तनहुँ, १८ कात्तिक – वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगको शनिबार बसेको बैठकले तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको हो ।
कांग्रेस नेता पौडेलले शुक्रबार जोशी विरुद्ध उजुरी दिएका थिए । सोहि उजुरीमाथि तनहुँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगबाट निर्देशन माग गरेको थियो ।
आयोगका प्रवक्ता नवराज ढकालले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्थालाई टेक्दै जोशीको उम्मेदवारी खारेज गरिएको बताए । जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
जोशीले आफू क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै आफूले टिकट पाउनुपर्ने माग गर्दै आएका थिए भने पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
भ्रष्टाचारसम्बन्धी मुद्दा भएपनि जिल्लामा राम्रो प्रभाव भएका जोशीको उम्मेदवारी खारेज भएसँगै पौडेललाई केहि राहत भएको छ ।
जोशीले वागी उम्मेदवारी दिएपछि कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उनी भ्रष्टाचारी भएको भन्दै आयोगसमक्ष उजुरी दिएका थिए। पौडेलले जोशी भ्रष्टाचारी ठहर भएको अदालतको फैसलाको प्रतिलिपि पनि पेस गरेका थिए।
जोशीलाई विशेष अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर गरेको थियो। सो फैसला अहिले पनि कायम रहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन्।
गोविन्दराज जोशीको उम्मेदवारी खारेज,पौडेललाई राहत
Previous Articleकथा :- क्याफे प्रेम
Next Article बामएकता गरेको काठेखोलाबाट आक्रमक प्रचार अभियान