युभिएस नामक संस्थामा आबद्ध यी स्वयंसेवकलाई एडिडास नामक संस्थाको पनि सहयोग छ। उनीहरुले २० लाख रुपैँयाको लगानीमा विद्यालय सिंगारेका हुन्।
१५देखि ७० वर्ष उमेरसमूहका स्वयंसेवकहरु एक साता विद्यालयमा काम गरी फ्रान्स फर्कनेछन्। उनीहरु ११ जना स्थानीय बासिन्दाको घरमा बसेका छन्। बिहानदेखि अपरान्हसम्म उनीहरु विद्यालयकै काममा खटिएका छन्।
युभिएसका निर्देशक इमानुअलले दुई तले विद्यालय भवन र प्रगतिशील महिला समूह भवन रंगरोगन गरी सहयोग गर्न पाउँदा आफूहरु खुसी भएको बताए। यसअघि नारेश्वरस्थित जनदेवी निमाविको भवन रंगरोगनमा पनि उनीहरुले सहयोग गरेका थिए।
इमानुअल भन्छन्, ‘नेपालजस्तो सुन्दर देशको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा हामी खुसी छौं। खेलकूद तथा शैक्षिक सामग्रीहरु विद्यालयलाई उपलब्ध गराएका छौं। सहयोग जारी रहन्छ।’
एल्जस नामक संस्थासँग समन्वय गर्दै गोरखाका विभिन्न सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र शिक्षकलाई मासिक पारिश्रमिक पनि संस्थाले उपलब्ध गराएको युभिएसका नेपालस्थित समन्वयकर्ता सञ्जयसुन्दर सैँजुले बताए।
श्रमदान गरी विद्यालय सिंगार्न पाउँदा र स्थानीय परिकारका स्वाद लिनुका साथै यहाँका बासिन्दाको घरमा बस्न पाउँदा फ्रान्सेली नागरिक खुसी भएको स्थानीयबासी उपेन्द्र बस्नेतले बताए। भूकम्पले गर्दा क्षति पुगेको विद्यालय भवन प्रवलीकरण गरिएको थियो। भवन मर्मत गरेपछि टहरोमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ।