धनगढी २१ कात्तिक – मंसिर २१ मा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहोलले सात नम्बर निर्वाचन क्षेत्र तातेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत रहेका कारण सात नम्बर प्रदेशको चुनावलाई चासोका साथ हेरिएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा निर्वाचन हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा नेकपा एमाले र माओवादी केन्द्रले गठवन्धन गरेर संयुक्त उम्मेदवार खडा गरेका छन् भने नेपाली कांग्रेस अधिकांश निर्वाचन क्षेत्रमा एक्लै चुनावी मैदानमा छ ।
कैलालीमा आरजुलाई पीर
४ लाख ६० हजार ५ सय ८० मतदाता रहेको कैलालीमा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच निर्वाचन क्षेत्र रहेका छन् । १३ स्थानीय तह रहेको कैलालीमा फोरम लोकतान्त्रिकले एक माओवादीले दुई स्थानीय तह जितेका थियो भने नेपाली कांग्रेसले तीन स्थानीय तहमा जित्दा एमालेले सात स्थानीय तहमा जीतेको थियो । कैलाली क्षेत्र नम्बर एकमा वाम गठवन्धनबाट गरिमा शाह र कांग्रेसका तर्फबाट इश्वरी न्यौपाने चुनावी मैदानमा छन् ।
स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा वाम गठवन्धनको पक्षमा १९ हजार ८ सय मत रहेको छ भने नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय मत रहेको छ । यस आधारमा कैलाली एक नम्बर निर्वाचन क्षेत्रमा कांग्रेस तीन हजार मतले वाम गठवन्धनभन्दा अगाडि छ । फोरम लोकतान्त्रिक केही हप्ता अघि नेपाली कांग्रेसमा विलय भएको थियो । त्यस्तै क्षेत्र नम्बर २ मा वाम गठवन्धनका तर्फबाट एमाले नेता झपट रावल र कांग्रेसका तर्फबाट मोहनसिंह राठौर चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले १४ हजार एमालेले १४ हजार ४ सय र माओवादी केन्द्रले १० हजवार ९ सय फोरम लोकतान्त्रिकले ८ हजार ३ सय मत पाएका थिए ।
यसलाई आधार मान्ने हो भने यहाँ वाम गठवन्धनका दलहरुले २५ हजार ३ सय मत पाउँदा कांग्रेसले २२ हजार ४ सयम मत रहेको छ । यसआधारमा यहाँ वाम गठवन्धनभन्दा नेपाली कांग्रेस करिब ३ हजार मतले पछाडि छ । कैलालीको क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेसका तर्फबाट रामजनम चौधरी र वाम गठवन्धनका लागि माओवादी केन्द्रबाट शंकर थारु चुनावी प्रतिस्पर्धामा छन् ।
स्थानीय तह चुनावमा दलहरुले पाएको मतलाई तुलना गर्दा वाम गठवन्धनले २७ हजार ८ सय मत पाएको छ भने नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकले करिब २० हजार मत ल्याएका छन् । यस हिसाबमा कैलाली क्षेत्र नम्बर तीनमा नेपाली कांग्रेस वाम गठवन्धन भन्दा करिब ८ हजार मतले पछाडि रहेको छ । वाम गठवन्धनका तर्फबाट माओवादी केन्द्रका लेखराज भट्ट र कांग्रेसका तर्फबाट सुनिलकुमार भण्डारीबीच प्रतिस्पर्धा हुने आकलन गरिएको कैलाली क्षेत्र नम्बर ४ मा ९३ हजार ३ सय ८४ मतदाता रहेका छन् । यो क्षेत्रमा कांग्रेसले १६ हजार २ सय ५ मत पाउँदा वाम गठवन्धनका दलहरुले ३२ हजार ७ सय मत पाएका छन् । जुन नेपाली कांग्रेसको भन्दा डबल हो । देउवा पत्नी आरजु राणा चुनावी मैदानमा भएका कारण कैलाली ५लाई विशेष चासोका साथ हेरिएको छ । उनलाई वाम गठवन्धका तर्फबाट नारदमुनी रानाले चुनौती दिँदैछन् । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले १४ हजार मत पाउँदा वाम गठवन्नका दलले २१ हजार ८ सय ७८ मत पाएका थियो जुन नेपाली कांग्रेसले पाएको भन्दा ७ हजार ५ सय बढी मत हो । आरजुलाई यो क्षेत्रमा जित्न निकै मिहेनत गर्नुपर्ने देखिएको छ ।
कञ्नपुर
तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर नेपाली कांग्रेसका रमेश लेखकर र प्रचण्डकी बुहारी विना मगरका कारण चर्चामा रहेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकमा वाम गठवन्धनले प्रचण्डकी वुहारी विना मगरलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले दिवानसिंह विस्टवीच चुनावी प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहमा दलहरुले पाएको मतलाई हिसाव गर्दा नेपाली कांग्रेसले १५ हजार ४ सय २२ एमालेले १८ हजार र माओवादीले १५ हजार मतपाएको थियो । जसलाई आधार मान्दा वाम गठवन्धन नेपाली कांग्रेसभन्दा १८ हजार मतले अगाडि बढी छ ।
वाम गठवन्धनका तर्फबाटर नरबहादुर शाही र नेपाली कांग्रेसका तर्फबाट नारायण प्रकाश साउदबीच प्रतिस्पर्धा हुने देखिएको छ । कञ्चनपुर क्षेत्र नम्बर दुईमामा दलहरुले स्थानीय तह चुनावमा पाएको मतलाई आधार मान्दा नेपाली कांग्रेसले १७ हजार एमालेले १८ हजार र माओवादी केन्द्रले १३ हजार मत पाएका थिए । वाम गठवन्धनका दलहरुले ३१ हजार ४ सय ८४ मत पाएका छन् भने कांग्रेसले १७ हजार २२ मत पाएको छ । जुन वाम गठवन्धनले पाएको भन्दा १४ हजार मत कम हो ।
पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर तीनबाट उम्मेदवार रहेका छन् । उनलाई वाम गठवन्धनका तर्फबाट दीपप्रकाश भट्टले चुनौती दिएका छन् । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले यो क्षेत्रमा पर्ने स्थानीय तहबाट १७ हजार १ सय मत पाउँदा नेकपा एमालेले १७ हजार ३३ मत पाएको थियो भने माओवादी केन्द्रले ६ हजार मत पाएको थियो । यो क्षेत्रमा वाम गठवन्धनले २३ हजार मत पाएको छ जुन नेपाली कांग्रेसले पाएको मत भन्दा ५ हजार बढी हो ।
डडेल्धुरा
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार भएका कारण चर्चामा छ । वाम गठवन्धका तर्फबाट माओवादी केन्द्रका नेता खगराज भट्ट प्रधानमन्त्री देउवालाई चुनौती दिन मैदानमा उत्रिएका छन् । यस अघिका सवै चुनावमा विपक्षीलाई जित्न नदिएका देउवालाई यस पटक भने पहिलेको जस्तो सहज नहुने देखिएको छ । स्थानीय तहमा पार्टीमा देखिएको विवादका कारण डडेल्धुराका केही स्थानीय तह नेपाली कांग्रेसले गुमाउन पुगेको थियो । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा एक स्थानीय तह माओवादी केन्द्रले जित्दा दुई स्थानीय तह एमालेले जितेको थियो । नेपाली कांग्रेसले ४ स्थानीय तहमा जीत निकालेको थियो । स्थानीय तहमा नेपाली कांग्रेसले १९ हजार ५ सय मत पाउँदा नेकपा एमालेले १६ हजार र माओवादी केन्द्रल्े १० हजार मत पाएका थिए । वाम गठवन्धनका दलहरुले पाएको मतलाई आधार मान्दा उनीहरुले २७ हजार ८ सय मत पाएका छन् जुन नेपाली कांग्रेसको भन्दा ८ हजार बढी छ । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती देखिएको छ ।
अछाम
दुईवटा निर्वाचन क्षेत्र रहेको अछाम एमाले नेता भीम रावल उम्मेदवार भएको जिल्ला हो । दशवटा स्थानीय तह रहेको अछाममा नेपाली कांग्रेसका पाँच उम्मेदवार एमाले तीन र माओवादीले दुई स्थानीय तहमा जीत निकालेका थिए । अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि उम्मेदवारका लागि वामगठवन्धनका तर्फबाट भीम रावल र नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वाँरबीच प्रतिस्पर्धामा हुँदैछ । यस क्षेत्रमा नेपाली कांग्रेसले १८ हजार २ सय मत पाएका थिए भने, नेकपा एमालेले १८ हजार २१ र माओवादी केन्द्रले १२ हजा १ सय मत पाएका थिए । वाम गठवन्धनले ३० हजार १ सय मत पाउँदा नेपाली कांग्रस भन्दा ११ हजार ९ सय मत बढी रहेको छ । अछाम क्षेत्र नम्बर दुइमा वाम गठवन्धनका यज्ञ बोगटी छन् भने कांग्रेसका तर्फबाट पुष्पबहादुर शाह उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले १८ हजार ८ सय मत पाएको छ भने एमालेले १७ हजार माओवादी केन्द्रले ८ हाजर मत पाएका थिए । यसहिसाबमा वाम गठवन्धनले २५ हजार मत पाएका छन् जो नेपाली कांग्रेसको तुलनामा ६ हजार बढी मत हो ।
डोटी
९ वटा स्थानी तह रहेको डोटीमा तीनवटा स्थानीय तह नेपाली कांग्रेसले जितेको छ भने माओवादी केन्द्रले एक स्थानीय तहमा जीत निकालेको छ । जिल्लाकै सबैभन्दा ठूलो दल बन्न सकेको नेकपा एमालेले पाँच स्थानीय तहमा जीत निकालेको छ । एक निर्वाचन क्षत्रे रहेको डोटीमा वाम गठवन्नका तर्फबाट प्रेम आलेमगर र कांग्रेसका तर्फबाट वीरबहादुर बलायर चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले २८ हजार ५ सय ४२ मत पाएको थियो । यस्तै एमालेले २७ हजार ८ सय ८९ ल्याएको ििथयो भने माओवादी केन्द्रले ७ हजार ८ सय ६४ मत पाएको थियो । वाम गठवन्धनले ३५ हजार ७ सय मत पाएको थियो । जुन नेपाली कांग्रेसको भन्दा ७ हजार मत बढी हो ।
Previous Articleसुन्दरनगरी पोखरामा नेताका चर्का चुनावी नारा
Next Article बरिष्ठ नेता खनालको छैटौं ‘लडाइँ’ मा माओवादीको भरमा