन् । यसरी उमेदवार तथा दलका नेता कार्यकर्ताहरुले आम मतदातासँग भेट्ने क्रममा विगतमा जस्तै कैयन विकासे कार्यक्रमको फेहरिस्ट प्रस्तुत गरि आफुले जितेमा यि सबै काम सम्पन्न गर्ने बताईरहँदा आममतदाता भने ढुक्क हुन सकि रहेका छैनन् । विगतमा पनि यस्ता खाले मिठा अनि चिल्ला आश्वासन पाएका आममतदाताहरु यस पटकको निर्वाचनमा अझै समेत भएको आभास भएको छ । विगतका चुनावमा झुट्टा आश्वासन बाड्ने, मतदाताहरुलाई गलत तवरले आफ्नो प्रभावमा पार्ने दलहरु प्रति आम मतदाता यस पटकको निर्वाचनमा विशेष सजग हुनुपर्ने देखिन्छ । खासगरी जसरी हुन्छ चुनाव जित्ने र तत्तपश्चात फर्केर गाउँ–वस्ती नछिर्ने दलका नेता–कार्यकर्ताहरुले सोझा–साझा मतदातालाई प्रलोभनमा पारेर समेत प्रभावित पार्ने गरेका विगतका निर्वाचनले समेत प्रष्ट पारेका छन् । तसर्थः यसपटकको संघ तथा प्रदेशको निर्वाचनमा आम मतदाताहरुले गुलिया–चिल्ला आश्वासन अनि अािर्थक प्रलोभनमा अफसी योग्य, जनताको सुखः दुःखमा साथ दिने, विकास अनि जिल्लाको सम्पुर्ण जनतासँग हेलमेल भएको नेतालाई मात्र मतदान गरेर योगदान गर्नुपर्ने देखिन्छ ।