कृष्ण प्रसाद शर्मा
बेलायतमा कार्टुनको संग्रालय नै छ । त्यहाँबाट प्रकाशित प्रायः सबै छापा र अनलाईनमा कार्टुन आउने गर्छन् । त्यहाँ पनि परधानमन्त्री टेरेसा मे लाई व्यङग्य गर्न छोडिएको छैन तर कहिलै व्यक्तिगत चरित्र जोडेर व्याङग्य आउँदैनन् । भारतमा जवरलाल नेहरूको पालामा गधा माथी बसेको एउटा कार्टुनले हङगामा ल्याएको थियो । जवरलाल नेहरूले उक्त कार्टुन थप आर्थिक सुधार गर्न सहयोग मिलेको बताएका थिए । खासगरी पत्रिकामा आउने कार्टुनले सामाजिक र राजनैतिक विकृतीलाई प्रहार गर्छन् । भनिन्छ तस्वीर आँफै बोल्छ । सिङगो किताबले भन्दा एउटा कार्टुनले घेरै कुरा बोल्छ । नेपालमा वात्सायान नामले परिचित पोखराका दुर्गा बरालले निकै चोटिला र व्याङयात्मक राजनैतिक कार्टुन बनाउँछन् । यसका साथै बासु क्षितिज, शशी मित्र लगायतले हरेक दिन जसो कार्टुन बनाउँछन् ।
पछिल्ला समय केही अनलाईन पत्रिकाले समेत कार्टुन छापेको देखिन्छ भने आजकाल डिजिटल कार्टुनका रुपमा समेत अलिअलि देखिन थालेका छन् । जस्तो फलानो नामबाट राजेश केसीले बाह्रखरीमा र उनको आफ्नै सामाजिक संजालको पेज र हेण्डलमा देख्न पाईन्छ । यिबाहेक आफ्नो सोखले बनाउने कतै नछापिएका टुईटे कार्टुन पनि देख्न पाईन्छ । यिनीहरू कसै प्रति जवाफदेही हुँदैनन् अतः यस्ता हावादारी कार्टुनमा गैरजिम्मेवारीपन प्रशस्तै देखिन्छ । लेख, रचनामा महिलालाई होचाएर बोल्ने त अधिक नै छन् । जस्तो छोरा मान्छेलाई कमजोर देखाउन चुरा लगाएर हिंड भनिन्छ वा सारी लगाई भनिन्छ तर चुरा सारी लगाउने कमजोर हुन्छन् भन्ने देखाउन खोजिन्छ । कार्टुन बनाएको हेर्नुस त छोरा मान्छेको टाउकोमा महिलाको शरीर राखेर बनाईन्छ । महिलाको कपडा भनेको छोरा मान्छेको नालायकपन देखाउने अस्त्र हो भन्ने गरी बनाईन्छ । अझै कतिपय कुरामा ‘वाली’ भनेर थपेर लेखिन्छ ।
कुनै बेला एक तरकारी बेच्ने नानीले चर्चा पाएपछि धेरैलाई वाली थपेर कार्टुन बनाईयो । बलात्कार हुन्छ अनि कार्टुनिष्टले छोटो कपडा लगाएर शहर डुलेकी केटीको तस्वीर बनाएर कार्टुनमार्फत भन्छ की केटीले छोटो कपडा लगाई त्यसैले बलात्कार भयो । छोटा बुद्धिधारीहरू यसैको आधारमा स्कुल र कलेजमा कपडाको शास्त्र पढाउँछन् । चुनावमा टिकटको कुरा आउँछ अनि महिलालाई पुरुषसँग जोडेर कार्टुन बनाईन्छ । केही दिन पहिला एउटा अनलाईनमा श्रीमती, गर्लफ्रेण्डलाई फलाना पार्टिले टिकेट दियो भनेर लेखेको थियो । त्यही दिन त्यसैलाई कभर गरेर केही कार्टुन आएका थिए । महिलाले टिकट पाएपछि पुरुषसंग जोड्नै पर्ने । यो देशमा विद्यादेवी भण्डारी राष्ट्रपति छन् उनको ईतिहास पढ, शुशिला कार्की प्रधानन्यायधिश थिईन उनको ईतिहास पढ अझ भनौ उद्योग बाणिज्य संघकी अध्यक्ष भवानीलाई हेर के यी सब आफ्ना बुताले यहाँ पुगे की पुरुषको दाईजोले त्यहाँ पुगे । भर्खर हिजो मात्रै गायिका कोमल वलीलाई केपी ओलीसँग जोडेर वलीको बोको भनेर कोमल वलीको फोटो सगँ वलीको देखाईएको थियो । टुईटेहरूले यसलाई खुव श्यर गरे तर तिनीहरूलाई त्यहाँ न आफ्नी आमाको याद आयो न दिदीबहिनीको केवल मजाग सम्झे मजाले रमाए । अनेक तर्क गरे । योभन्दा बढी लाजको मर्नु के होला ।
कतिले टिप्पणी गरेको पनि देखियो की पोई चाहियो भनेर गीत निकाल्नेको के को ईज्जत हनन भनेर पनि । गीत, राजनीति र व्यक्तिगत जीवनलाई एकै ठाउँमा जोडेर हेर्न मिल्छ ? चरित्रहत्या गर्ने गरी यसरी कार्टुन बनाउन मिल्छ त ? कृष्ण प्रसाद भट्टराईको राजनैतिक योगदानलाई संधै एउटी महिलासँग जोडेर हेरियो उनको राजनैतिक त्याग केवल कपालीसँग जोडे पछि सकिने गरी मुल्याङक गर्ने समाज छ । आजको दिनमा नेपालका कति आश्रममा विदेशी महिलाहरू साधुसन्तको ज्ञानका कारण कति गुफामा छन् के त्यो चरित्रहिन मात्रै हो ? कपालीले कृष्ण प्रसादको सेवा गर्नु त्याग होईन यौन मात्रै थियो ? बहस एक्काईसौं शताब्दीको गर्ने तर व्यवहार भने सत्रौको देखाउने अनि समावेशीका ठेली निकाल्ने यही हो हाम्रो ढोगीं समाजको चरित्र । महिलालाई शक्तिको रुपमा भजन गाउने तर व्यवहारमा निकम्बा सम्झने सामाजिक सोचको विकास भएको छ । छोरा मान्छेले टिकट पाए उसको क्षमताले महिलाले पाए पुरुष सँगको सम्बन्धले । क्या तर्क । यही चित्र देखाउने विचित्रको समाज छ । रेखा थापा आजसम्म कति स्टेजमा नाचेकी होलिन् तर प्रचण्डसँग नाचे पछि केही दिन कार्टुनको पहिरो नै आयो । कला क्षेत्रमा छिन त नाच्दा प्रचण्डसँग नाच्दा संसार सकियो त ? पुरुषलाई जोडेर महिलाको चरित्र हत्या गरेका कार्टुनहरू अत्याधिक छन तर यसलाई हामी उत्तम मनोरञ्जनको साधनका रुपमा लिएका छौं । बरिष्ट विश्लेषकका रुपमा डामिएका खगेन्द्र संग्रौलाले कमल थापालाई ‘केटी’ भनेर सम्बोधन गर्छन टुईटमा ।
यही शब्दलाई मनोरञ्जन संझेर कार्टुन बनाएको देखिन्छ । फेरी उत्पिडितको आवाज बोल्ने मान्छे भनेर तिनै संग्रौलालाई भाषण ठोक्न बोलाईन्छ । हामी स्वंम पाखण्डी छौं । विद्या भण्डारीलाई केपी ओलीसँग जोडेर धेरै कार्टुन बनाएका छन् । जुन दिन त्यस्ता कार्टुन निस्किन्छन् त्यो दिन छापिएको पत्रिकाभन्दा बढी कार्टुनको चर्चा सामाजिक संजालमा श्यर हुन्छन् । त्यसमा कुनैले पनि आफ्नी आमाको अनुहार देख्दैनन् । जुन बेला कार्टुनले सामाजिक विकृतिविरुद्ध बोल्न बनाईयो त्यो बेला लेखेर भन्दा ज्यान जाने खतरा हुन्थ्यो तर आजकाल महिलाको चरित्र हत्या गराउने कार्टुन प्रशस्त छन् । पुरुषका पनि छन् तर महिलालाई जोडे पछि घेरै विक्छन् र आफ्ना पत्रिका धेरैले हेर्छन भन्ने छ । कोमल ओली कुन पार्टिमा गईन भन्ने कुरा कुनै कार्टुनिष्टको राजनैतिक कार्टुनको बिषय बन्ला तर उनको व्यक्तिगत चरित्र हत्या हुने गरी कार्टुन बनाउन कसैलाई छुट छैन । सुशिला कार्की कुनै ¥यालीमा जानु कुनै कार्टुनिष्टको सामाजिक बिषयको कार्टुन हुन सक्ला तर उनलाई कुनै उमुक पार्टिको नेतासंग जोडेर कार्टुन विकाउने कसैलाई हक छैन । दुनियाँमा मनोरञ्जनका धेरै साधन छन् त्यसको उपभोग गर तर कुनै महिलाई कसैसँग जोडेर कार्टुन नगराउ । महिलाका गर–गहना वा कपडा कसैलाई होच्चाउने कार्टुनका सामाग्री नबनाउ । सभ्य समाजको परिकल्पना केवल असल नियतले हुन्छ । नियत राखेर देखाउने सामाग्री कुनै कलाकारिता होईन त्यो केवल उसको निकृष्ट औकात हो । नारीको सम्मान गर । खेलौना र मनोरञ्जनको साधन नसोच ।
Previous Articleबागलुङबाट दुइ दलका ८ जना समानुपातिकमा
Next Article स्वधर्म संरक्षण (कबिता)