गरिब जनताका छोरा छोरीले अध्ययन गर्ने सामुदायिक विद्यालयले भौतिक संरचनाको अभावसंगै गुणस्तरिय शिक्षा प्रदान गर्न नसकेको उदाहरण हाम्रो जिल्लामा प्रशस्त मात्रा छन् । हाजिर गरेर तलब हजम गर्ने प्रवृत्तिका कारण सामुदायिक विद्यालयतर्फ बालबालिका र अभिभावकको त्यति ध्यान जाँदैन । समय सापेक्ष गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरु रित्तिन थालेका छन् । विद्यालयहरु विद्यार्थीबिहिन हुन थालेपछि मर्ज गर्ने कार्यले गति लिईरहेको छ । सामुदायिक विद्यालयका शिक्षकले राजनीति गर्दा विद्यालय थल परेका पनि थुप्रै उदाहरण छन् । चरम राजनीतिका कारण कुनै जमानामा विद्यार्थीको चाप धान्न नसकेको सदरमुकामकै एक विद्यालयले हाल विद्यार्थी अभाव झेलिरहेको छ । अझ अचम्म लाग्दो कुरा के छ भने राजनीतिक पहुँच हुने शिक्षकले आफ्नो विद्यालयमा लाखौंका योजनाहरु भित्राईरहेका छन्भने जनताको पहलमा स्थापना भएका जिल्लाका ग्रामिण क्षेत्रका विद्यालयले आर्थिक तथा भौतिक संकट झेलिरहनु परेको छ । विद्यार्थीको संख्या धेरै भएका विकट क्षेत्रका विद्यालयले शिक्षक दरबन्दी पाउन सकेका छैनन् भने सदरमुकामका विद्यालयले भने राजनीतिक पहुँचकै आधारमा आवश्यक भन्दा बढी शिक्षक पाईरहेका छन् । शक्ति केन्द्रको आडमा गाउँमा दरबन्दी भएका शिक्षकले सदरमुकाममा रहेका विद्यालयमा बसेर तलब खाईरहेका छन् । उता गाउँमा विद्यालयले भौतिक संरचनाको अभावमा जोखिमयुक्त भवनमा बसेर पढिरहेका छन्भने कतिपय विद्यालयले भने चौरमा छाप्रो हालेर पढाईरहेका छन् । ग्रामिण क्षेत्रका विद्यालयहरु आर्थिक संकटबाट गुज्रिरहेपनि जिल्ला शिक्षा कार्यालयले भने खासै चासो देखाएको पाईदैन । विकटका विद्यालयलाई योजना बाँडफाँडमा सौतेलो व्यवहार गर्ने प्रवृत्ति जबसम्म कायम रहन्छ तबसम्म विकट विद्यालयको मुहार फेरिने छैन । त्यसैले योजना बाँडफाँड गर्दा विद्यालयको अवस्था र आवश्यकताहरु के हुन् पहिचान गर्नुपर्छ । आर्थिक र भौतिक संकटबाट गुज्रिरहेको विद्यालयमा जिल्लाको बडीगाड गाउँपालिका–७ भीङगिठेमा रहेको खड्ग जयन्ती आधारभुत बिद्यालय पर्छ । गत आर्थिक वर्षमा जिल्ला शिक्षा कार्यालय बागलुङले अनुदान रकम २ लाख ७३ हजारसम्म दिने गरेको थियो । तर, यसवर्ष जम्मा ६ सय ११ रुपैयाँ दिएपछि बिद्यालय चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । जिशिकाले यति थोरै रकम दिएपछि विद्यालय प्रशासन र अभिभावकहरु अचम्मित भएका छन् । जिशिका र बडीगाड गाउँपालिकाले समेत बजेट विनियोजन नगरेपछि विद्यालयले आर्थिक संकट भोगको हो । स्थानियबासीले चन्दा संकलन गरि कक्षा आठसम्म संचालन गरेको विद्यालयले आर्थिक अभावका कारण शिक्षकलाई तलब खुवाउन सकेको छैन । यस्तो संवेदनशिल विषयमा के जिशिकाले सोच्नु पर्ने होइन र ? आवश्यक शिक्षकको दरबन्दी नहुँदा विद्यालय ६ जना शिक्षकलाई स्थानिय स्रोतबाट सामान्य तलब खुवाईरहेको छ । गरिब जनताका छोराछोरीले अध्ययन गर्ने विकटको यो सामुदायिक विद्यालयलाई संकटबाट पार लगाउन स्थानियबासी, जिशिका र गैरसरकारी संस्थाले पहल गर्नुपर्छ ।
Previous Article२०७४ कार्तिक २० गते सोमबारको राशिफल
Next Article जाममा चलेको राजधानीबासीको दैनिकी