पर्वत,१२ कार्तिक–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम सञ्चालन भएको फलेवासमा मकै भण्डारण घर निर्माण भइरहेको छ । फलेवास नगरपालिका–५ खानीगाउँमा निर्माण भइरहेको सो गोदामघरमा २५ टन मकै भण्डारण गर्न सकिने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मकै जोन कार्यान्वयन कार्यालय फलेवासले गोदामघर निर्माण गर्न लागेको हो । खानीगाउँ, मुडिकुवा, शंकरपोखरी, थापाठाना, लिमिठाना र ठानामौलामा उत्पादन हुने मकैको बीउ थन्क्याउन गोदामघर बनाउन लागिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए । कृषकले उत्पादन गर्ने मकैको बीउ जोनले खरिद गरेर बजारीकरण गर्ने छ । गत आर्थिक वर्षबाट निर्माण थालिएको गोदामघर निर्माणका लागि अहिलेसम्म रु. २३ लाख खर्च भइसकेको छ । निर्माण चालु आवको अन्तिमसम्ममा सक्ने लक्ष्य छ । गत आवदेखि मकै जोन कार्यक्रम सञ्चालन भएपछि समूह र सहकारी गठन गरेर कृषकले मकै उत्पादन गरिरहेका छन् । यस वर्ष झकलक कृषि सहकारीले १५ टन, आम्बोट कृषक समूहले पाँच टन र लिमिठाना बीउ उत्पादक समूहले तीन टन मकैको बीउ उत्पादन गरेको छ । गोदामघर निर्माण भइनसकेकाले यस वर्षको बीउ सिधै बजार मूल्यका आधारमा बिक्री गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिए ।
Previous Articleतीन विद्यालयमा भर्चुअल क्लास
Next Article १२ कार्तिक २०७४, ढोरपाटन दैनिक