बागलुङ,८ कार्तिक–सेवा शुरु भएको दुई बर्षपछि बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अपरेशन सेवा बन्द भएको छ । करार सेवामा रहेका डाक्टरको दरवन्दी खाली भएको, अपरेशनका लागि एनेस्थेसियोलोजिष्ट अभाव लगायतको कारणले सेवा बन्द भएको हो । गत असार मसान्तमा करार सकिएपछि फर्केका डाक्टरको ठाउँमा नयाँ नियुक्त नहुँदा सेवामा समस्या भएको केन्द्र प्रमुख डा. सुनिल जैसवालले बताए । ‘अपरेशन गर्ने प्रसुती सेवालाई तत्कालै अन्यत्र पठाउन बाध्य छौं’ जैसवालले भने, ‘अन्य सेवामा भने चौविसै घण्टा सेवा दिन सकेका छौं ।’ अपरेसन सेवा संचालनका लागि करारमा राखिएका डाक्टर र दक्ष प्रसुतीकर्मीको म्याद सकिएपछि सेवा पनि ठप्प भएको हो । गत असारमा म्याद सकिएपछि स्थानीय तह मार्फत गरिने व्यवस्थापन ढिलाई भएको हो ।
पश्चिम बागलुङको केन्द्र बुर्तिवाङमा ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाढ गाउँपालिकाका बासिन्दाले स्वास्थ्य सेवा लिने गर्छन् । यहाँ दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गर्छन् । मासिक कम्तिमा १० जनाको अपरेशन हुने गरेकोमा त्यो सेवा रोकिएपछि बिरामीले सास्ती खेप्नु परेको हो । ‘घरदैलोमा सेवा पाउने आसा थियो, आफ्नो पालामा पाल्पा पुग्न बाध्य भएँ’ घर्तीले भनिन्, ‘समयमै जानकारी नपाएको भए ज्यानै जोखिममा पर्ने रहेछ ।’ अपरेशन सेवा शुरु भएको जानकारी प्रचारशैलीमा गरिएकोमा बन्द भएको जानकारी कसैलाई पनि थिएन । ‘करार सेवाका लागि पुन आवस्यकता खुलाउने तयारी छ, त्यसैले सेवा नभएको जानकारी गराईएन’ जैसवालले भने, ‘रक्त संकलन केन्द्र पनि नभएकोले अपरेशनमा समस्या छ ।’ सम्पर्कमा रहने व्यक्तिबाट तत्कालै रगत दिने शर्तमा मात्र अपरेशन सेवा गरिएको उनले बताए ।
चार महिनादेखि सेवा रोकिएपछि रगत दिने व्यक्तिहरु पनि सम्पर्कमा राख्न नसकिएको उनको भनाई छ । डाक्टर अभावमा भिडियो एक्सरे सेवामा पनि घण्टौं लाग्ने गरेको गर्भ जाँच गराउन आएकी भिमगिठेकी निरमाया बुढाले गुनासो गरिन् । जिल्ला अस्पतालको रुपमा विकास गर्ने लक्षले आवस्यक भवन निर्माण भएपनि कार्यरत डाक्टरले सेवा दिंदादिंदै छाडेको बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । ‘करारमा राखेपनि मासिक १ लाख ८० हजार दिएका थियौं, राजनीतिमा जान उनले छाडे’ तिवारीले भने, ‘आवस्यकता गरिरहेका छौं, छिट्टै सेवा संचालन गर्नेछौं ।’ चालु बर्षभित्रै केन्द्रलाई जिल्ला अस्पतालको रुपमा विकास गरेर १५ शैया समेत संचालनमा ल्याउने योजना उनले सुनाए । अपरेशन संचालन हुँदा भने जिल्ला जनस्वास्थ्य कार्यालयले नेपालमै पहिलोपटक प्राथमिक स्वास्थ्य केन्द्रमा अपरेशन सेवा दिएको प्रचार गरेको थियो । शिशु तथा आमाको मृत्युदर शुन्य बनाउने उद्धेश्यले कन्द्र तहमै अपरेशन सेवा दिने व्यवस्था गरिएको पनि तिवारीले बताए । दरवन्दी नभएकोले एक डाक्टर, एक स्टाफ नर्स र तालिम प्राप्त अनमी समेत करारमा राखेर मात्र सेवा दिन सकिने उनले बताए । अपरेशनका लागि आवस्यक उपकरण भने दुइ बर्ष अघिनै केन्द्रमा पुगेका छन् । पाँच करोड ९९ लाख रुपैयाँमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङको भवन पनि निर्माण भैसकेको छ । गत बर्ष यहाँ १ हजार ४ सय बढीले प्रसुती सेवा लिएको तथ्यांक छ ।