तारानाथ आचार्य,बागलुङ, ११ कात्तिक–सहकारीको मर्म अनुसारको काम नगरेको भन्दै डिभिजन सहकारी कार्यालय बागलुङले यस आर्थिक बर्षमा मात्रै धौलागिरीका ५२ वटा सहकारीलाई खारेजीको सूचीमा राखेको छ । खारेजीमा पर्ने सहकारीमध्ये अधिकांश ग्रामिण इलाकाका छन् । गाउँमा खोलिएका सहकारीले आफ्नो मर्म अनुसारको कारोवार गर्न नसक्दा खारेजीको सूचीमा मात्रै परेका छैनन् कतिपय सहकारीले उत्कृष्ट कार्य गरेर नागरिकको विश्वास जित्न सफल भएका छन् । मेहनत गर्ने होभने गाउँमा खोलेका सहकारी पनि सफल र लोकप्रिय बन्न सक्छन् । यसको एउटा ज्वलन्त उदाहरण बनेको छ जिल्लाको दक्षिणी क्षेत्रलाई कार्यथलो बनाएर सहकारी गतिबिधि सञ्चालन गर्दै आएको बलेवा एकता बचत तथा क्रृण सहकारी संस्था । समाजमा रहेका सबै बर्ग र समुदायको मर्म अनुसारको बचत तथा क्रृणका कार्यक्रम संचालन गर्दै सहकारी लोकप्रिय बनेको हो ।
अहिले बलेवा एकता बृद्धदेखी बालबालिकासम्म लोकप्रिय छ । बालवालिका लागि खुत्रुके बचत र बृद्धबृद्धाका लागि बृद्ध बचत कार्यक्रम लगायत १४ वटा बचतका कार्यक्रम सञ्चालन गरेको सहकारीले सबैको मन जित्न सफल भएको शेयर सदस्यहरु बताउँछन् । ‘बृद्धाहरुले भत्ता बुझेको पैसा बचत गर्ने भरपर्दो ठाउँ बनेको छ सहकारी’ नारायणस्थानका रामबहादुर खड्काले भने ‘बाख्राको पाठो बेचेर सहकारीमा बचत गर्नेहरुले अहिले ५० हजारदेखि १ लाखसम्म जम्मा गरेका छन् ।’ ‘अरु सहकारीमा पुग्दा हाकिमको शैलीमा कर्मचारीले सोधपुछ गर्छन’ खड्काले भने ‘यस सहकारीमा प्रबेश गर्नेलाई पहिले पानी दिइन्छ र बल्ल काम सोधिन्छ ।’ ग्रामिण इलाकालाई कार्यक्षेत्र बनाएको सहकारीले बचत गर्ने सदस्यका लागि घरदैलो व्यवस्था मिलाएको छ । बचत गर्न इच्छुकले फोन गरेकै आधारमा दुईदेखी तीन घण्टाको बाटो हिँडेर कर्मचारी घरदैलोमा पुग्ने गरेको प्रबन्धक आशिष सुबेदीले बताए ।
समुदायको मर्मलाई बुझेर काम गर्दा सर्वसाधारणको बिश्वास जित्न सफल भएको सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र खड्काले बताए । बैदेशिक रोजगारीमा धेरै युवा रहेको गाउँमा सञ्चालित सहकारीले बिप्रेषण सेवा उपलव्ध गराउँदा सहकारीप्रतिको आर्कषण थप बढेर गएको सञ्चालकको बुझाई छ । सहकारीले व्यक्तिगत वा पारिवारिक मात्रै होइन समुहगत वचतको समेत व्यवस्था मिलाएको छ । सहकारीको कार्यालयसम्म पुगेर बचत गर्न समयको अभाव हुने कामदारी महिलाको समुह गठन गरेर बचत गर्ने व्यवस्था मिलाइएको प्रबन्धक सुवेदीले बताए । कार्यक्षेत्र भित्र १२ वटा समुह बनाएर सामुहिक बचतको कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । ‘दुःखले कमाएको पैसा अनावस्यक खर्च गरेर हैन बचत गरेर सदुपयोग गरौं भन्ने मान्यता हो’ प्रबन्धक सुबेदीले भने ‘हामीले सबै नागरिकलाई बचत गर्ने बानीको विकास हुने गरी कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’
सहकारीको कार्यक्षेत्र भित्रका ५ सय जना बालवालिकाले खुत्रुकेमा बचत गर्ने गरेका छन् । बालवालिकालाई बचत गर्ने बानीको विकास गर्न सञ्चालन गरिएको खुत्रुके बचत कार्यक्रममा बालबालिकाको उत्साहजनक सहभागिता रहेको संस्थाका उपाध्यक्ष भरत बागलुङेले बताए । उनीहरुले खुत्रुकेमा जम्मा गरेको पैसा भरिएपछि सहकारीले चाबी खोलेर खातामा जम्मा गरिदिने गरेको छ । त्यो मात्रै हैन खुत्रुकेमा जम्मा भएको पैसाको बार्षिक एकमुष्ठ ९ प्रतिशत व्याज समेत उपलव्ध गराउँदै आएको छ ।
Previous Article१२ कार्तिक २०७४, ढोरपाटन दैनिक
Next Article नेपाली टोली कीर्गिस्तान प्रस्थान