दीपक घिमिरे
म अलि ठूलो भएपछि आमाले घर आउने पाहुनालाई भन्नुहुन्थ्यो– “यसले बिहे गर्ला अनि ब्वारीले पकाउली, हाम्लाई खान देली भन्ने सपना देख्दै बस्या छु ।”
म लजाउँथे, बिहे भन्ने बित्तिकै नाक बटार्दै आमालाई भन्थेँ “नहुने कुरा नगर्नू, म बिहे गर्दिन ।”
कहिले चँै सुटुक्क अर्को कोठामा पुगेर भित्तामा झुण्डिएको ऐनामा अनुहार हेर्दै सोच्थे– “खै ! जुङ्गै आको छैन, आमा चैँ बुहारीका सपना देख्न थाल्नुभो ।”
बुहारी भित्र्याउने कुरा चल्न थालेपछि मैले मेरा गालामा ब्लेडले कोतर्न थालेको हुँ । आफूलाई जवान देखाउन नाक मुन्तिर जुँगाका रेखी बस्नुपर्छ भन्ने आफ्नै मान्यता थियो मेरो ।
बाले थोत्रो बनाएर फालेको टोपाज ब्लेडले गालाका फुस्रा भुत्ला कोतर्दा कोतर्दै नाक मुन्तिर जुँगाका रेखी हल्का बस्न थाले । उमेर नपुग्दै अनुहारमा ब्लेड लगाउने रहरले कहिले काहीँ गाला र ओठ काटिन्थ्यो तर काटेको दर्द भन्दा जवान हुने रहरले खुशी दिन्थ्यो अनि बाको गाली खाएरै भए नि ब्लेड लगाउन छाडिएनँ ।
जुँगामा रेखी बस्न थालेपछि मैले दस कक्षा पास गरेँ । स्कुलमा सबैका लभ पर्न थाले । कलेज पढ्ने उमेर भएपछि एउटी गतिली छम्मा हुनै पर्ने रहर हुन्थ्यो ।
तर कसले पत्याउने ? न आफैले प्रपोज गर्ने हिम्मत गरियो, न केटीले ‘आई लभ यु दीपक’ भन्दै आउलान भन्ने आशा गरियो । अरूका जोडी हेरेरै कलेज जीवन कटाइयो ।
कलेज जीवनमै कतिले घरबार जोडे, अहिले लेखाजोखा छैन । लभ चलेको हल्ला एक कान दुई कान मैदान नहुँदै प्रेममा फसेका जोडी सुटुक्क भाग्थे अनि एक हप्तापछि कलेज आउँदा केटो लजालु भएको देखिन्थ्यो अनि केटी चैँ सिउदोभरी सिन्दुर भरेर झुल्किन्थी । हामी आधा घण्टा जिस्काउँथ्यौँ, अनि विवहाको पार्टी खान क्यान्टिनसम्म पुग्थ्यौँ ।
लभ चलाउन सक्ने हैसियत नभएका हामी जस्ता अभागीहरूलाई लभ परेका या विवाह गरेकाहरूले क्यान्टिनमा लगेर छोला समोसा खुवाउँथे । हामी मख्ख पर्दै एक पिलेट छोला समोसामा बिक्थ्यौँ । तर कहिल्यै दुलाहा बनेर यस्तै छोला समोसाको पार्टी दिने सपना देखेनौँ ।
किनकि साच्चै भन्ने हो भने हाम्रो लभै पर्थेन । राम्रा जति अरू कसैका भइसक्थे, हामी सोझा साझा छोला समोसामै चित्त बुझाउँथ्यौ ।
कलेज जीवन सकिएपछि घरमा सुरु भयो कचकच ।
गाउँमा बिहेका लागि तयार केटी देख्यो कि बाले भन्नुहुन्थ्यो” फलानाकी छोरी गजप छे, त्यसैलाई ब्वारी बनाउने सोच्या छु । के छ ीदपके तेरो सोच ?”
पँधेरामा अरू कसैकी गतिली बुहारी देखेपछि आमाले घरमा आएर भन्नुहुन्थ्यो” यसलाई त त्यै पार्वती जस्तै ब्वारी खोज्ने हो । मेरी आमै नि ! कति इज्जतिली हो ।”
घरमा बाआमाको सपना देख्दा मैले लभ नचलाएर बहुत ठीक गरे जस्तै लाग्थ्यो । किन भने मैले मन पराएको केटी बाआमाको नजरमा नराम्रो पर्न सक्थी ।
उहाँहरूको सपनामा बसेकी बुहारी चैँ पार्वती, रुबि, अम्बिका जस्ता थिए । मैले गजब मानेका केटीहरूको स्वभाव उनीहरूसँग पटक्कै मिल्थेन । भोलि घरमा सासूबुहारीको कचकचमा बा र म पिल्सेर बस्नुपर्ने बाध्यता आउन सक्थ्यो । त्यसैले सोच्छु कि लभ नचलेर जीवन झन् बबाल भो, झकास पनि भयो ।
लभ चलेर सुटुक्क भागेका एक दर्जनभन्दा बढी जोडी हाम्रै टोलमा छन । कोही हाम्रै गाउँबाट उडेर पल्लो गाउँ पुगे भने कति पल्लो गाउँबाट उडेर हाम्रो गाउँमा आए । कति त छिमेकमै पनि सुटुक्क यताउता भए ।
उनीहरूको दशा देख्छु अनि सोच्छु “माया पिरती भन्ने पनि त्यस्तै रैछ बरै ! नपाउँदासम्म जुन तारा झार्दिम्ला, पाए पछि तेरा बाउको दाँत झार्दिम्ला ।”
टाकुले लेखमा बसेर सँगै जिउने सँगै मर्ने सपना देखेका अन्जना र वीरेको जोडी आजभोलि छुट्टिए । वीरेले लेखेको लभलेटर बोक्ने हुलाकी मै हँु, अझै जिउँदैछु ।
एक पटक उसले लेख्याथ्यो “तिम्रा लागि संसारको खुशी किन्नेछु, म मर्न तयार छु तर तिम्लाई हसाउने छु अञ्जु ! आई लभ यू ।”
उसले लेख्या पढेर दुई दिनसम्म हास्ने मबाहेक अरू दुई जना पनि जिउँदै छन् ।
यो त एउटा लाइन मात्र हो । हरेक हप्ता दुई पाना भरेर लभ लेटर लेख्थ्यो । लभलेटर पढ्दा लाग्थ्यो, अन्जनालाई पाएन भने वीरे रूखमा तुर्लुङ झुण्डिन्छ कि त एक बोतल मेटासिट स्वाट्टै पार्छ ।
बिरे फिदा भएको देखेर अन्जना पनि प्यारमा परी । एक दिनसँगै जिउने, सँगै मर्ने कसम खाँदै भागे । एक वर्ष नपुग्दै उनीहरू छुट्टिने अवस्थामा पुगे ।
विरक्त भएर चौतारीमा भेटिने वीरेले मुखभरी भएको शुद्धप्लसको झोल थुक्दै भन्छ “बा आमाले हेरेको केटी बिहे नगरेर ठूलो भुल भो ।”
माइतीमै बसेकी अन्जना पँधेरामा भेटिदा सुइयँ सुस्केरा हाल्दै भन्छे– “जवानीमा जुन तारा खसाल्नेको पिरतीमा फसेर यी यस्तो नर्कको जस्तो जीवन बिताउँदैछु ।”
यस्ता उदाहरण त कति छन कति । यही देख्दा लाग्छ” पिरतीको छाता नओढेर बहुत सही गरियो ।”
‘प्यार किया तो डर्ना क्या भन्दै डेटिङ जाने अनि छिट्टै बरमाला पहिरिनेहरू आजभोलि कुन अवस्थामा छन् भन्ने कुरो टोलमा आउनुस अनि हेर्नुहोला ।
आफूसँगैका साथीभाइ सबैले घरमा बुहारी ल्याइदेसी मेरा बाआमा पनि बुहारीको कुरा झिक्न थाले । उसो त मेरा जुँगाका रेखी नबस्दै बाआमाले बुहारीको सपना देख्न थालेका हुन् । तर अब त उमेर पनि भयो भन्दै सुरु भयो बुहारी छान्ने प्रकृया ।
फलानाकी छोरी जस्ती, फलानाकी बुहारी जस्ती या फलानी जस्तैभन्दा भन्दै एउटी बुहारी बाआमाले भेटाए । बाआमाको नजरमा बत्तीस लक्षणले युक्त बुहारी । बाआमाले छोरी जस्तै बुहारीको सपना देख्नु भो, मैले चैँ जीवन चलाउने जीवनभरको साथीको रूपमा सपना सजाए ।
बाले औकात अनुसार बिहे गर्दिनु भो । आमाले हैसियत अनुसार बुहारी भित्राउनु भयो । मैले श्रीमती पाएँ । दुनियाभरका विवाहितहरूको सूचीमा म पनि परे ।
अचम्म त के हुँदोरैछ भने दुई चार दिन मात्र होइन, दुई चार महिनासम्म म विवाहित हुँ भन्ने भुलिदिन्थे । बाटोमा कुनै राम्री केटी देख्दा यस्तै स्वास्नी भेटिए हुन्थ्यो भन्ने कल्पना मनमा खेल्थे अनि झट्ट सम्झिन्थे, हैट ! म त विवाहित पो हँु यार ।
घरमा नयाँ बुहारीले चुरा बजाउँदै खाना बनाउन थालेसी घरको रौनकता नै फरक भयो रे । बा घरको पिढीमा बसेर हाँस्दै बुहारीको तारिफ गर्नुहुन्थ्यो । आमाले चँै पानी पँधेरो अनि मेला पातमा बुहारीको गुनगान गाउन थाल्नुभयो । म बेरोजगार थिए, दिनभरि ट्वाल्ल परेर बुढीको अनुहार हेर्थे अनि आफै खुशीले दङ्ग पर्थे । सोच्थे ‘लभै परेको भए नि यस्ती स्वभाववाली बुहारी चैँ पाउथेन भो ।’
बुहारीका पनि अनेक रूप हुन्छन । कोही अलक्षिणा बुहारी हुन्थे, कोही छोरा टोकुवा बुहारी हुन्थे । कोही सासू टोकुवा हुन्थे ।
नढाटी भन्नुपर्दा समाजमा सबैभन्दा नमिलेको जोडी नै सासूबुहारीको जोडी हो । सासूले बुहारी आएपछि छोरा टाढियो भन्ने सोच्छन् अनि बुहारी चैँ यो सासू कहिले मर्ली अनि घरमा राज चल्छ भनेर सोच्छन रे । दुई लामा कपाल भएका जात कहिले मिल्दैनन् रे । हुन सक्छ । मैले मिलेको पनि देख्या छैन ।
तर भाग्यमानी म ! मेरा घरमा त्यस्तो भएन । छोरीको कमी महसुस हुन नदिन बुहारीले आफ्नो भूमिका निभाई, बुहारीको मायालाई छोरीको माया सरह ग्रहण गर्दै आमाछोरीको नाता कायम राख्न आमाले ठूलो भूमिका खेल्नुभयो ।
घर परिवारमा बुहारीको महत्व मेरी उनीले उदाहरण बनेर देखाउँदै थिइन् । एक दिन फ्याट्ट वैदेशिक रोजगारीको भीषा लागेर म यता आए । यता मतलब खाडी । उता भाँडभैलो मच्चिन सुरु भएछ ।
आमा र बुहारीको ग्रह दशा नमिलेपछि सुरु भयो घरमा कचकच । छोरी जस्तै प्यारी बुहारी कुरौटे र अलक्षिना आइमाई लाग्न थाली रे । आमा जस्तै सासू चँै उसलाई बोक्सिनी लाग्न थाल्नुभएछ ।
म विचरो सात समुद्र पारीको खाडीबाट सम्झाउन सक्थे बाँकी सम्झिने नसम्झिने उहाँहरूको कर्तव्य थियो ।
गाउँ समाजका लागि उदाहरण बनेको मेरो परिवारमा फाटो आउन थालेसी एक दिन बाले फोनमा भन्नु भो” सहरतिर डेरा गरेर राख तेरी जोइलाई । म मेरी जोई सजिलाई पाल्छु ।”
दुई स्वास्नी मान्छेको लडाइँमा बाले मलाई दोषी देख्न थालेपछि म आफूलाई अभागी ठान्न थाले । म घरमै हुँदासम्म मिलेको परिवारमा किन दैव लाग्यो भनेर भगवान गुहार्न थाले । कहिले स्वास्नी सम्झाउँथे त कहिले आमालाई फकाउँथे । तर कहिले दुवैलाई मिलाउन सकेन । स्वास्नीले आमाको कुरा काट्दै भन्थी “तिम्री आमा त बौलानी जस्ती । कुरै नबुझ्ने ।”
उसको कुरा सुनेर झ्याम्म गालामा चड्कन लगाउन मन लाग्थ्यो तर फोनबाट सम्झाउनुको विकल्प हुन्थेन । म उसलाई सम्झाउथे, आमाको कुरामा मन नदुखाउन सल्लाह दिन्थे ।
आमाले पनि रिसाउदै भन्नुहुन्थ्यो” तेरो स्वास्नी त अलक्षिना रैचे ! कि शहर तिर डेरा गरेर बसाल हैन भने हामी निस्कन्छौ ।”
अब कसको कुरा मान्नु ? स्वास्नीलाई गाली गरेर घरमै बसालु भने बाआमा निस्केलान भन्ने डर, बाआमालाई गाली गरुँ भने पाप लाग्ला भन्ने डर ।
घरका कुराले आँखा रसाउँछन् । त्यो परिवारलाई सम्झिन्छु अनि कहिले काहीँ एक्लै रुन्छु । न स्वास्नीलाई डेरामा राख्न सक्छु । न त बा आमालाई घरबाट निस्केको देख्न सक्छु । त्यो मीठो परिवारलाई कल्पना गर्दै काममा जोतिन्छु । आमालाई सधैँ फकाउँछु, स्वास्नीका कुरा एउटा कानले सुन्छु, अर्को कानबाट फुत्त उडाइदिन्छु ।
साच्चै यति लेख्दै गर्दा एउटा कुरा चैँ के सत्य रहेछ भन्ने लाग्यो भने सासू बुहारी मिल्दै मिल्दैनन् । न मेरो न उसको, हामी सबैको ।
Previous Articleनिर्वाचनको मर्यादा : नयाँ इतिहास कोरिँदै
Next Article १५ वर्षपछि बंगलादेशमाथि पहिलो जित